काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ ।
काठमाडौंमा आयोजित समारोहमा स्वरोजगार लघुवित्तका अध्यक्ष ज्ञानेन्द्र प्रसाद पाण्डे र विन नेपाल लघुवित्तका कार्यवाहक अध्यक्ष कुमार राज जोशीले संयुक्त रूपमा एकीकृत कारोबारको शुभारम्भ गरे ।
एकीकरणपछि दुवै संस्थाको शाखा सञ्जाल, सदस्य, कर्जा तथा बचत कारोबार एउटै संस्थामार्फत सञ्चालन हुने भएको छ । यससँगै संस्थाको पूँजीगत आधार, वित्तीय क्षमता र सञ्चालन दक्षता थप मजबुत हुने अपेक्षा गरिएको छ ।
एकीकरणअघि स्वरोजगार लघुवित्तको चुक्ता पुँजी करिब ८९ करोड ५६ लाख रुपैयाँ र विन नेपालको करिब ८ करोड ४३ लाख रुपैयाँ थियो । एकीकरणपछि चुक्ता पुँजी करिब ९७ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।
एकीकृत संस्थाको शाखा संख्या ११२, सक्रिय सदस्य संख्या १ लाख ३२ हजारभन्दा बढी र कर्मचारी संख्या करिब ६१९ पुगेको छ । कुल कर्जा लगानी करिब ११ अर्ब ७१ करोड र कुल बचत करिब ५ अर्ब ८८ करोड रुपैयाँ पुगेको संस्थाले जनाएको छ ।
लघुवित्त क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच भएको एकीकरणले संस्थाको वित्तीय आधार, पहुँच र सञ्चालन क्षमता विस्तार गर्नुका साथै ग्रामीण तथा विपन्न वर्गमा वित्तीय सेवा थप प्रभावकारी रूपमा पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । एकीकृत संस्थाले सदस्य तथा सेवाग्राहीलाई सहज, गुणस्तरीय र पहुँचयोग्य वित्तीय सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।
