काठमाडौं । नेपालमा महँगीको दबाब फेरि बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.२० प्रतिशत मात्रै थियो।
राष्ट्र बैंकको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति भने ३.०८ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो दर ४.०६ प्रतिशत थियो।
असारमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक बिन्दुगत मुद्रास्फीति ५.२५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको असारमा यो समूहको मुद्रास्फीति १.१९ प्रतिशत ऋणात्मक थियो।
खाद्य समूहमा सबैभन्दा धेरै मूल्यवृद्धि घ्यू तथा तेलमा १०.०५ प्रतिशत भएको छ। यस्तै, फलफूलको मूल्य ७.०९ प्रतिशत बढेको छ। मरमसला ३.६६ प्रतिशत र दाल तथा गेडागुडीको मूल्य ३.४१ प्रतिशत घटेको छ।
गैरखाद्य तथा सेवा समूहको वार्षिक बिन्दुगत मुद्रास्फीति पनि बढेर ५.०८ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको असारमा यस्तो दर ४.१२ प्रतिशत थियो।
यस समूहअन्तर्गत विविध वस्तु तथा सेवाको मूल्य १३.६१ प्रतिशत, शिक्षाको ७.०४ प्रतिशत र यातायातको ५.८० प्रतिशतले बढेको छ। बीमा तथा वित्तीय सेवाको मूल्य भने ०.०१ प्रतिशतले घटेको छ।
क्षेत्रअनुसार तराईमा बढी महँगी
क्षेत्रगत रूपमा असारमा तराईमा सबैभन्दा बढी ५.६३ प्रतिशत वार्षिक बिन्दुगत मुद्रास्फीति देखिएको छ। पहाडमा ४.९७ प्रतिशत, काठमाडौं उपत्यकामा ४.८० प्रतिशत र हिमालमा ४.०४ प्रतिशत रहेको छ।
वार्षिक औसत मुद्रास्फीति भने तराईमा ३.२८ प्रतिशत, काठमाडौं उपत्यकामा ३.१६ प्रतिशत, पहाडमा २.८१ प्रतिशत र हिमालमा २.७३ प्रतिशत रहेको छ।
प्रदेशगत रूपमा मधेशमा वार्षिक बिन्दुगत मुद्रास्फीति सबैभन्दा बढी ५.९४ प्रतिशत पुगेको छ। कोशीमा ५.६१ प्रतिशत, लुम्बिनीमा ५.२५ प्रतिशत, गण्डकीमा ५.१२ प्रतिशत, कर्णालीमा ५.०१ प्रतिशत, बागमतीमा ४.६८ प्रतिशत र सुदूरपश्चिममा ४.२७ प्रतिशत रहेको छ।
तलब बढ्यो, ज्यालादर पनि उकालो
महँगीसँगै तलब तथा ज्यालादरमा पनि वृद्धि भएको छ। आर्थिक वर्ष २०८२/८३ मा वार्षिक औसत तलब तथा ज्यालादर सूचकांक ५.७९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो वृद्धि २.८५ प्रतिशत मात्रै थियो।
२०८३ असारमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकांक ६.७० प्रतिशतले बढेको छ। अघिल्लो वर्षको असारमा यस्तो वृद्धि २.६३ प्रतिशत थियो।
प्रदेशगत रूपमा गण्डकीमा तलब तथा ज्यालादर सबैभन्दा बढी ११.३२ प्रतिशत बढेको छ। कर्णालीमा भने सबैभन्दा कम १.२६ प्रतिशत वृद्धि भएको छ।
यस्तै, आर्थिक वर्ष २०८२/८३ मा वार्षिक औसत थोक मुद्रास्फीति ४.२७ प्रतिशत रहेको छ।
भारतमा सन् २०२६ जुलाईमा उपभोक्ता मुद्रास्फीति ४.४५ प्रतिशत रहेको अवस्थामा नेपालमा असारको वार्षिक बिन्दुगत मुद्रास्फीति ५.१४ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।
