काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि भीषण बाढी आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बिहान सवा ९ बजेतिर नदीमा ठूलो बाढी आएको हो।
बाढीबाट भएको क्षतिको विवरण भने अहिलेसम्म प्राप्त हुन सकेको छैन। उनका अनुसार तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी प्राप्त भएको छ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्रमा मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नदी आसपासका बासिन्दालाई सुरक्षित रहन र आवश्यक सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।
रसुवादेखि आएको बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ।
बाढी आएको पूर्व सूचना पाए लगत्तै त्रिशूली नदी आसपासका स्थानीयहरु सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए।
उनका अनुसार क्षतिको विस्तृत विवरण आउन बाँकी छ। बाढीले त्रिशूली बजारका केही घर र त्रिशूली नदीमा रहेका दुईवटा पक्की पुल बगाएको छ।
बाढीबाट त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त भएको छ। यस्तै बाढीले २५ मेगावाट क्षमताको सौर्य प्लान्टको तीनवटा ब्लक र सबस्टेसन बगाएको छ।
भिडियोः सामाजिक सञ्जाल
