काठमाडौं। बाढीबाट प्रभावित नेपालमा उद्धार, राहत र पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल सहयोगको प्रतिबद्धता जनाएका छन्।
बाढीको खबर सार्वजनिक भएलगत्तै बिहान १०ः३५ बजे विश्व बैंकका नेपाल निर्देशक डेविड सिस्लेनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग सम्पर्क गरी विभिन्न स्रोतबाट आपत्कालीन सहयोगस्वरूप २५ अर्ब रुपैयाँसम्म उपलब्ध गराउन सकिने जानकारी दिएका थिए।
दक्षिणी छिमेकी भारतले बाढी प्रभावितका लागि तत्काल आवश्यक राहत सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री, अर्थमन्त्रीलगायत वरिष्ठ मन्त्रीसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री बिहीबार नै काठमाडौं ल्याउने तयारी भइरहेको बताएका छन्।
उत्तरी छिमेकी चीनले पनि तत्काल नगद सहयोग गर्ने भएको छ। सहयोग रकम पठाउने प्रक्रिया अघि बढाउन चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन्।
भारत, चीन र विश्व बैंकबाट आएको सहयोगको प्रतिबद्धताप्रति सरकारले आभार व्यक्त गरेको छ। अर्थमन्त्री वाग्लेले अन्तरसरकारी समन्वयमार्फत सहयोग परिचालनको मोडालिटीबारे छलफल अघि बढाएका छन्।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेपछि घरेलु तथा बाह्य स्रोतबाट राहत र पुनर्निर्माणका लागि सहयोग जुटाउने बाटो खुलेको हो।
