काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्ना दुग्धजन्य उत्पादन चीन र खाडी मुलुकमा निर्यात गर्ने तयारी थालेको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संसद्मा सांसदका प्रश्नको जवाफ दिँदै डीडीसीको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने तयारी भइरहेको जानकारी दिएकी हुन्।
मन्त्री चौधरीका अनुसार पछिल्लो समय डीडीसीका दुग्धजन्य पदार्थको बिक्री ३५ प्रतिशतले बढेको छ। संस्थानसँग अहिले करिब २४ करोड रुपैयाँ बराबरको १३० मेट्रिक टन नौनी घिउ र १५० मेट्रिक टन धुलो दूध मौज्दात रहेको छ।
डीडीसीले मौज्दातमा रहेको घिउसहितका उत्पादनलाई चीन र खाडी मुलुकमा निर्यात गर्ने तयारी गरिरहेको मन्त्री चौधरीले बताइन्। यसबाट लामो समयदेखि मौज्दातमा रहेका दुग्धजन्य पदार्थको व्यवस्थापनसँगै संस्थानको बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यता, डीडीसीले किसानलाई अझै ३५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ। मन्त्री चौधरीका अनुसार २३५ वटा दुग्ध सहकारीमार्फत दूध उपलब्ध गराउने किसानलाई उक्त रकम भुक्तानी गर्न बाँकी रहेको हो। यद्यपि, वैशाख २० देखि भदौ २० सम्ममा किसानलाई ६० करोड रुपैयाँ भुक्तानी गरिसकिएको उनले जानकारी दिइन्।
पहिले किसानको दूधको भुक्तानी गर्न आठ महिनासम्म लाग्ने गरेकोमा अहिले त्यसलाई घटाएर दुईदेखि तीन महिनामा झारिएको र आगामी दिनमा अझै कम गर्ने लक्ष्य रहेको मन्त्रीको भनाइ छ।
मन्त्री चौधरीले डीडीसी घाटामा जानुको प्रमुख कारण कमजोर व्यवस्थापन, कुशल नेतृत्वको अभाव र वित्तीय अनुशासन कमजोर हुनु रहेको बताइन्।
संसद्मा उठेको भारतीय धुलो दूधको अवैध बिक्रीसम्बन्धी प्रश्नमा उनले नेपालमा उत्पादन हुने दुग्धजन्य पदार्थको आयातमा कानुनी रूपमा प्रतिबन्ध रहेको स्पष्ट पारिन्।
