काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। दिनभरको उतारचढावका बीच बजार २.६४ अङ्कले बढेर २६५५.२२ बिन्दुमा पुगेर बन्द भएको छ।
कारोबारको मध्याह्नतिर २६६२ बिन्दुसम्म पुगेको परिसूचक त्यसपछि केही ओरालो लागे पनि अन्तिम समयमा सम्हालिँदै सकारात्मक अवस्थामा बन्द भएको हो। आज कुल ३३६ वटा स्क्रिप्सको किनबेच भएको छ। दिनभरमा ३३ हजार २१५ वटा कारोबारमार्फत १ करोड ७ लाख कित्ता सेयर खरिद बिक्री हुँदा कुल ३ अर्ब ४६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
बजारमा आज १५८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ वटा कम्पनीको मूल्य घटेको छ। १४ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ। कारोबार भएका अधिकांश उपसमूहमा सुधार देखिए पनि अन्य समूहमा भने सामान्य गिरावट आएको छ।
सर्वाधिक कमाउने कम्पनीको सूचीमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ, जसको सेयर मूल्य १४.०८ प्रतिशतले बढेर प्रतिकित्ता ११९२ रुपैयाँ पुगेको छ। अन्य कम्पनीहरूको मूल्यमा भएको वृद्धि एकल अङ्कमा सीमित छ। कारोबार रकमका आधारमा भने घोराही सिमेन्ट अग्रस्थानमा रहेको छ। कम्पनीको २१ करोड ६३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।
