धनकुटा। जिल्लाका निजी तथा आवासीय विद्यालयले बाढीपीडितका लागि आठ लाख ७६ हजार २१ रुपियाँ सहयोग संकलन गरेका छन्।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धनकुटाको पहलमा जिल्लाका १४ वटा विद्यालयले उक्त रकम संकलन गरेका हुन्।
प्याब्सन धनकुटाका अध्यक्ष प्रेमप्रसाद लिम्बूका अनुसार प्याब्सन केन्द्रीय कार्यसमितिको सूचनाबमोजिम राहत रकम संकलन गरी पठाइएको हो। संकलित रकम केन्द्रीय कार्यसमितिलाई हस्तान्तरण गरिएको छ।
सहयोग गर्ने विद्यालयहरूमध्ये मदरल्यान्ड सेकेन्डरी बोर्डिङ स्कुलले सबैभन्दा बढी एक लाख १५ हजार २०० रुपियाँ प्रदान गरेको छ। त्यसैगरी, दीप इङ्लिस बोर्डिङ स्कुलले एक लाख छ हजार १७६ रुपियाँ, शीतला देवी माध्यमिक विद्यालयले एक लाख एक हजार ५५ रुपियाँ र सयपत्री सेकेन्डरी बोर्डिङ स्कुलले एक लाख एक हजार ५५५ रुपियाँ सहयोग गरेका छन्।
प्याब्सन धनकुटाका सचिव इन्द्रबहादुर राईका अनुसार अन्य विद्यालयहरूको योगदानमा तमोर भ्याली सेकेन्डरी बोर्डिङ स्कुलले ७५ हजार रुपियाँ, सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलले ६३ हजार ६७५ रुपियाँ, मनकामना सेकेन्डरी बोर्डिङ स्कुलले ६१ हजार ५५५ रुपियाँ, दीप ज्योति सेकेन्डरी बोर्डिङ स्कुलले ५१ हजार ५५५ रुपियाँ, निलगिरी सेकेन्डरी बोर्डिङ स्कुलले ५० हजार १०५ रुपियाँ र तुलसी मेहर सेकेन्डरी बोर्डिङ स्कुलले ५० हजार रुपियाँ रहेका छन्।
साथै, धनकुटा सेकेन्डरी बोर्डिङ स्कुलले ४० हजार रुपियाँ, इस्टर्न स्टार स्कुलले २५ हजार रुपियाँ, बाल संसार सेकेन्डरी बोर्डिङ स्कुलले २० हजार १४५ रुपियाँ र निजामती रेसिडेन्सियल स्कुलले १५ हजार रुपियाँ सहयोग गरेका छन्।
