काठमाडौं। वर्षायाम सकिएसँगै अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थालेको छ। पछिल्लो दुई सातायता पदमार्गमा पर्यटकको चहलपहल बढेपछि स्थानीय व्यवसायी उत्साहित भएका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) धारापानी पर्यटक जाँच तथा सूचना केन्द्रका अनुसार अघिल्लो साता करिब १५० जना पर्यटकले उक्त पदमार्ग प्रवेश गरेकोमा पछिल्लो साता यो संख्या बढेर ३०० पुगेको छ।
केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार मुख्य सिजनमा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने गरे पनि वर्षायाममा यो संख्या निकै कम हुने गर्दछ। भदौ महिनामा हालसम्म ६१४ जना पर्यटक धारापानी चेकपोस्ट हुँदै प्रवेश गरेका छन्।
जसमध्ये ९९ जना सार्क राष्ट्रका र ५१५ जना गैरसार्क राष्ट्रका रहेका छन्। गुरुङले विशेषगरी मनास्लु हिमाल आरोहण तथा पदयात्राका लागि आउने पर्यटकको संख्यामा वृद्धि भएको जानकारी दिए।
धारापानी चेकपोस्टको तथ्याङ्कअनुसार सन् २०२६ जनवरी १ देखि सेप्टेम्बर ६ सम्म २० हजार ९१७ जना पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्। बेसीशहरबाट सुरु भई मनाङ, थोराङ्ला भञ्ज्याङ हुँदै मुस्ताङ पुग्ने यो पदमार्ग पाँच जिल्लाको प्राकृतिक तथा सांस्कृतिक विविधताका कारण पर्यटकको रोजाइमा पर्दै आएको छ।
मस्र्याङ्दी गाउँपालिका-४ च्याम्चेका पर्यटन व्यवसायी बाबुराम तामाङले असोज र कात्तिक महिनामा पर्यटकको चाप अझ बढ्ने अपेक्षा गरिएको बताए।
उनका अनुसार मुख्य सिजनमा दैनिक ४० देखि ५० हजार रुपियाँसम्मको कारोबार हुने गर्दछ। पदमार्गको बाटोघाटो सुधारमा ध्यान दिन सके पर्यटकलाई थप सुविधा पुग्ने व्यवसायीको भनाइ छ।
अन्नपूर्ण पदमार्गमा असोजदेखि मङ्सिरसम्मलाई मुख्य पर्यटन सिजन मानिन्छ। दशैँ र तिहारको समयमा पदयात्रीको आगमन अझ बढ्ने भएकाले सुस्ताएको पर्यटन व्यवसायले गति लिने व्यवसायीहरूको विश्वास छ।
