काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ मौज्दात रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरणमा उक्त रकम संकलन भएको हो।
कार्यालयका अनुसार विभिन्न नौवटा बैंकमा नेपाली रुपैयाँतर्फ ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ मौज्दात छ। त्यसैगरी, कोषका दुईवटा बैंकमा रहेको डलर खातामा २ करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको छ। यी दुवै रकमलाई जोड्दा कोषमा जम्मा १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ पुगेको कार्यालयले जनाएको छ।
कोषमा रकम थपिने क्रम जारी छ। विवरणअनुसार भदौ २५ गते मात्रै नेपाली रुपैयाँतर्फ १७ करोड २५ लाख ६९ हजार ६७५ र अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर थप संकलन भएको छ।
यसअघि, रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूलाई सहयोग गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत कोषबाट १ अर्ब रुपैयाँ निकासा गरिएको थियो।
