काठमाडौँ। रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त जिल्लाका विभिन्न सञ्चार टावरलाई मर्मत गरी सञ्चालनमा ल्याएर सेवा सञ्चालनमा ल्याउने पहल थालिएको छ । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार रसुवाको न्यौपानेचारै र राम्चेको रिपेयरसाइटमा हेलिकोप्टरबाट जेनेरेटर तथा ब्याट्री पठाइ आसपासका क्षेत्रमा सेवा सञ्चालनको पहल थालिएको हो ।
रसुवाकै धुन्चे, नुवाकोटको विदुर बसपार्क, बट्टार, मदानपुर तथा धादिङको बैरेनी र ठेमल डाँडा क्षेत्रमा जेनेरेटर, फ्यूल तथा प्राविधिक जनशक्ति परिचालन गरी सेवा सञ्चालनमा ल्याउने प्रयास जारी राखिएको छ ।
मन्त्रालयले नेटवर्क व्यवस्थापनका लागि सञ्चालनमा रहेका ‘बिटिएस’हरूमा पहुँच विस्तार, क्षमतावृद्धि र ‘अप्टिमाइजेसन’ गरी सेवा प्रभावकारी बनाइएको, प्रभावित सेवाग्राहीका लागि उपलब्ध निःशुल्क सुविधाको अवधि थप तीन दिन विस्तार गरिएको जनाएको छ । प्रभावित क्षेत्रमा यही भदौ १४ गतेसम्म भ्याइस कल निःशुल्क, प्रतिदिन दुई जिबी डाटा र ५० एसएमएस निःशुल्क गरिएको टेलिकमले जनाएको छ ।
