काठमाडौं । लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको छ। कारखानाको सम्पत्ति तथा दायित्वको विस्तृत मूल्यांकन (डीडीए) अन्तिम चरणमा पुगेको उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताएका छन्।
सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारीसँगै त्यसका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने योजना पनि अघि बढाएको छ। सोही योजनाअन्तर्गत बुटवल धागो कारखाना सञ्चालनको प्रक्रिया अगाडि बढाइएको हो।
उद्योगमन्त्री गौरीकुमारी यादवले नेपालमा कपडा उद्योगका लागि आवश्यक कपासको उत्पादन बढाउन निजी क्षेत्र र व्यवसायीलाई कपास खेतीमा लगानी गर्न आह्वान गरेकी छन्। कपडा उद्योगका लागि आवश्यक कच्चा पदार्थमा रहेको विदेशी निर्भरता घटाउँदै स्वदेशी उत्पादन बढाउने उद्देश्यले कपास खेती विस्तारमा जोड दिइएको उनको भनाइ छ।
मन्त्री यादवले कृषि मन्त्री गीता चौधरीसँग भेट गरी कपास खेती विस्तारको सम्भावनाबारे छलफलसमेत गरेकी छन्। छलफलका क्रममा कृषि मन्त्री चौधरीले दाङ, बाँके र बर्दियालगायतका जिल्लामा कपास खेतीका लागि अनुकूल वातावरण रहेको बताएकी छन्।
नेपालमा कपास खेतीको पर्याप्त सम्भावना रहे पनि व्यावसायिक उत्पादन हुन नसक्दा कपडा उद्योगका लागि आवश्यक कच्चा पदार्थमा आयातमै निर्भर हुनुपर्ने अवस्था छ। सरकारले कपास उत्पादन र उद्योग सञ्चालनलाई एकीकृत रूपमा अघि बढाउन सके कपास आयात घटाउनुका साथै किसानको आम्दानी र औद्योगिक रोजगारी बढाउन सकिने अपेक्षा गरेको छ।
हेटौँडा कपडा उद्योगसँगै बुटवल धागो कारखाना सञ्चालनमा ल्याउने तयारीले कपास उत्पादनदेखि धागो र त्यसपछि कपडा उत्पादनसम्मको स्वदेशी औद्योगिक शृंखला निर्माण गर्ने आधार तयार गर्ने सरकारको विश्वास छ।
सरकारले स्वदेशी उद्योगलाई आवश्यक कच्चा पदार्थ नेपालमै उत्पादन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति अघि सारेको छ। कपास खेती विस्तारमार्फत विदेशी कच्चा पदार्थको निर्भरता घटाउने, स्वदेशी उत्पादनको आधार बलियो बनाउने र औद्योगिक रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ।
