काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित २५ जनाको नेपाली सेनाले उद्धार गरेको छ । उद्धार तथा राहतका लागि १४ वटा हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएका छन् । सडक सम्पर्क टुटेका क्षेत्रमा उपचार सेवा दिन सेनाले विशेषज्ञ चिकित्सकको टोलीसमेत त्रिशूलीमा परिचालन गरेको छ ।
नेपाली सेनाका अनुसार बाढी प्रभावित क्षेत्रबाट २५ जनाको उद्धार गरिएको हो । सेनाको टोलीले रसुवाको टिमुरे र स्याफ्रु तथा नुवाकोटको त्रिशूली क्षेत्रबाट उनीहरूको उद्धार गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।
बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । उद्धारमा नेपाली सेनाका साथै निजी क्षेत्रका हेलिकप्टरसमेत परिचालन गरिएको छ ।
सैनिक प्रवक्ता बस्नेतका अनुसार उद्धार तथा प्रतिकार्यका लागि सेनाका ६ र निजी क्षेत्रका ८ गरी १४ वटा हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएका छन् । ती हेलिकप्टरबाट आवश्यकता र जोखिमको अवस्थाअनुसार घाइते तथा प्रभावित नागरिकको उद्धार र राहत सामग्री ढुवानी गरिनेछ ।
स्थलमार्गबाट तत्काल पुग्न कठिन भएका क्षेत्रलाई प्राथमिकतामा राखेर हवाई उद्धारलाई अघि बढाइएको सेनाले जनाएको छ । बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा उद्धार टोली पुर्याउन समेत चुनौती देखिएको छ ।
यसैबीच नेपाली सेनाले घाइते तथा प्रभावितको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोलीसमेत त्रिशूलीमा परिचालन गरेको छ । दुई जना सर्जनसहित २० जना विशेषज्ञ चिकित्सकलाई त्रिशूलीस्थित मैथली ब्यारेकमा तैनाथ गरिएको सेनाले जनाएको छ ।
त्रिशूली अस्पतालसँगको सडक सम्पर्क बाढीका कारण टुटेपछि तत्काल वैकल्पिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले चिकित्सक टोलीलाई ब्यारेकमै खटाइएको हो । आवश्यक परेका घाइते तथा प्रभावितलाई ब्यारेकबाटै स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी गरिएको छ ।
भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा जनधन तथा भौतिक संरचनामा क्षति पुर्याएको प्रारम्भिक विवरण आएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम जारी रहेकाले क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।
सेनाले प्रभावित क्षेत्रमा उद्धार, खोजी, स्वास्थ्य सेवा तथा राहत व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाइरहेको जनाएको छ । जोखिममा रहेका नागरिकको उद्धारलाई प्राथमिकतामा राख्दै आवश्यकताअनुसार थप जनशक्ति तथा स्रोतसाधन परिचालन गरिने बताइएको छ ।
