काठमाडौं । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको मध्य मेवा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। मेवा डेभलपर्स लिमिटेडले निर्माण गरिरहेको आयोजनाको भौतिक प्रगति ९२.३ प्रतिशत पुगेको छ।
आयोजनाले सन् २०२७ जनवरीसम्म विद्युत गृह परीक्षण गर्ने लक्ष्य राखेको छ। आयोजनाका वरिष्ठ व्यवस्थापक सुनिल रेग्मीका अनुसार अधिकांश सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल तथा प्रसारण लाइनसम्बन्धी काम पूरा भइसकेको छ।
५.८ किलोमिटर लामो हेडरेस सुरुङको उत्खनन सकिएको छ भने पेनस्टक पाइप जडान पूरा भएको छ। प्रसारण लाइनका सबै टावर जडान भइसकेका छन् भने तार तान्ने काम अन्तिम चरणमा छ।
आयोजनाको ३५ मिटर अग्लो बाँध निर्माण पूरा भइसकेको छ। गत असारको बाढीले बाँध क्षेत्रमा रेडियल गेट जडानमा असर गरेपछि विद्युत उत्पादन परीक्षण करिब तीन महिना ढिलो भएको कम्पनीले जनाएको छ।
अर्धजलाशययुक्त आयोजनाबाट वार्षिक ४२६.०८ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ। उत्पादित विद्युत करिब १२ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको मैवाखोला ढुङ्गेसाँघुस्थित सबस्टेसनमा जोडिनेछ।
