काठमाडौँ। रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीपछि नेपाली सेनाले हालसम्म २,४६५ जनाको उद्धार गरेको छ ।
शनिबार बिहान ८ बजेसम्म नेपाली सेनाका हेलिकप्टर, स्थल उद्धार तथा सुरुङबाट गरी उक्त संख्यामा उद्धार गरिएको हो ।
सेनाका अनुसार टिमुरे, स्याफ्रुबेँसी, धुन्चे र मैलुङ क्षेत्रबाट १६३ विदेशी नागरिकको हवाई उद्धार गरिएको छ । उद्धार गरिएकामा ११३ भारतीय, २६ चिनियाँ, १५ दक्षिण कोरियाली, चार जर्मन, दुई अमेरिकी, दुई इटालियन र एक ओमानी नागरिक छन् ।
सुरुङबाट १९१ जनासहित हवाई तथा अन्य माध्यमबाट २,२६५ जना र स्थलमार्गबाट थप २०० जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका करिब ६,७०० भन्दा बढी फौज परिचालन भएका छन् । त्रिशूली र धुन्चेमा सेनाले स्थापना गरेका आपत्कालीन उपचार केन्द्रबाट हालसम्म १,७०६ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
सेनाले घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरणलाई समन्वयात्मक रूपमा अघि बढाइरहेको जनाएको छ ।
काठमाडौँबाट त्रिशूलीसम्म स्थलमार्ग हुँदै ल्याइएका राहत सामग्री हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्याइएको छ । हालसम्म त्रिशूली–३ ‘ए’ सुरुङ क्षेत्रमा ३,६०० किलो, मैलुङमा ५०० किलो र बेत्रावतीमा २२० किलो राहत सामग्री ढुवानी गरिएको छ ।
त्रिशूली–३ ‘ए’ सुरुङ क्षेत्रमा भदौ १२ गतेदेखि नेपाली सेनाका ८४ सहित सशस्त्र प्रहरी र नेपाल प्रहरीका १४६ जनाको संयुक्त टोली उद्धार कार्यमा खटिएको छ ।
