काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने वस्तुमा लगाउने भनिएको ५० प्रतिशत भन्सार शुल्क तीन दिनका लागि स्थगित गरेका छन्।
बुधबारदेखि लागू हुने तयारीमा रहेको शुल्क अमेरिका र क्यानडाबीच नयाँ सहमति बनेपछि तत्कालका लागि रोकिएको हो।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत दुई देशबीच सम्झौता भएको जानकारी दिँदै त्यसका आवश्यक कागजातलाई अन्तिम रूप दिन बाँकी रहेकाले शुल्क कार्यान्वयन तीन दिन पछि सारिएको बताएका छन्।
यसअघि ट्रम्पले क्यानडाबाट आयात हुने वस्तुमा ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए। शुल्क कार्यान्वयन हुनुअघि नै दुई देशबीचको वार्ता सकारात्मक बनेपछि अमेरिकी प्रशासनले तत्कालका लागि निर्णय स्थगित गरेको हो।
