काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावितको उद्धार, राहत र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग बढ्दै गएको छ। नेपाल सरकारले गरेको आग्रहपछि छिमेकी मुलुकसहित विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थाले नगद, राहत सामग्री, उद्धार तथा प्राविधिक सहयोग घोषणा गरेका छन्।
सबैभन्दा ठूलो सहयोग विश्व बैंकबाट आउने भएको छ। विश्व बैंकले बाढी तथा विपद् व्यवस्थापनका लागि करिब २५ अर्ब रुपैयाँ बराबरको आपत्कालीन सहयोग प्रक्रिया अघि बढाएको छ।
संयुक्त अरब इमिरेट्सले यूएई एडमार्फत १ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। एसियाली विकास बैंकले ५० लाख अमेरिकी डलर आपत्कालीन सहयोग दिने जनाएको छ।
बेलायतले ५० लाख पाउण्ड स्टर्लिङ सहयोगसँगै र्यापिड डिप्लोयमेन्ट टिम पठाउने घोषणा गरेको छ। अस्ट्रेलियाले ५० लाख अस्ट्रेलियाली डलर विश्व खाद्य कार्यक्रम, गैरसरकारी संस्था तथा स्थानीय पुनरुत्थानका लागि उपलब्ध गराउने जनाएको छ।
संयुक्त राष्ट्र संघले ५० लाख अमेरिकी डलर आपत्कालीन सहयोग घोषणा गरेको छ। दक्षिण कोरियाले १० लाख अमेरिकी डलर सहयोगसँगै विशेषज्ञ टोली पठाउने भएको छ। श्रीलंकाले पनि १० लाख अमेरिकी डलर नगद सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले १० लाख स्विस फ्र्याङ्क सहयोग गर्ने भएको छ। स्विजरल्याण्डले ६ लाख अमेरिकी डलरभन्दा बढी सहयोग गर्ने जनाएको छ। अमेरिकाले ५ लाख अमेरिकी डलर सहयोगसँगै प्रकोप सल्लाहकार टोली पठाउने भएको छ।
छिमेकी चीनले नगद तथा आपत्कालीन राहत सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। सहयोग रकम हस्तान्तरणको प्रक्रिया अघि बढेको छ। चीनले सीमा क्षेत्रमा उद्धार तथा जोखिम व्यवस्थापनका लागि दूतावासको टोली र सुरुङ उद्धार विशेषज्ञसमेत परिचालन गरेको छ।
भारतले तीनवटा उडानमार्फत करिब ५७ देखि ६२ टन राहत सामग्री नेपाल पठाएको छ। भारतले ११ सदस्यीय चिकित्सा तथा सुरुङ उद्धार टोलीसमेत परिचालन गरेको छ।
यसैगरी जापान, पाकिस्तान र बंगलादेशले पनि राहत सामग्री तथा अन्य सहयोग उपलब्ध गराउने औपचारिक प्रस्ताव गरेका छन्।
नेपाल सरकारले प्राप्त हुने सहयोगलाई बाढी प्रभावितको तत्कालीन राहत, उद्धार, घाइतेको उपचार तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा प्रयोग गर्ने जनाएको छ।
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसहितका क्षेत्रमा ठूलो क्षति पुगेको छ। सडक, पुल, विद्युत् आयोजना, सीमा पूर्वाधार तथा निजी सम्पत्तिमा भएको क्षतिका कारण तत्कालीन राहतसँगै पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक देखिएको छ।
अन्तर्राष्ट्रिय सहयोगको मुख्य विवरण यसप्रकार छ।
विश्व बैंक: करिब २५ अर्ब रुपैयाँ बराबरको आपत्कालीन सहयोग।
युएई: १ करोड अमेरिकी डलर।
चीन: नगद तथा आपत्कालीन राहत सामग्री, सहयोग रकम सार्वजनिक हुन बाँकी।
भारत: करिब ५७ देखि ६२ टन राहत सामग्री तथा ११ सदस्यीय चिकित्सा र सुरुङ उद्धार टोली।
एसियाली विकास बैंक: ५० लाख अमेरिकी डलर।
बेलायत: ५० लाख पाउण्ड स्टर्लिङ तथा र्यापिड डिप्लोयमेन्ट टिम।
अस्ट्रेलिया: ५० लाख अस्ट्रेलियाली डलर।
संयुक्त राष्ट्र संघ: ५० लाख अमेरिकी डलर।
दक्षिण कोरिया: १० लाख अमेरिकी डलर तथा विशेषज्ञ टोली।
श्रीलंका: १० लाख अमेरिकी डलर नगद।
रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ: १० लाख स्विस फ्र्याङ्क।
स्विजरल्याण्ड: ६ लाख अमेरिकी डलरभन्दा बढी।
अमेरिका: ५ लाख अमेरिकी डलर तथा प्रकोप सल्लाहकार टोली।
जापान, पाकिस्तान र बंगलादेश: राहत सामग्री तथा अन्य सहयोगका लागि औपचारिक प्रस्ताव।
