काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको थोक मूल्य सूची सार्वजनिक गरेको छ।
समितिका अनुसार आज बजारमा प्याजसहित केही तरकारीको मूल्यमा वृद्धि भएको छ। धेरैजसो तरकारीको मूल्य भने स्थिर रहेको छ।
शुक्रबार भारतीय सुकेको प्याजको औसत थोक मूल्य ९० रुपैयाँ कायम भएको छ। बजारमा ठूलो नेपाली र भारतीय गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ भने टनेलको सानो गोलभेँडाको मूल्य २५ रुपैयाँ तोकिएको छ।
समितिको तथ्यांक अनुसार रातो आलुको मूल्य ५७ रुपैयाँ ५० पैसा, लोकल गाँजर ९० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ र स्थानीय काउली ३५ रुपैयाँ प्रतिकिलो छ। हाइब्रिड मुला, लाम्चो भन्टा र घिरौँला पनि ३५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।
त्यस्तै, तने बोडी ८० रुपैयाँ, मकै बोडी ४५ रुपैयाँ, लौका ४५ रुपैयाँ, लोकल परबल ५५ रुपैयाँ, करेला ७५ रुपैयाँ र हरियो डल्ले फर्सी ३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। भिन्डी ८० रुपैयाँ, रायोको साग ३५ रुपैयाँ, पालुंगोको साग १०० रुपैयाँ, कन्य च्याउ ११५ रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ, कुरिलो ७५० रुपैयाँ र ब्रोकाउली ९५ रुपैयाँ प्रतिकिलोमा उपलब्ध छन्।
यो सूची कालीमाटीको थोक बजारको मूल्य हो। खुद्रा बजारमा भने यी तरकारीहरूको मूल्य थप बढी हुन सक्छ।
