सर्लाही। उत्तरी चुरेभेगस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका-१२, घारिबथानमा खानेपानीको चरम अभाव भएको छ। तीन दिनअघि बाँके खोलामा आएको बाढीले खानेपानीको पाइप बगाएपछि स्थानीय मर्कामा परेका हुन्। खोलाको जरुवा पानी पाइपमार्फत ल्याएर उपभोग गर्दै आएका स्थानीय अहिले पानीको जोहो गर्न भौतारिन बाध्य छन्।
स्थानीय सन्तोष खड्काका अनुसार पाइप मर्मतका लागि आइतबार बिहानदेखि प्रतिघरधुरी १०० रुपियाँ संकलन गरिएको छ। खड्काले भन्नुभयो, “तीजका बेला सबैको घरघरमा पाहुना हुनुहुन्छ तर यही बेला खानेपानी नभएर असाध्य समस्या परेको छ।”
स्थानीय शान्तिमाया थिङले धारामा पानी सुकेपछि धमिलो पानी पिउनुपर्ने बाध्यता रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “बाढी आएर अहिले जताततैको पानी धमिलो छ तर बाध्यताले त्यही धमिलो पानी नै पिउनु परिरहेको छ।” धमिलो पानी पिउँदा घाँटी दुख्ने जस्ता समस्या देखिएको स्थानीयको गुनासो छ। अहिले गाउँमा पानीको खोजीमा साइकल, मोटरसाइकल र ट्याक्टरको प्रयोग बढेको छ। पिउने पानीदेखि सरसफाइ र वस्तुभाउलाई खुवाउने पानीको समेत अभाव भएको छ।
ईश्वरपुर नगरपालिका-१२ का वडाध्यक्ष देविबहादुर खत्रीले बाढीले बिगारेको संरचना मर्मतका लागि आइतबार दिउँसो नगरपालिकाबाट जेसिबी मगाइएको जानकारी दिनुभयो। उहाँका अनुसार बाँके खोलाको बाढीले पाइप बगाउँदा नयाँटोल, पाँचनम्बर, सुकेपुर, चाकलटोल, आँपबोटे र स्कुलटोललगायतका बस्तीका करिब ७०० घरधुरी प्रभावित भएका छन्। घारिबथानमा खानेपानीको समस्या समाधान गर्न विभिन्न सरकारी तथा गैर-सरकारी निकायबाट बर्सेनि करोडौँ रुपियाँ खर्चिए पनि दिगो समाधान हुन सकेको छैन।
