काठमाडौं: नेपालीहरूको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गर्दै यस वर्ष ६४ करोड ५० लाख रुपियाँ बराबरको फूलको कारोबार हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार तिहारमा माला, सयपत्रीका बोट तथा गोदावरीका गमलाको बिक्रीबाट उक्त आर्थिक गतिविधि हुने अपेक्षा गरिएको हो।
एशोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार यस वर्ष करिब ५१ लाख ८० हजार माला खपत हुने अनुमान छ। यसमा सयपत्रीको ४५ लाख, मखमलीको ६ लाख, गोदावरीको २० हजार र अन्य मिश्रित फूलका ६० हजार माला समावेश छन्। सयपत्री फूलको मात्र ४० करोड ५० लाख रुपियाँ बराबरको कारोबार हुने प्रक्षेपण गरिएको छ। गत वर्ष करिब ४० लाख सयपत्री माला बिक्री भएको थियो। असोज महिनाको अविरल वर्षाले केही स्थानमा क्षति पुर्याए पनि देशभरबाट ४० लाख माला आपूर्ति हुने एशोसिएसनको भनाइ छ।
मखमली फूलको उत्पादनमा नेपाल आत्मनिर्भर रहेको छ। यस वर्ष ६ लाख मखमली मालाको कारोबार हुने अनुमान गरिएको छ, जसमध्ये २ लाख माला विदेश निर्यात हुनेछ। यसबाट २ करोड ७० लाख रुपियाँ आम्दानी हुने अपेक्षा छ। त्यस्तै, गोदावरी मालाबाट २ करोड ४० लाख र मिश्रित मालाबाट २ करोड ४० लाख रुपियाँको कारोबार हुने अनुमान छ।
मालाबाहेक घर तथा कार्यालय सजाउन प्रयोग हुने फूलका बोट र गमलाको बजार पनि ठूलो छ। ३५ लाख सयपत्रीको पोली र ८ लाख गोदावरीका गमलाको बिक्रीबाट १६ करोड ५० लाख रुपियाँको कारोबार हुने देखिएको छ। देशभर २२५ हेक्टरभन्दा बढी क्षेत्रमा सयपत्रीको व्यावसायिक खेती भइरहेको छ। अध्यक्ष श्रेष्ठले भारतीय फूलसँग प्रतिस्पर्धा गर्न स्वदेशी उत्पादनको लागत र गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। काठमाडौं महानगरपालिकाले फूल बिक्रीका लागि ३४ स्थान निर्धारण गरेको छ।
