काठमाडौं। बुधबार बिहान रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट करिब २ खर्ब रुपैयाँ बराबरको भौतिक क्षति पुगेको प्रारम्भिक आकलन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरणका आधारमा करिब २ खर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको जानकारी दिएका हुन्।
बाढीले रसुवा, नुवाकोट र धादिङको नदी करिडोरमा रहेका सडक, पुल, जलविद्युत् आयोजना, प्रसारण संरचना, बस्ती तथा नेपाल–चीन सीमा क्षेत्रका पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ। क्षतिको विस्तृत प्राविधिक मूल्याङ्कन भने हुन बाँकी छ।
प्रारम्भिक विवरणअनुसार बाढीले १९ वटा मोटरेबल पुल र करिब ४० किलोमिटर पक्की सडक क्षतिग्रस्त बनाएको छ। नेपाल–चीन जोड्ने पासाङ ल्हामु राजमार्गको ठूलो हिस्सा समेत प्रभावित भएको छ। टिमुरे बजारलगायत नदी किनारका बस्तीमा ठूलो क्षति पुगेको छ भने नेपाल–चीन सीमामा रहेको भन्सार कार्यालय, यार्ड तथा अन्य संरचनासमेत प्रभावित भएका छन्।
गत असारमा बाढीले बगाएको मितेरी पुल पुनः बगेको छ। उक्त स्थानमा गत पुसमा मात्रै बेलिब्रिज सञ्चालनमा ल्याइएको थियो।
जलविद्युत् पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ। रसुवागढी, सालासिंगी (सान्जेन), माथिल्लो सान्जेन, सान्जेन, चिलिमे, लाङटाङ, माथिल्लो त्रिशूली–३ए, माथिल्लो मैलुङ, मैलुङ, त्रिशूली र देवीघाट जलविद्युत् केन्द्र प्रभावित भएका छन्। नुवाकोटमा सरकारी लगानीमा सञ्चालित २५ मेगावाटको सौर्य आयोजनामा समेत क्षति पुगेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण १२ वटा उत्पादन केन्द्र बन्द भई ४३१.१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ।
प्रसारणतर्फ त्रिशूलीस्थित २२० केभी त्रिशूली–३ बी हब सबस्टेसन पूर्णरूपमा क्षतिग्रस्त भएको छ। चिलिमे २२० केभी हब तथा समुद्रटार–त्रिशूली १३२ केभी, चिलिमे–त्रिशूली ६६ केभी, चिलिमे हब–त्रिशूली ३ बी हब–मातातीर्थ २२० केभी र त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइनमा समेत क्षति पुगेको छ।
बाढीले ठूलो मानवीय क्षति पनि गराएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी रहेकाले मानवीय क्षतिको पूर्ण विवरण अझै सार्वजनिक हुन सकेको छैन।
