काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पूँजीबजार सुधारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ (सिडिएससी), मर्चेन्ट बैंकर, धितोपत्र दलाल, योजना व्यवस्थापक, डिपोजिटरी तथा सूचीकृत कम्पनीलाई करिब तीन दर्जन निर्देशन जारी गरेको छ।
बोर्डले भदौ ९ गते पूँजी बजार विकास मार्गचित्र, २०८३ तथा चालू आर्थिक वर्षको पूँजीबजार नीति तथा कार्यक्रममा तय भएका नियामकीय सुधार र विकास कार्यक्रम कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
धितोपत्र कारोबारलाई थप सुदृढ, प्रभावकारी, सुरक्षित र विश्वसनीय बनाउन नियमन तथा अनुगमन सुधार गर्ने उद्देश्यले निर्देशन जारी गरिएको सेबोनले जनाएको छ। नेप्सेलाई मात्रै १९ बुँदे निर्देशन दिइएको छ।
नेप्सेको कारोबार प्रणालीको आइटी अडिट
लगानीकर्ताबाट कारोबार प्रणालीमा गुनासो बढेपछि नेप्सेले स्वीकृत गरेका प्रणालीको आइटी अडिट गरी प्रतिवेदन बोर्डमा बुझाउन सेबोनले निर्देशन दिएको छ। प्रणालीमा देखिएका समस्या पहिचान गरी नयाँ उपकरणको समेत कारोबार सहज हुने गरी सुरक्षित र प्रभावकारी कारोबार प्रणाली सुनिश्चित गर्न भनिएको छ।
नेप्सेलाई ‘आफ्टर मार्केट अर्डर’ प्रभावकारी रूपमा लागू गर्न, मोबाइल एपमार्फत दोस्रो बजार कारोबारको व्यवस्था मिलाउन तथा टी प्लस टु अवधिमा ग्राहकलाई रकम उपलब्ध गराउने व्यवस्था प्रभावकारी बनाउन पनि निर्देशन दिइएको छ।
सिडिएससीलाई रियल टाइम सेटलमेन्ट ड्यासबोर्ड
सिडिएससीलाई ग्राहकलाई रकम उपलब्ध गराउने व्यवस्था प्रभावकारी बनाउन तथा सार्वजनिक निष्कासन, लकइन अवधि र सेटलमेन्टसम्बन्धी सूचना तत्काल उपलब्ध गराउन भनिएको छ।
त्यस्तै, ‘मेरो शेयर’ प्रणालीमार्फत कारोबारको रियल टाइम सेटलमेन्ट अवस्था देखिने ड्यासबोर्ड विकास गर्न निर्देशन दिइएको छ।
५ प्रतिशतभन्दा बढी सेयर बिक्रीमा अग्रिम सूचना
सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफूले धारण गरेको कुल सेयरमध्ये ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि नेप्सेमार्फत सूचना सार्वजनिक गर्नुपर्ने भएको छ।
मर्चेन्ट बैंकर र ब्रोकरलाई पनि निर्देशन
योजना व्यवस्थापक तथा डिपोजिटरीले योजनाको स्वीकृत विवरण पुस्तिका योजना परिपक्व नहुँदासम्म आफ्नो वेबसाइटमा राख्नुपर्नेछ। खुलामुखी योजनाको दैनिक कारोबारसम्बन्धी विवरणसमेत वेबसाइटमा सार्वजनिक गर्न भनिएको छ।
मर्चेन्ट बैंकरलाई स्वार्थको द्वन्द्व नहुने गरी सार्वजनिक निष्कासनमा आवेदन दिन तथा आईपीओ आवेदनका क्रममा आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदनका आधारमा बोर्डले तोकेको वित्तीय मापदण्ड पूरा भएको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
धितोपत्र दलाल व्यवसायीलाई प्रत्येक ग्राहकको कारोबार स्पष्ट देखिने गरी छुट्टाछुट्टै अभिलेख राख्न, ब्रोकरको सञ्चालन खाता र धितोपत्र कारोबार खाता अलग–अलग प्रयोग गर्न तथा ग्राहकलाई रकम उपलब्ध गराउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न भनिएको छ।
नेप्से, ब्रोकर कम्पनी र मर्चेन्ट बैंकलाई प्रत्येक महिना कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नसमेत सेबोनले निर्देशन दिएको छ।
