काठमाडौं । भोटेकोशी बाढी प्रभावित परिवारलाई सरकारले स्थायी आवास निर्माण नभएसम्म मासिक १५ हजार रुपैयाँ आवास भाडावापत दिने भएको छ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। ४ जनाभन्दा बढी सदस्य भए थप प्रत्येक सदस्यका लागि २ हजार रुपैयाँ थप दिइनेछ।
यदि कुनै परिवारले भाडावापतको रकम लिन नचाहेमा सरकारले स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्पसमेत दिएको छ।
यसका लागि आवश्यक विवरण संकलन गर्न सम्बन्धित सबै स्थानीय तहमा फाराम पठाइसकिएको सरकारले जनाएको छ।
सरकारले प्रारम्भिक क्षति तथा नोक्सानीको मूल्याङ्कन सम्पन्न गरिसकेको छ। विस्तृत आवश्यकता मूल्याङ्कन (पीडीएनए) को प्रक्रिया भने जारी छ।
पीडीएनएको आधारमा आवश्यक स्रोत सुनिश्चित गरी पुनर्निर्माण तथा पुनर्स्थापनाको काम तीव्र बनाइने सरकारले जनाएको छ। रसुवा, नुवाकोटसहित बाढी प्रभावित सबै क्षेत्रमा नागरिकको सुरक्षित पुनर्स्थापना, पूर्वाधार पुनर्निर्माण र जीवनयापन सहज बनाउन सरकार प्रतिबद्ध रहेको बताइएको छ।
