आज एप्पलको नयाँ आइफोन सार्वजनिक हुँदा विश्वभरका प्रविधिप्रेमीको ध्यान एकैपटक तानिन्छ।
उत्पादन सार्वजनिक हुनुअघि नै यसको डिजाइन, क्यामेरा, चिप, ब्याट्री, मूल्य र नयाँ सुविधाबारे चर्चा सुरु हुन्छ।
एप्पलको एउटा उत्पादन सार्वजनिक हुनु आफैंमा विश्व प्रविधि बजारको ठूलो घटना बन्ने अवस्था अचानक बनेको होइन।
यसको पछाडि दशकौँ लामो प्रयोग, असफलता, पुनर्गठन र बजारलाई नयाँ ढंगले बुझ्ने रणनीति छ।
त्यो यात्राको केन्द्रमा थिए स्टिभ जब्स।
आज एप्पललाई विश्वकै प्रभावशाली प्रविधि कम्पनीका रूपमा बुझिन्छ। तर यसको सुरुआत न कुनै विशाल औद्योगिक परिसरबाट भएको थियो, न ठूलो लगानीकर्ताको कार्यालयबाट। दुई युवा प्रविधिप्रेमीले सीमित स्रोतमा सुरु गरेको प्रयासबाट यसको कथा अघि बढेको थियो।
स्टिभ जब्स र स्टिभ वोज्नियाकको सहकार्यले एप्पललाई जन्म दियो। वोज्नियाक प्राविधिक रूपमा अत्यन्त प्रतिभाशाली थिए भने जब्सले प्रविधिभित्र लुकेको व्यावसायिक सम्भावना देख्ने क्षमता राख्थे। यही दुई फरक क्षमताको संयोजनले एप्पलको प्रारम्भिक आधार तयार गर्यो।
सन् १९७० को दशकमा व्यक्तिगत कम्प्युटर आजजस्तो आम उपभोक्ताको जीवनको हिस्सा थिएन। कम्प्युटर मुख्यतः ठूला संस्था, विश्वविद्यालय, अनुसन्धान केन्द्र र प्राविधिक प्रयोगशालामा सीमित थिए। त्यस्तो समयमा कम्प्युटरलाई सामान्य मानिसले प्रयोग गर्न सक्ने उत्पादन बनाउने विचार आफैंमा ठूलो सोच थियो।
वोज्नियाकले कम्प्युटर निर्माणको प्राविधिक पक्षमा काम गरिरहेका थिए। जब्सले भने त्यसलाई बजारमा लैजान सकिने उत्पादनका रूपमा हेरे। यही दृष्टिकोणले उनीहरूलाई अरू कम्प्युटर उत्साहीभन्दा फरक बनायो।
जब्सले आफ्नै फोक्सवागन गाडी बेचे। वोज्नियाकले आफ्नो बहुमूल्य क्याल्कुलेटर बेचे। प्राप्त रकमलाई प्रयोग गरेर उनीहरूले कम्प्युटर निर्माणको काम अघि बढाए। जब्सका परिवारको ग्यारेज प्रारम्भिक उत्पादनस्थल बन्यो।
त्यहीँबाट एप्पलको पहिलो कम्प्युटरको यात्रा सुरु भयो।
‘एप्पल वन’ ठूलो उपभोक्ता बजारमा पुग्ने उत्पादन बन्न नसके पनि यसले एउटा महत्त्वपूर्ण कुरा प्रमाणित गर्यो। व्यक्तिगत कम्प्युटरको बजार बन्न सक्छ।
एप्पलका संस्थापकहरूका लागि यही सम्भावना पर्याप्त थियो।
प्राविधिक उत्पादनलाई उपभोक्ताको वस्तु बनाउने सोच
एप्पलको सुरुआती सफलता केवल नयाँ कम्प्युटर बनाउनुमा सीमित थिएन। जब्सको विशेषता प्रविधिलाई सामान्य मानिसले कसरी प्रयोग गर्छ भन्ने विषयमा ध्यान दिनु थियो।
त्यो समयमा धेरै कम्प्युटर प्राविधिक ज्ञान भएका मानिसका लागि डिजाइन हुन्थे। एप्पलले भने कम्प्युटरलाई उपभोक्तामैत्री बनाउने दिशामा काम गर्यो।
सन् १९७७ मा ‘एप्पल टू’ सार्वजनिक भएपछि कम्पनीले व्यक्तिगत कम्प्युटर बजारमा आफ्नो स्थान बलियो बनाउन थाल्यो। रंगीन ग्राफिक्स, किबोर्ड र तुलनात्मक रूपमा सहज प्रयोगका कारण एप्पल टू उपभोक्तामाझ लोकप्रिय भयो।
यसले एप्पललाई एउटा नयाँ व्यवसायिक पाठ सिकायो। प्रविधिमा सफलता केवल शक्तिशाली उपकरण बनाउनमा निर्भर हुँदैन। प्रयोगकर्ताले त्यसलाई कति सहज रूपमा स्वीकार गर्छन् भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
यही सोच पछि एप्पलका लगभग सबै प्रमुख उत्पादनको आधार बन्यो। एप्पल टूको सफलताले कम्पनीमा पूँजी, बजार र विस्तारको सम्भावना बढायो। कम्पनी औपचारिक रूपमा अगाडि बढ्यो। लगानीकर्ता आकर्षित भए। उत्पादन बढ्यो। एप्पलको नाम व्यक्तिगत कम्प्युटर बजारमा स्थापित हुन थाल्यो।
तर, कम्पनीको तीव्र वृद्धि सँगसँगै अर्को समस्या पनि आउन थाल्यो।
जब्सको महत्वाकांक्षा कम्पनीको तत्कालीन बजार क्षमताभन्दा अगाडि दौडिन थालेको थियो।
सफल कम्पनीभित्र बढ्दै गएको द्वन्द्व
सन् १९७९ मा जब्सले जेरक्सको अनुसन्धान केन्द्रमा ग्राफिकल युजर इन्टरफेस र माउसमा आधारित कम्प्युटिङ प्रविधि देखे। यसले उनको सोचमा ठूलो परिवर्तन ल्यायो।
कम्प्युटरमा आदेश टाइप गर्नेभन्दा चित्र, मेनु र माउस प्रयोग गरेर काम गर्ने प्रणाली आम मानिसका लागि धेरै सहज हुन सक्छ भन्ने सम्भावना उनले देखे।
यही अनुभवपछि एप्पलले प्रयोगकर्ताको अनुभवलाई केन्द्रमा राखेर नयाँ कम्प्युटर विकास गर्ने दिशामा काम बढायो।
‘लिसा’ त्यही प्रयासको एउटा परिणाम थियो। तर लिसा महँगो थियो र बजारमा अपेक्षित सफलता हासिल गर्न सकेन। यसपछि जब्सको ध्यान म्याकिन्टोसतर्फ केन्द्रित भयो।
म्याकिन्टोस केवल एउटा नयाँ कम्प्युटर थिएन। जब्सका लागि यो कम्प्युटरको भविष्य कस्तो हुनुपर्छ भन्ने उनको दृष्टिकोणको अभिव्यक्ति थियो।
सन् १९८४ मा सार्वजनिक गरिएको म्याकिन्टोसको विज्ञापनले पनि यसको महत्वलाई झल्कायो। उत्पादन सार्वजनिक गर्ने शैली, प्रस्तुति र ब्रान्ड निर्माणमा जब्सले देखाएको ध्यान त्यतिबेलाको प्रविधि उद्योगमा असामान्य थियो।
तर, उत्कृष्ट प्रस्तुति मात्र पर्याप्त भएन। म्याकिन्टोसको मूल्य उच्च थियो। सफ्टवेयरको उपलब्धता सीमित थियो। बजारमा प्रतिस्पर्धा बढिरहेको थियो। एप्पलभित्रै व्यवस्थापन र नेतृत्वको विषयमा विवाद चर्किँदै गयो।
अन्ततः सन् १९८५ मा जब्स एप्पलबाट बाहिरिए। आफूले स्थापना गरेको कम्पनीबाट बाहिरिनु उनको जीवनको सबैभन्दा ठूलो व्यक्तिगत र व्यावसायिक धक्का थियो। तर यही असफलता उनको अर्को अध्यायको सुरुआत बन्यो।
एप्पलबाट निकालिए, तर सपना छाडेनन्
एप्पलबाट बाहिरिएपछि धेरै मानिसको व्यावसायिक यात्रा त्यहीँ समाप्त हुन सक्थ्यो। जब्सका लागि भने त्यो अर्को प्रयोगको सुरुआत बन्यो। उनले सन् १९८५ मा नेक्स्ट स्थापना गरे।
नेक्स्टले उच्चस्तरीय कम्प्युटर निर्माणमा ध्यान दियो। सन् १९८८ मा नेक्स्ट कम्प्युटर सार्वजनिक भयो। यसको प्रविधि उत्कृष्ट थियो। डिजाइन पनि आकर्षक थियो। तर मूल्य करिब ९ हजार ९५० अमेरिकी डलर भएकाले यसले ठूलो उपभोक्ता बजार पाउन सकेन।
व्यावसायिक रूपमा नेक्स्टको हार्डवेयर व्यवसाय सफल हुन सकेन। तर यसको एउटा अर्को मूल्य थियो।
नेक्स्टले विकास गरेको सफ्टवेयर र प्रविधि पछि एप्पलको पुनर्निर्माणमा निर्णायक बन्यो। जब्सले हार्डवेयरभन्दा बाहिर सफ्टवेयर र सञ्चालन प्रणालीको महत्व बुझ्दै गए। यता एप्पल भने जब्सबिना कठिन अवस्थामा पुगिरहेको थियो।
कम्पनीले नयाँ उत्पादन ल्याए पनि बजारमा पुरानो प्रभाव कायम राख्न संघर्ष गरिरहेको थियो। व्यक्तिगत कम्प्युटर बजारमा माइक्रोसफ्टको विन्डोज आधारित प्रणालीले ठूलो विस्तार गरिरहेको थियो।
एप्पलसँग आफ्नै सञ्चालन प्रणाली र हार्डवेयर थियो। तर यसको उच्च मूल्य र बन्द प्रकृतिले बजार विस्तारमा चुनौती थपिरहेको थियो।
१९९० को दशकको मध्यसम्म एप्पलको अवस्था गम्भीर बनिसकेको थियो। त्यसपछि कम्पनीले त्यही व्यक्तितर्फ फर्कनुपर्यो, जसलाई एक दशकअघि कम्पनीबाट बाहिरिएको थियो।
४० करोड डलरको सम्झौताले फर्कायो पुरानो नायक
सन् १९९६ को डिसेम्बरमा एप्पलले जब्सको नेक्स्ट कम्पनी करिब ४० करोड अमेरिकी डलरमा खरिद गर्यो। कागजमा यो एउटा कम्पनी खरिद थियो। तर एप्पलका लागि यसको अर्थ त्योभन्दा धेरै थियो।
नेक्स्टसँगको सम्झौतासँगै जब्स एप्पलमा फर्किए। सन् १९९७ मा गिल अमेलियोले प्रमुख कार्यकारी अधिकृत पद छाडेपछि जब्स कम्पनीको नेतृत्वमा प्रभावशाली भूमिकामा फर्किए।

अब उनको अगाडि एउटा ठूलो चुनौती थियो। एप्पलसँग सीमित समय, कमजोर वित्तीय अवस्था र धेरै उत्पादन थिए। तर बजारमा स्पष्ट पहिचान थिएन। जब्सले सबैभन्दा पहिले उत्पादनको भीड घटाए। धेरै उत्पादन बन्द गरिए। कम्पनीलाई केही प्रमुख उत्पादनमा केन्द्रित गरियो।
उनको सोच सरल थियो। सबैका लागि सबै कुरा बनाउने होइन, सही उत्पादन बनाउने। यही निर्णयले एप्पलको पुनर्गठन सुरु गर्यो।
आइम्याकले बदल्यो एप्पलको भाग्य
सन् १९९८ मा सार्वजनिक गरिएको आइम्याक एप्पलको पुनरागमनको प्रतीक बन्यो। त्यो समयका कम्प्युटरहरू प्रायः एउटै प्रकारका देखिन्थे। आइम्याक भने फरक डिजाइनमा आयो। प्रयोग गर्न सजिलो थियो। स्थापना प्रक्रिया सरल बनाइएको थियो। यसको बाहिरी रूपले पनि उपभोक्ताको ध्यान तान्यो।
आइम्याकको सफलता केवल बिक्रीमा सीमित थिएन। यसले एप्पलको ब्रान्डलाई पुनः परिभाषित गर्यो।
एप्पल अब केवल कम्प्युटर बनाउने कम्पनी रहेन। यसले डिजाइन, प्रयोगकर्ता अनुभव र ब्रान्डलाई एउटै उत्पादनमा जोड्न थाल्यो। जब्सको नेतृत्वमा एप्पलले एउटा महत्त्वपूर्ण व्यावसायिक सिद्धान्त स्थापित गर्यो।
उत्पादन बेच्नु मात्र पर्याप्त छैन। उपभोक्ताले उत्पादनसँग कस्तो अनुभव गर्छ भन्ने कुरा पनि उत्पादनकै हिस्सा हो। यही सोचले एप्पलको आगामी दशकलाई आकार दियो।
आइपोडले प्रविधि र संगीतलाई एउटै खल्तीमा पुर्यायो
सन् २००१ मा एप्पलले आइपोड सार्वजनिक गर्यो। त्यतिबेला डिजिटल सङ्गीत बजार अस्तव्यस्त थियो। मानिसहरू कम्प्युटरमा सङ्गीत राख्थे। विभिन्न उपकरण, फाइल ढाँचा र सङ्गीत डाउनलोड गर्ने जटिल प्रक्रियाले उपभोक्तालाई समस्या भइरहेको थियो।
एप्पलले समस्या केवल उपकरणबाट समाधान गर्न खोजेन। यसले उपकरण, सफ्टवेयर र सङ्गीत बिक्रीलाई एउटै प्रणालीमा जोड्यो।
आइट्युन्सले डिजिटल सङ्गीत व्यवस्थापनलाई सहज बनायो। पछि आइट्युन्स स्टोरमार्फत कानुनी रूपमा डिजिटल सङ्गीत खरिद गर्ने प्रणाली विस्तार भयो।
यसले एप्पलको व्यवसायिक मोडलमा ठूलो परिवर्तन ल्यायो। कम्पनीले एउटा उपकरण बेचेर मात्र आम्दानी गर्ने होइन, त्यस उपकरणसँग जोडिएको डिजिटल सामग्री र सेवा बजार पनि निर्माण गर्न सकिने देखायो।
आइपोडको सफलताले एप्पललाई कम्प्युटर कम्पनीबाट उपभोक्ता प्रविधि कम्पनीतर्फ अघि बढायो। तर जब्सको सबैभन्दा ठूलो व्यावसायिक प्रयोग अझै बाँकी थियो।
आइफोन : एउटा उत्पादन होइन, पूरा उद्योग परिवर्तन गर्ने कदम
सन् २००७।
स्टिभ जब्स मञ्चमा आए।
उनले एउटा नयाँ उपकरण सार्वजनिक गरे, जसले मोबाइल फोन, आइपोड र इन्टरनेट सञ्चारलाई एउटै उपकरणमा जोड्यो।
त्यो थियो आइफोन।
आइफोन आउनुअघि पनि मोबाइल फोन थिए। स्मार्टफोन पनि थिए। टचस्क्रिन प्रविधि पनि नयाँ थिएन। तर एप्पलले यी सबैलाई फरक ढंगले जोड्यो। ठूलो भौतिक किबोर्डको सट्टा टचस्क्रिनलाई केन्द्रमा राखियो। इन्टरनेट ब्राउजिङ, सङ्गीत, फोन र मल्टिमिडियालाई एउटै उपकरणमा समेटियो।
पछि एप स्टोरको विकाससँगै आइफोन एउटा उपकरणभन्दा ठूलो डिजिटल मञ्च बन्यो। यसले मोबाइल उद्योगको प्रतिस्पर्धा बदल्यो।
सफ्टवेयर विकासकर्ताका लागि नयाँ बजार खुल्यो। अनुप्रयोग अर्थतन्त्र विस्तार भयो। मोबाइल विज्ञापन, मोबाइल भुक्तानी, डिजिटल सामग्री र विभिन्न प्रकारका सेवाहरूको विकास तीव्र भयो।
आइफोनले एप्पलको आम्दानीको संरचना पनि परिवर्तन गर्यो। कम्प्युटरमा केन्द्रित कम्पनी अब मोबाइल उपकरणको विश्व बजारमा प्रमुख शक्ति बन्यो। यसपछि आइफोनको प्रत्येक नयाँ पुस्ता आफैंमा एउटा विश्वव्यापी प्रविधि घटना बन्न थाल्यो।
जब्सको सबैभन्दा ठूलो आविष्कार उत्पादनभन्दा बाहिर थियो
स्टिभ जब्सलाई प्रायः आइफोन, आइपोड वा म्याकसँग जोडेर सम्झिन्छौं। तर उनको सबैभन्दा प्रभावशाली योगदान केवल कुनै एउटा उत्पादन थिएन।
उनले प्रविधि कम्पनीले उत्पादन विकास गर्ने तरिका नै परिवर्तन गरे। हार्डवेयर, सफ्टवेयर, सञ्चालन प्रणाली, डिजाइन, सामग्री वितरण र खुद्रा बिक्रीलाई एउटै अनुभवमा जोड्ने रणनीति एप्पलको पहिचान बन्यो।
एप्पलले आफ्ना उत्पादनको हार्डवेयर मात्र नियन्त्रण गरेन। त्यसमा चल्ने सफ्टवेयर पनि आफैं विकास गर्यो। पछि डिजिटल सामग्री र सेवामा पनि आफ्नो नियन्त्रण विस्तार गर्यो।
यसलाई ठाडो एकीकरणको व्यवसायिक रणनीतिका रूपमा बुझ्न सकिन्छ। यसले एप्पललाई प्रयोगकर्ताको अनुभवमा उच्च स्तरको नियन्त्रण दियो।
जब्सले उत्पादनको संख्या बढाउनुभन्दा सीमित उत्पादनलाई अत्यन्त ध्यान दिएर विकास गर्ने रणनीति अपनाए। यो रणनीति परम्परागत उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगभन्दा फरक थियो। जहाँ धेरै कम्पनीहरू बजारको हरेक वर्गका लागि फरक उत्पादन ल्याउने प्रयास गर्थे, एप्पलले सीमित उत्पादनमार्फत उच्च ब्रान्ड मूल्य निर्माण गर्यो।
डिजाइनलाई खर्च होइन, व्यवसायिक सम्पत्तिका रूपमा हेर्ने दृष्टिकोण
जब्सको नेतृत्वमा एप्पलको अर्को विशिष्ट पक्ष डिजाइन बन्यो। उनका लागि डिजाइन उत्पादनको बाहिरी रूप मात्र थिएन। उत्पादन कसरी खोलिन्छ, कसरी चलाइन्छ, कति सजिलै बुझिन्छ र प्रयोगकर्ताले त्यससँग कस्तो अनुभव गर्छ भन्ने सबै डिजाइनको हिस्सा थियो।
यही कारण एप्पलका उत्पादनको मूल्य निर्धारणमा पनि ब्रान्डको ठूलो भूमिका रह्यो। सस्तो विकल्प बजारमा उपलब्ध हुँदाहुँदै पनि एप्पलले आफ्ना उत्पादनलाई प्रिमियम श्रेणीमा राख्न सक्यो।
प्रिमियम मूल्यले उच्च आम्दानीको आधार तयार गर्यो। उच्च आम्दानीले अनुसन्धान, विकास, डिजाइन र नयाँ प्रविधिमा थप लगानी गर्ने क्षमता बढायो।
यसरी ब्रान्ड, डिजाइन, मूल्य र प्रयोगकर्ता अनुभव एकअर्कासँग जोडिए। एप्पलको व्यवसायिक शक्ति यही संयोजनमा विस्तार हुँदै गयो।
असफलता पनि जब्सको यात्राको महत्वपूर्ण हिस्सा
स्टिभ जब्सको कथा केवल सफलताको कथा होइन। लिसा असफल भयो।
एप्पल थ्री अपेक्षित रूपमा सफल हुन सकेन। म्याकिन्टोसले प्रारम्भिक चरणमा अपेक्षित बजार प्राप्त गर्न संघर्ष गर्यो। जब्स स्वयं आफ्नै कम्पनीबाट बाहिरिनुपर्यो। नेक्स्टको हार्डवेयर व्यवसायले ठूलो बजार लिन सकेन।
तर प्रत्येक असफलताले उनको रणनीतिमा नयाँ तह थप्यो। एप्पलबाट बाहिरिएपछि उनले नेतृत्व, उत्पादन र बजारबारे नयाँ अनुभव पाए। नेक्स्टले उनलाई सफ्टवेयरको महत्व बुझायो। एप्पलमा फर्किएपछि उनले अनावश्यक उत्पादन घटाउने निर्णय गरे।
त्यसपछि आइम्याक, आइपोड र आइफोन आए। यस अर्थमा जब्सको पुनरागमन केवल एउटा व्यक्तिको कम्पनीमा फर्किने घटना थिएन। यो असफलताबाट सिकेर व्यवसायलाई पुनः डिजाइन गर्ने प्रक्रिया थियो।
स्वास्थ्य सङ्कटबीच अन्तिम वर्ष
स्टिभ जब्सको व्यावसायिक जीवनको सबैभन्दा सफल चरणसँगै उनको व्यक्तिगत जीवनमा गम्भीर स्वास्थ्य चुनौती पनि थपियो।
सन् २००३ मा उनलाई अग्न्याशयसँग सम्बन्धित न्युरोएन्डोक्राइन ट्युमर भएको पुष्टि भयो। सन् २००४ मा उनले शल्यक्रिया गराए। तर स्वास्थ्य अवस्था क्रमशः जटिल बन्दै गयो। त्यसका बाबजुद उनी एप्पलको महत्वपूर्ण उत्पादन विकास र सार्वजनिक प्रस्तुतीकरणमा सक्रिय रहे।
आइफोन, आइप्याड र अन्य उत्पादनको विकासमा उनको प्रभाव कायम रह्यो।
सन् २०११ को अगस्टमा उनले एप्पलको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिए। त्यसपछि टिम कुकले कम्पनीको नेतृत्व सम्हाले। सन् २०११ को अक्टोबर ५ मा स्टिभ जब्सको निधन भयो।
उनको उमेर ५६ वर्ष थियो। तर त्यसअघि नै उनले एप्पलको नेतृत्वको अर्को पुस्ता तयार गरिसकेका थिए।
जब्सपछि पनि रोकिएन एप्पल
स्टिभ जब्सको निधनपछि एउटा प्रश्न उठेको थियो। एप्पल उनको अनुपस्थितिमा पनि उही गतिमा अघि बढ्न सक्छ?
त्यसपछि टिम कुकको नेतृत्वमा एप्पलले आफ्नो व्यवसायलाई अझ ठूलो स्तरमा विस्तार गर्यो। आइफोन कम्पनीको सबैभन्दा महत्वपूर्ण उत्पादनमध्ये रहिरह्यो। त्यससँगै एप्पल वाच, एयरपड्स, आइप्याड, म्याक र विभिन्न डिजिटल तथा सदस्यता सेवाहरू विस्तार भए।
यसले एउटा अर्को तथ्य देखायो। जब्सले एप्पललाई केवल आफ्नै व्यक्तिगत करिश्मामा निर्भर कम्पनी बनाएका थिएनन्। उनले उत्पादन विकास, डिजाइन, आपूर्ति प्रणाली, ब्रान्ड र प्रयोगकर्ता अनुभवलाई संस्थागत प्रक्रियामा रूपान्तरण गर्ने आधार तयार गरेका थिए।
यही कारण उनको निधनपछि पनि कम्पनीले नयाँ उत्पादन र सेवा विस्तार गर्न सक्यो। आज एप्पलको व्यवसाय केवल आइफोनमा सीमित छैन।
हार्डवेयरसँगै डिजिटल सेवा, एप वितरण, सङ्गीत, भिडियो, क्लाउड, भुक्तानी, पहिरनयोग्य उपकरण र अन्य प्रविधि क्षेत्रमा कम्पनीको उपस्थिति विस्तार भएको छ।
आइफोन १८ सम्म आइपुग्दा जब्सको विरासत
आज आइफोनको नयाँ पुस्ता सार्वजनिक हुँदा विश्वभर यसको चर्चा हुन्छ।
नयाँ क्यामेरा कस्तो छ? प्रोसेसर कति शक्तिशाली छ? ब्याट्री कति टिक्छ? डिजाइनमा के परिवर्तन भयो? कृत्रिम बौद्धिकता कति समावेश भयो?
यी प्रश्नले एउटा उत्पादनको बजार प्रभाव मात्र देखाउँदैनन्। यसले एप्पलले निर्माण गरेको ब्रान्ड शक्तिलाई पनि देखाउँछ।
स्टिभ जब्सले सुरु गरेको कम्पनी आज उनको समयभन्दा धेरै ठूलो व्यवसायमा परिणत भएको छ। तर एप्पलको आजको आकार बुझ्न यसको सुरुआततर्फ फर्किनुपर्छ। दुई युवा, सीमित पूँजी, एउटा ग्यारेज र एउटा कम्प्युटरको सपना।
त्यसपछि एप्पल टू। लिसाको असफलता। म्याकिन्टोस। कम्पनीबाट निष्कासन। नेक्स्टको स्थापना। एप्पलमा पुनरागमन। आइम्याक। आइपोड। आइफोन।
र त्यसपछि विश्व प्रविधि उद्योगको संरचनामै आएको परिवर्तन।
यो यात्रा कुनै सीधा सफलताको रेखा थिएन। यसमा जोखिम थियो। गल्ती थियो। असफलता थियो। पुनः प्रयास थियो। बजार बुझ्ने प्रयास थियो। र सबैभन्दा महत्वपूर्ण कुरा, प्रयोगकर्ताले प्रविधिलाई कसरी अनुभव गर्छ भन्ने विषयमा निरन्तर ध्यान थियो।
ग्यारेजको त्यो सोच अझै जीवित छ
स्टिभ जब्स आज संसारमा छैनन्। तर उनले स्थापित गरेको एउटा सोच अझै प्रविधि उद्योगमा प्रभावशाली छ।
ठूलो परिवर्तन सधैं ठूलो स्रोतबाट सुरु हुँदैन।
कहिलेकाहीँ एउटा सानो समूहले ठूलो समस्यालाई फरक ढंगले हेर्नु नै पर्याप्त हुन्छ। एप्पलको कथा यही अर्थमा एउटा कम्पनीको कथा मात्र होइन। यो उत्पादन र बजारबीचको सम्बन्ध कसरी बदल्न सकिन्छ भन्ने उदाहरण पनि हो।
जब्सले प्रविधिलाई केवल इन्जिनियरको विषय बनाएनन्। उनले त्यसलाई डिजाइन, कला, व्यवसाय र उपभोक्ता अनुभवसँग जोडिदिए। उनको सफलताको सबैभन्दा ठूलो आधार सायद यही थियो।
उनले मानिसलाई प्रविधि बेच्ने प्रयास गरेनन्। उनले मानिसको दैनिक जीवनमा प्रविधिको भूमिका नै परिवर्तन गर्ने प्रयास गरे। त्यसैले एप्पलको यात्रा ग्यारेजबाट सुरु भएर आइफोन १८ सम्म आइपुग्दा पनि समाप्त भएको छैन।
ग्यारेजमा सुरु भएको त्यो सानो प्रयोग आज विश्वव्यापी प्रविधि उद्योगको एउटा शक्तिशाली अध्याय बनेको छ। र स्टिभ जब्सको कथा एउटा कुरा सम्झाइरहन्छ—व्यवसायमा असफलता अन्तिम बिन्दु होइन। सही समयमा सिक्न सकियो, सोच बदल्न सकियो र नयाँ अवसर पहिचान गर्न सकियो भने त्यही असफलता अर्को ठूलो सफलताको आधार बन्न सक्छ।
एप्पलको इतिहासमा जब्सको सबैभन्दा ठूलो विरासत कुनै एउटा आइफोन, कम्प्युटर वा सङ्गीत उपकरण होइन। त्यो विरासत हो—मानिसले प्रविधिलाई हेर्ने दृष्टिकोण बदल्ने क्षमता।
