काठमाडौं। अध्यागमन विभागले नेपाली नागरिकको अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण अब नागरिक एपमार्फत नै उपलब्ध गराउने व्यवस्था लागू गरेको छ। विभागले एक सूचना जारी गर्दै सेवालाई थप प्रविधिमैत्री र व्यवस्थित बनाउन यस्तो सुविधा ल्याएको जानकारी दिएको हो।
यसअघि विदेश भ्रमणको विवरण प्राप्त गर्न सेवाग्राहीहरू विभागको कार्यालयमै भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता थियो। यस प्रक्रियाले सेवाग्राहीलाई झन्झट हुनुका साथै विभागमा कार्यबोझ पनि बढाएको थियो। अब भने नागरिक एपमा आफ्नो राहदानी लिङ्क गरेपछि घरबाटै विवरण हेर्न र डाउनलोड गर्न सकिनेछ।
विभागका अनुसार नागरिक एपभित्र रहेको अध्यागमन शीर्षकअन्तर्गत भ्रमण विवरणमा गएर सम्बन्धित व्यक्तिले आफ्नो जानकारी लिन सक्नेछन्। यस व्यवस्थामा सम्बन्धित व्यक्तिको लिङ्क भएको राहदानीको विवरण मात्र प्राप्त हुने भएकाले व्यक्तिगत गोपनीयता पूर्ण रूपमा सुरक्षित रहने विभागले जनाएको छ।
यो नयाँ सेवाको सुरुवातसँगै सेवाग्राहीको समय र लागतको बचत हुने तथा सेवा प्रवाह थप छिटो र प्रभावकारी हुने विश्वास लिइएको छ। साथै, विभागले यात्रा विवरण माग गर्ने व्यक्ति तथा संस्थालाई नागरिक एपबाट प्राप्त विवरणलाई नै आधिकारिक स्रोतका रूपमा स्वीकार गर्न अनुरोध गरेको छ।
