काठमाडौं । निजी क्षेत्रबाट निर्माण हुन लागेको नेपालकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना तिला–१ को वित्तीय व्यवस्थापन टुंगिएको छ । कालीकोटको तिला नदीमा निर्माण हुने ४४० मेगावाट क्षमताको आयोजनाका लागि एनएमबी बैंकको नेतृत्वमा बैंक तथा वित्तीय संस्थाले ४४ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी सुनिश्चित गरेका छन् ।
एससी पावर कम्पनी लिमिटेडले निर्माण गर्ने आयोजनामा एनएमबी बैंकको अगुवाइमा ग्लोबल आईएमई, प्रभु, हिमालयन, नबिल, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनआईसी एसिया, कृषि विकास बैंकलगायत १३ बैंक तथा वित्तीय संस्था सहवित्तीयकरणमा सहभागी भएका छन् ।
कसको कति लगानी ?
एनएमबी बैंकले १० अर्ब, ग्लोबल आईएमई, प्रभु र हिमालयन बैंकले ७–७ अर्ब रुपैयाँ लगानी गर्नेछन् । नबिल बैंकले ३ अर्ब तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले २ अर्ब रुपैयाँ ऋण दिनेछन् ।
त्यस्तै कृषि विकास बैंक र मुक्तिनाथ विकास बैंकले १ अर्ब ५० करोडका दरले, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब ५० करोड, सांग्रिला डेभलपमेन्ट बैंकले १ अर्ब २५ करोड, ज्योति विकास बैंक र एनआईसी एसिया बैंकले १–१ अर्ब तथा आईसीएफसी फाइनान्सले ८० करोड रुपैयाँ लगानी गर्नेछन् ।
आयोजनाको क्षमता ४४० मेगावाट भए पनि हाल नेपाल विद्युत् प्राधिकरणसँग २९८.७५ मेगावाटको मात्र पीपीए भएको छ । त्यसैले तत्काल २९८.७५ मेगावाट निर्माणका लागि लगानी सुनिश्चित गरिएको हो । आयोजनाका बाँकी पूर्वाधार भने ४४० मेगावाट क्षमताकै आधारमा निर्माण गरिनेछ ।
२९८.७५ मेगावाट निर्माणका लागि करिब ५९ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यसमध्ये बैंक तथा वित्तीय संस्थाबाट ४४ अर्ब ५५ करोड रुपैयाँ ऋण र प्रवर्द्धकबाट १४ अर्ब रुपैयाँभन्दा बढी स्वपुँजी लगानी हुनेछ । आयोजनाको पूर्ण ४४० मेगावाट निर्माण गर्दा लागत करिब ७० अर्ब रुपैयाँ पुग्ने अनुमान छ ।
विद्युत् विकास विभागले आयोजनालाई २०७५ भदौ ८ गते उत्पादन अनुमतिपत्र दिएको थियो । लामो समयदेखि तयारीमा रहेको आयोजनाको बैंकिङ तथा प्राविधिक प्रक्रिया पूरा भएपछि वित्तीय व्यवस्थापन औपचारिक रूपमा टुंगिएको हो ।
तिला नदीमै निर्माण हुने ४२० मेगावाटको तिला–२ आयोजनाको पनि यसअघि वित्तीय व्यवस्थापन सम्पन्न भएको थियो । ऊर्जा तिला पावर कम्पनीले प्रवर्द्धन गर्ने तिला–२ मा एभरेस्ट बैंकको नेतृत्वमा ५२ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी जुटाइएको छ ।
तिला–२ को कुल लागत ७० अर्ब ७ करोड रुपैयाँ अनुमान गरिएको छ । आयोजनाले वार्षिक २ हजार ३१८.७९ गिगावाट आवर विद्युत् उत्पादन गर्नेछ । नेपाल विद्युत् प्राधिकरणसँग २९६.७४ मेगावाटका लागि पीपीए भइसकेको छ ।
तिला–१ र तिला–२ दुवै आयोजना अघि बढेसँगै कर्णालीको तिला नदी जलविद्युत् विकासको ठूलो केन्द्रका रूपमा अघि आउने देखिएको छ ।
