एजेन्सी । ह्वाट्सएपले प्लेटफर्ममा बढ्दो अनलाइन ठगी नियन्त्रण गर्न एआईमा आधारित नयाँ सुरक्षा फिचर परीक्षणमा ल्याएको छ । स्क्याम डिटेक्सन नाम दिइएको यो फिचरले प्रयोगकर्ताको डिभाइसमै एआई मोडल प्रयोग गरेर अपरिचित व्यक्तिबाट आएका सन्देश शंकास्पद छन् कि छैनन् भनेर विश्लेषण गर्नेछ । ठगीको सम्भावना देखिए प्रयोगकर्तालाई तत्काल चेतावनी दिइनेछ ।
मेटाका अनुसार नयाँ फिचरले व्यक्तिगत सन्देशको गोपनीयता कायम राख्दै शंकास्पद कुराकानी पहिचान गर्नेछ । यसका लागि ह्वाट्सएपले प्रयोगकर्ताको डिभाइसमै चल्ने मेसिन लर्निङ मोडल प्रयोग गर्नेछ । अर्थात् सन्देशको सामग्री विश्लेषणका लागि ह्वाट्सएपको सर्भरमा पठाइने छैन ।
अपरिचित नम्बरबाट आउने सन्देशमा एआईको निगरानी
फिचर सक्रिय भएपछि प्रयोगकर्ताको फोनमा मेसिन लर्निङ मोडल डाउनलोड हुनेछ । त्यसले कन्ट्याक्ट लिस्टमा नभएका व्यक्तिबाट आएका सन्देशमा देखिने सम्भावित ठगीका ढाँचा पहिचान गर्नेछ । कुराकानीको संरचना, भाषिक संकेत र विगतमा रिपोर्ट भएका स्क्यामका नमुनालाई आधार बनाएर मोडलले जोखिम मूल्याङ्कन गर्नेछ ।
कुनै कुराकानी ठगीको प्रयास हुनसक्ने देखिए प्रयोगकर्तालाई चेतावनी देखाइनेछ । अर्को व्यक्तिले भने यस्तो चेतावनी देख्ने छैन । प्रयोगकर्ताले त्यहाँबाट सम्बन्धित व्यक्तिलाई ब्लक वा रिपोर्ट गर्न, कुराकानी जारी राख्न अथवा विश्वासिलो भनेर चिन्ह लगाउन सक्नेछन् ।
ठगीको स्वरूप फेरिँदै गएपछि एआईको सहारा
मेटाले पछिल्लो समय ठगीका तरिका झन् जटिल बन्दै गएको जनाएको छ । नक्कली पहिचान, सामाजिक इन्जिनियरिङदेखि एआईबाट तयार पारिएका प्रलोभनसम्म प्रयोग हुन थालेपछि परम्परागत सुरक्षा संयन्त्र मात्रै पर्याप्त नहुने कम्पनीको निष्कर्ष छ ।
द भर्जले उद्धृत गरेको अमेरिकी संघीय व्यापार आयोगको तथ्यांकअनुसार ह्वाट्सएप ठगीका लागि प्रयोगकर्तालाई सम्पर्क गर्ने प्रमुख माध्यममध्ये एक बनेको छ । सन् २०२५ मा सामाजिक सञ्जालमार्फत भएका ठगीसम्बन्धी ठूलो आर्थिक क्षतिमा ह्वाट्सएप पनि प्रमुख माध्यमका रूपमा देखिएको उल्लेख गरिएको छ ।
प्रयोगकर्ताको डेटा डिभाइसभन्दा बाहिर नजाने दाबी
नयाँ फिचरको सबैभन्दा महत्वपूर्ण पक्ष यसको अन–डिभाइस एआई प्रणाली हो । मेटाका अनुसार जोखिम वर्गीकरणका क्रममा कुराकानीको सामग्री प्रयोगकर्ताको डिभाइस बाहिर जाने छैन । विश्लेषण डिभाइसमै हुने भएकाले व्यक्तिगत सन्देशलाई मेटा, ह्वाट्सएप वा अन्य तेस्रो पक्षसँग स्वतः साझा नगरिने कम्पनीले जनाएको छ ।
प्रयोगकर्ताले कुनै च्याटलाई विश्वासिलो भनेर चिन्ह लगाउँदा फिचरको शुद्धता सुधारका लागि पछिल्ला पाँच सन्देश ह्वाट्सएपसँग साझा गर्ने विकल्प भने पाउनेछन् । यो प्रक्रिया अनिवार्य नभएको कम्पनीको भनाइ छ ।
मेटाले एआई मोडलका संस्करण सार्वजनिक पारदर्शी खातामा राख्ने र यसको वेट्ससमेत प्रकाशित गर्ने जनाएको छ । यसबाट स्वतन्त्र सुरक्षा अनुसन्धानकर्ताले मोडलको कार्यक्षेत्र र यसको प्रयोग स्क्याम पहिचानमै सीमित छ कि छैन भनेर परीक्षण गर्न सक्नेछन् ।
ह्वाट्सएपको यो कदमले अनलाइन ठगी नियन्त्रणमा एआईको प्रयोगलाई थप आक्रामक बनाउने संकेत गरेको छ । तर फिचरले वास्तविक ठगी कति प्रभावकारी रूपमा पहिचान गर्छ र गलत चेतावनीको दर कति हुन्छ भन्ने कुरा यसको व्यापक प्रयोगपछि मात्रै स्पष्ट हुनेछ।
