काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवा कार्यालय (युएनओपीएस) का एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशक सारा नेट्जरबीच भेटवार्ता भएको छ। मङ्गलबार साँझ ऊर्जा मन्त्रालयमा भएको उक्त भेटमा भोटेकोशी नदीमा आएको बाढीका कारण पुगेको क्षति र पुनर्निर्माणका विषयमा छलफल भएको छ।
मन्त्री श्रेष्ठले भोटेकोशीमा आएको बाढीलाई जलवायु परिवर्तनसँग जोडिएको गम्भीर विपद्का रूपमा उल्लेख गर्दै यसबाट विश्वले नै पाठ सिक्नुपर्ने बताए। उनले विनाशकारी बाढीबाट भएको क्षतिको अन्तर-मन्त्रालय समन्वयमा मूल्याङ्कन भइरहेको तथा खोज, उद्धार र राहतका कामलाई तीव्रता दिइएको जानकारी दिए। साथै, मन्त्रालयले जलस्रोत तथा जलविद्युत् परियोजनालाई जलवायुमैत्री बनाउने योजना अघि सारेको उनले बताए।
मन्त्री श्रेष्ठले त्रिशूली करिडोरलाई एकीकृत विकास योजनाअन्तर्गत पुनर्निर्माण गर्नुपर्नेमा जोड दिए। उनले जलवायु परिवर्तनलाई ध्यानमा राखेर विकास निर्माणका योजना एकीकृत रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।
युएनओपीएसकी क्षेत्रीय निर्देशक नेट्जरले नेपालको दीर्घकालीन एकीकृत विकासका लागि संस्थाको विज्ञता र अनुभव उपलब्ध गराउने प्रतिबद्धता जनाइन्। उनले त्रिशूली करिडोरको दिगो विकास योजनामा अन्तर्राष्ट्रिय सहयोगलाई एकीकृत रूपमा परिचालन गर्न प्राविधिक सहयोग उपलब्ध गराउने बताइन्।
भेटमा युएनओपीएसका नेपाल प्रतिनिधि अलेक्जान्ड्रा राडेटिक, दक्षिण एसिया बहु-देशीय निर्देशक चाल्र्स क्यालन र वरिष्ठ पूर्वाधार सल्लाहकार रिको वालेन्टालगायतको उपस्थिति रहेको थियो। युएनओपीएसको टोली भोटेकोशी नदीमा आएको बाढीको स्थलगत निरीक्षण गरी फर्किएको हो।
