काठमाडौँ। बाढीका कारण क्षति पुगेका त्रिशूली-मुग्लिन करिडोरका २० वटा झोलुङ्गे पुल एक महिनाभित्र सञ्चालनमा ल्याउने गरी सरकारले मर्मत कार्यलाई तीव्रता दिएको छ। यीमध्ये ६ वटा पुलको मर्मत आगामी १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
बाढीले पुलका फलामे लठ्ठा सुरक्षित राखे पनि मानिस हिँड्ने डेक बगाएको थियो। नयाँ डेक खरिदका लागि भदौ २२ गते नै निर्माण कम्पनीहरूसँग सम्झौता भइसकेको छ। सम्झौताअनुसार कम्पनीहरूले १० दिनभित्र डेक उत्पादन गरी हस्तान्तरण गर्नेछन्।
स्थानीय पूर्वाधार विकास विभागका प्राविधिकहरूले हाल कार्यक्षेत्रमै खटिएर लठ्ठा व्यवस्थापन गरिरहेका छन्। बाँकी १४ वटा पुल पनि एक महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। रसुवादेखि मुग्लिनसम्मको प्रभावित क्षेत्रमा कुल ६४ वटा झोलुङ्गे पुल सञ्चालनमा थिए।
मर्मतबाहेक थप ३३ वटा पुलको पुनःनिर्माण गर्नुपर्ने देखिएको छ। यसका लागि आवश्यक सामग्री खरिद गर्न सरकारले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिसकेको छ, जुन असोज ५ गते खोलिनेछ।
