सुदूरपश्चिम। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।
अवरोधपछि शनिबार आधा घण्टाका लागि स्थगित गरिएको बैठक पुनःबस्न नसकी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।
बैठक सुरु हुनासाथ कांग्रेसका प्रदेशसभा सदस्यहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख भीमबहादुर भण्डारीले दलका तर्फबाट धारणा राख्न समय दिएका थिए।
बैठकमा कांग्रेस नेता विक्रम धामीले अर्थमन्त्रीले बजेटमा त्रुटि भएको स्वीकार गरिसकेको र सरकारको नेतृत्वकर्ता नेपाली कम्युनिष्ट पार्टीको संसदीय दललेसमेत बजेट पुनर्लेखन गर्ने सहमति जनाएपछि बजेट पारित गर्न सहमत भएका अवस्थामा सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए।
उनले सभामुखलेसमेत सात सदस्यीय समिति बनाएर बजेट पुनरावलोकन गराउने आशय व्यक्त गरिसकेको उल्लेख गर्दै त्यस कारण पनि वर्तमान सरकार सत्तामा रहिरहनु उपयुक्त नभएको कांग्रेसको धारणा रहेको बताए।
कांग्रेसले सरकारविरुद्ध नाराबाजीसहित अवरोध जारी राखेपछि सभामुख भण्डारीले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए।
प्रतिपक्षीसँग सहमति जुट्न नसकेपछि पुनःबैठक नबसी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो। बैठकमा प्रदेशसभा नियमावली, २०८० को नियम १५ बमोजिम समसामयिक विषयमा दलगत आधारमा सम्बोधन गर्ने कार्यसूची रहेको थियो।
यसअघि आर्थिक वर्ष सुरु भएको करिब तीन महिनासम्म यहाँ ‘बजेट होलीडे’ को अवस्था रहेको थियो। बजेटकै कारण तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार प्रदेशसभामा बजेट पेस गरिसकेपछि विघटन भएको थियो।
त्यसपछि बनेको मुख्यमन्त्री खगराज भट्ट नेतृत्वको सरकारले गत असोज २६ गते प्रदेशसभाबाट प्रतिपक्षीको बहिष्कारका बीच बहुमतले बजेट पारित भएको थियो।
हालको बजेटमाथि पनि पार्टीभित्र र बाहिर विरोध भइरहेको छ। कांग्रेस बजेट पारित गर्न सरकार र सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै सरकारले राजीनामा दिनुपर्ने अडानमा छ।
