आधुनिक कर्पोरेट संसारमा कम्पनी जन्मिन्छन्, तीव्र गतिमा बढ्छन्, बजार कब्जा गर्छन् र समयसँगै हराउँछन्।
केही कम्पनी पुस्ता परिवर्तनसँगै कमजोर हुन्छन्, केही प्रविधिको परिवर्तनसँगै आफ्नो पहिचान गुमाउँछन् र केही प्रतिस्पर्धाको भीडमा हराएर जान्छन्। तर, संसारको व्यापारिक इतिहासमा यस्ता केही नाम छन्, जसले समयलाई पछ्याउने मात्र होइन, समयसँगै आफूलाई पुनः परिभाषित गर्न सफल भएका छन्।
डाबर त्यही सूचीमा पर्ने एउटा विरलै देखिने व्यावसायिक कथा हो।
१८८४ मा भारतको कलकत्ताबाट सुरु भएको डाबर आज आयुर्वेदको परम्परागत ज्ञान, आधुनिक विज्ञान, उपभोक्ता व्यवहार र विश्वव्यापी वितरण प्रणालीलाई एउटै व्यवसायिक संरचनामा जोडेर अघि बढेको बहुराष्ट्रिय कम्पनी बनेको छ।
एउटा चिकित्सकले सामान्य मानिसका लागि सस्तो र प्रभावकारी उपचार उपलब्ध गराउने उद्देश्यले सुरु गरेको सानो प्रयास कसरी हजारौँ करोड रुपैयाँको कारोबार गर्ने उपभोक्ता वस्तु कम्पनीमा बदलियो भन्ने कथा आफैँमा एउटा व्यापारिक पाठ हो।
डाबर इन्डिया लिमिटेडका अनुसार कम्पनीले १८८४ मा आयुर्वेदिक औषधि व्यवसायका रूपमा यात्रा सुरु गरेको थियो।
अहिले यसको उत्पादन १२० भन्दा बढी देशमा पुग्छन्। कम्पनीको उत्पादन दायरामा स्वास्थ्य, कपाल, मुखको हेरचाह, छाला, घरायसी सामग्री तथा खाद्य तथा पेय पदार्थसम्मका क्षेत्र समेटिएका छन्।
पछिल्लो वार्षिक विवरणअनुसार आर्थिक वर्ष २०२५/२६ मा कम्पनीको सञ्चालनबाट भएको आम्दानी १३ हजार १९२ करोड ६० लाख भारतीय रुपैयाँ पुगेको छ। सोही वर्ष खुद नाफा करिब १ हजार ८६९ करोड भारतीय रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।
तर, यो आकार कुनै एक पुस्ताको उपलब्धि होइन। यसको पछाडि करिब डेढ शताब्दी लामो निरन्तरता, पारिवारिक स्वामित्वबाट व्यावसायिक व्यवस्थापनतर्फको रूपान्तरण, अनुसन्धानमा लगानी, ब्रान्ड निर्माण, वितरण विस्तार र बदलिँदो उपभोक्ता आवश्यकतालाई बुझेर व्यवसायको दिशा परिवर्तन गर्ने क्षमता जोडिएको छ।
एउटा चिकित्सकको सानो सपना
डाबरको कथा कुनै विशाल उद्योग वा ठूलो पुँजीबाट सुरु भएको थिएन। यसको सुरुवात डा. एसके बर्मनबाट भएको थियो। बर्मनको उद्देश्य तत्कालीन समयमा सामान्य मानिसले सहज रूपमा उपचार पाउन नसकेको अवस्थालाई सम्बोधन गर्नु थियो। उनले आयुर्वेदिक ज्ञान र प्राकृतिक सामग्रीमा आधारित औषधि तयार पार्ने काम सुरु गरे।
त्यतिबेला भारतमा स्वास्थ्य सेवा अहिलेको जस्तो व्यवस्थित थिएन। ग्रामीण र आर्थिक रूपमा कमजोर समुदायका मानिसका लागि उपचार पहुँचको विषय ठूलो समस्या थियो।
डाबरको आधिकारिक इतिहासअनुसार बर्मनले सहरदेखि टाढाका गाउँसम्म पुगेर मानिसलाई सस्तो र प्रभावकारी उपचार उपलब्ध गराउने उद्देश्य राखेका थिए। हैजा, मलेरिया र प्लेगजस्ता रोगको उपचारका लागि प्राकृतिक औषधि तयार गर्ने उनको प्रयासले बिस्तारै मानिसको विश्वास जित्दै गयो।
बिरामीहरूबीच उनी ‘डाक्टर बर्मन’का रूपमा परिचित हुँदै गए। औषधिको प्रभावकारिता र उनको सेवाभावले व्यवसायको आधार तयार गर्यो। डाबरको नामसमेत बर्मनको चिकित्सकीय पहिचानसँग जोडिएको छ। कम्पनीका अनुसार ‘डाबर’ नाम ‘डाक्टर बर्मन’को उच्चारणबाट विकसित भएको हो।
यहीँबाट डाबरको पहिलो व्यावसायिक पाठ देखिन्छ। कम्पनीले बजारमा उत्पादन बेच्नुभन्दा पहिला विश्वास बेच्यो। उत्पादनको पछाडि एउटा व्यक्तिको ज्ञान, सेवा र विश्वसनीयता जोडियो। यही विश्वास पछि ब्रान्डको सबैभन्दा ठूलो सम्पत्तिमा परिणत भयो।
१८८४ मा सुरु भएको त्यो सानो आयुर्वेदिक व्यवसाय केही वर्षमै विस्तारको बाटोमा लाग्यो। कम्पनीको आधिकारिक इतिहासअनुसार उत्पादनको माग बढ्दै गएपछि १८९६ मा उत्पादन केन्द्र स्थापना गरिएको थियो। सानो औषधालयबाट उत्पादन प्रणालीतर्फको यो परिवर्तन डाबरको पहिलो ठूलो व्यावसायिक विस्तार थियो।
परम्परादेखि विज्ञानसम्मको यात्रा
डाबरका लागि सबैभन्दा ठूलो चुनौती आयुर्वेदलाई आधुनिक बजारसँग जोड्नु थियो। परम्परागत उपचार पद्धतिमा आधारित उत्पादनले आधुनिक उपभोक्ताको विश्वास जित्न वैज्ञानिक परीक्षण, गुणस्तर र उत्पादनको स्थिरता आवश्यक थियो। डाबरले विस्तारै यही क्षेत्रमा आफ्नो लगानी बढाउँदै गयो।
बीसौँ शताब्दीको सुरुवातसँगै कम्पनीले परम्परागत ज्ञानमा आधारित औषधिको उत्पादनलाई वैज्ञानिक प्रक्रिया र यान्त्रिक उत्पादनसँग जोड्ने प्रयास अघि बढायो। यसले डाबरलाई सामान्य पारिवारिक औषधि व्यवसायबाट औद्योगिक उत्पादनतर्फ लैजान मद्दत गर्यो।
डाबरको इतिहासमा १९४० र १९४९ विशेष महत्त्वका वर्ष हुन्। कम्पनीको पुरानो वार्षिक प्रतिवेदनअनुसार १९४० मा डाबर आमला कपालको तेल बजारमा ल्याइएको थियो। त्यसपछि १९४९ मा च्यवनप्राशलाई ब्रान्डका रूपमा बजारमा विस्तारपूर्वक प्रस्तुत गरिएको थियो।
यी दुई उत्पादनले डाबरलाई औषधिको सीमित बजारबाट घरघरमा प्रयोग हुने उपभोक्ता उत्पादनतर्फ लैजान महत्वपूर्ण भूमिका खेले।
यही रणनीतिले डाबरको व्यापार मोडल बदल्यो। मानिस बिरामी भएपछि मात्र प्रयोग गर्ने औषधिभन्दा दैनिक जीवनमा प्रयोग हुने स्वास्थ्य र व्यक्तिगत हेरचाहका उत्पादनको बजार निकै ठूलो थियो। कम्पनीले यही सम्भावना पहिचान गर्यो।
च्यवनप्राश स्वास्थ्यसँग जोडियो। आमला कपालको तेल व्यक्तिगत हेरचाहसँग जोडियो। त्यसपछि कम्पनीले हाजमोला, मह, पुदिन हरा, दाँत माझ्ने सामग्री, स्याम्पु, खाद्य तथा पेय पदार्थलगायतका क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्यो।
आज डाबरको उत्पादन पोर्टफोलियोमा २५० भन्दा बढी आयुर्वेदिक तथा जडीबुटीमा आधारित उत्पादन रहेको कम्पनीले जनाएको छ।
यसरी डाबरले आयुर्वेदलाई एउटा निश्चित औषधि बजारमा सीमित राखेन। उसले आयुर्वेदलाई दैनिक उपभोगको बजारसँग जोड्यो। यही परिवर्तन कम्पनीको दीर्घकालीन विस्तारको आधार बन्यो।
परिवारबाट व्यावसायिक व्यवस्थापनसम्म
पारिवारिक व्यवसाय लामो समयसम्म टिकाउनु आफैँमा चुनौतीपूर्ण हुन्छ। पहिलो पुस्ताले सुरु गरेको व्यवसाय दोस्रो पुस्तामा पुग्दा स्वामित्वको प्रश्न आउँछ, तेस्रो पुस्तामा पुग्दा व्यवस्थापनको प्रश्न आउँछ र त्यसपछि संस्थागत संरचना नबनाए व्यवसाय कमजोर हुने जोखिम हुन्छ।
डाबरले यही चुनौतीलाई समयमै पहिचान गर्यो।
बर्मन परिवारले स्वामित्वको भूमिका कायम राख्दै व्यवस्थापनमा व्यावसायिक व्यक्तिहरूको सहभागिता बढाउँदै लग्यो।
कम्पनी आफैँले डाबरको सफलतामा पारिवारिक स्वामित्व र व्यावसायिक व्यवस्थापनको संयोजनलाई महत्वपूर्ण मान्दै आएको छ। बर्मन परिवारले दैनिक सञ्चालनमा प्रत्यक्ष संलग्नता घटाउँदै परिवार परिषद् र सञ्चालक समितिमार्फत स्वामित्व तथा रणनीतिक भूमिकालाई अघि बढाएको कम्पनीको विवरणमा उल्लेख छ।
यही परिवर्तन डाबरको इतिहासको महत्वपूर्ण मोड बन्यो। पारिवारिक व्यवसायको भावनात्मक नियन्त्रणभन्दा संस्थागत व्यवस्थापनलाई प्राथमिकता दिइयो। निर्णय प्रक्रिया व्यावसायिक बन्यो। अनुसन्धान, उत्पादन, बजार विस्तार, ब्रान्ड व्यवस्थापन र वित्तीय अनुशासनलाई छुट्टाछुट्टै संरचनाबाट अघि बढाइयो।
१९८६ मा डाबर सार्वजनिक लिमिटेड कम्पनी बन्यो। त्यसपछि १९९४ मा कम्पनीले पहिलो सार्वजनिक निष्कासन गर्यो।
कम्पनीको पुरानो वार्षिक विवरणअनुसार उक्त निष्कासन मागभन्दा २१ गुणाभन्दा बढी आवेदन परेको थियो। यो घटना डाबरको व्यवसायप्रति लगानीकर्ताको विश्वास विस्तार भएको महत्वपूर्ण संकेतका रूपमा कम्पनीको इतिहासमा दर्ज छ।
पारिवारिक स्वामित्वबाट सार्वजनिक कम्पनीतर्फको यात्रा केवल पुँजी जुटाउने प्रक्रिया थिएन। यो संस्थागत सुशासन, पारदर्शिता र व्यावसायिक उत्तरदायित्वतर्फको यात्रा पनि थियो।
औषधिबाट घरघरको ब्रान्डसम्म
डाबरको अर्को ठूलो सफलता उत्पादन विस्तारमा देखिन्छ। कम्पनीले आफ्नो मूल पहिचान आयुर्वेदमै राख्यो, तर व्यवसायलाई केवल आयुर्वेदिक औषधिमा सीमित गरेन।
कपालको तेल, दाँत माझ्ने सामग्री, स्वास्थ्यवर्धक उत्पादन, खाद्य तथा पेय पदार्थ, छालाको हेरचाह, घरायसी सामग्री र सरसफाइका उत्पादनसम्म कम्पनी पुग्यो। यही विविधीकरणले एउटै बजारमा निर्भर हुने जोखिम घटायो।
१९९६ मा रियल फलफूलको रस बजारमा ल्याउनु यसको महत्वपूर्ण उदाहरण हो।
आयुर्वेदिक औषधिको पुरानो पहिचान बोकेको कम्पनीले फलफूलको रसजस्तो नयाँ उपभोक्ता बजारमा प्रवेश गर्नु आफैँमा रणनीतिक परिवर्तन थियो। कम्पनीको इतिहासअनुसार रियललाई भारतीय खाद्य बजारमा नयाँ अवधारणाका रूपमा अघि बढाइएको थियो।
पछि रियल डाबरको महत्वपूर्ण ब्रान्डमध्ये एक बन्यो। पछिल्लो वार्षिक प्रतिवेदनअनुसार रियल १ हजार ५०० करोड भारतीय रुपैयाँभन्दा बढीको ब्रान्डको स्तरमा पुगेको छ। डाबर रेड, वाटिका र डाबर आमला पनि १ हजारदेखि १ हजार ५०० करोड भारतीय रुपैयाँको समूहमा रहेका ब्रान्डका रूपमा कम्पनीले उल्लेख गरेको छ।
यसले एउटा महत्वपूर्ण व्यावसायिक कुरा देखाउँछ। एउटा कम्पनी आफ्नो पुरानो पहिचानमा टिकेर मात्र ठूलो बन्न सक्दैन। पुरानो विश्वासलाई कायम राख्दै नयाँ बजार खोज्न सक्नुपर्छ। डाबरले यही गर्यो।
उसले आयुर्वेदलाई छोडेन, तर आयुर्वेदमा मात्र अड्किएन। परम्परालाई कायम राख्दै उत्पादनको स्वरूप बदल्यो। यही कारण च्यवनप्राशदेखि फलफूलको रससम्म एउटै कम्पनीको उत्पादन बन्न सके।
भारतबाट विश्व बजारसम्म
डाबरको अर्को ठूलो परिवर्तन भारतीय बजारबाट विश्व बजारतर्फको विस्तार हो।
आज कम्पनीका उत्पादन १२० भन्दा बढी देशमा पुग्छन्। मध्यपूर्व, अफ्रिका, दक्षिण एसिया, अमेरिका, युरोपलगायतका बजारमा डाबरका उत्पादनको उपस्थिति रहेको कम्पनीले जनाएको छ। अन्तर्राष्ट्रिय व्यवसायले पछिल्लो आर्थिक वर्षमा कम्पनीको कुल आम्दानीमा २७ प्रतिशत हिस्सा ओगटेको थियो।
विश्व बजारमा प्रवेश गर्दा कम्पनीले एउटा महत्वपूर्ण रणनीति अपनाएको देखिन्छ। ब्रान्डको मूल पहिचान एउटै राख्ने, तर स्थानीय बजारअनुसार उत्पादन र वितरणलाई अनुकूल बनाउने।
आज डाबरको उत्पादन प्रणाली भारतमा मात्र सीमित छैन। पछिल्लो वार्षिक विवरणअनुसार भारतबाहेक संयुक्त अरब इमिरेट्स, नेपाल, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका, नाइजेरिया, इजिप्ट र टर्कीसहित नौ देशमा उत्पादन सञ्जाल फैलिएको छ। कम्पनीका उत्पादन १२० भन्दा बढी देशमा पुगिरहेका छन्।
यस्तो विस्तारले डाबरलाई एउटा भारतीय आयुर्वेदिक कम्पनीबाट बहुराष्ट्रिय उपभोक्ता वस्तु कम्पनीमा रूपान्तरण गरेको छ।

यसको अर्थ डाबरले केवल उत्पादन निर्यात गरेको होइन। उसले उत्पादनसँगै आपूर्ति सञ्जाल, उत्पादन केन्द्र, अनुसन्धान, स्थानीय बजार बुझ्ने क्षमता र वितरण संरचना पनि विस्तार गरेको छ।
पछिल्लो आर्थिक वर्षमा कम्पनीले विश्वव्यापी रूपमा आपूर्ति सञ्जालमार्फत ६ लाख टनभन्दा बढी कच्चा तथा तयार सामग्रीको आवागमन व्यवस्थापन गरेको र ५ करोड ७० लाखभन्दा बढी तयार उत्पादनका पेटी बजारमा पठाएको जनाएको छ।
सुरुवातमा घरघर पुग्ने चिकित्सकको पहिचानबाट सुरु भएको डाबर आज करोडौँ उपभोक्ताको घरसम्म उत्पादन पुर्याउने जटिल विश्वव्यापी आपूर्ति प्रणालीमा पुगेको छ।
नेपालमा डाबरको अर्को अध्याय
डाबरको अन्तर्राष्ट्रिय यात्रामा नेपाल एउटा महत्वपूर्ण बजार र उत्पादन आधारका रूपमा देखिन्छ।
डाबर नेपालले १९९२ मा व्यावसायिक उत्पादन सुरु गरेको कम्पनीको पछिल्लो विवरणमा उल्लेख छ। त्यसयता नेपालमा स्वास्थ्य, खाद्य तथा पेय पदार्थ, घरायसी तथा व्यक्तिगत हेरचाहका उत्पादनमार्फत यसको बजार विस्तार भएको छ।
नेपालमा रियल फलफूलको रस, च्यवनप्राश, मह, वाटिका स्याम्पु, आमला कपालको तेल, रेड दाँत मञ्जन र हाजमोलाजस्ता उत्पादन घरघरमा परिचित नाम बनेका छन्। कम्पनीको नेपालसम्बन्धी विवरणले वीरगञ्जस्थित उत्पादन केन्द्रलाई महत्वपूर्ण आधारका रूपमा देखाउँछ।
तर नेपालमा डाबरको उपस्थिति उत्पादन र बिक्रीमा मात्र सीमित छैन। जडीबुटीको दीगो उत्पादन र स्थानीय समुदायसँगको सहकार्यमा पनि कम्पनीले कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कम्पनीका अनुसार नेपालमा ३ हजार १५९ परिवार जडीबुटी खेतीसँग जोडिएका छन् र ६९२ एकड क्षेत्रफलमा जडीबुटी तथा औषधीय वनस्पतिको खेती भइरहेको छ।
नेपालमै बनेपामा औषधीय वनस्पतिको बिरुवा उत्पादन तथा संरक्षणका लागि आधुनिक हरितगृह सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।
यसको अर्थ डाबरको नेपाल सम्बन्ध केवल उत्पादन बेच्ने सम्बन्धमा सीमित छैन। कच्चा पदार्थको स्रोत, किसान, स्थानीय उत्पादन, रोजगारी, बजार र निर्यातसम्म जोडिएको एउटा विस्तृत व्यावसायिक सञ्जाल नेपालमा तयार भएको छ।
डाबरका लागि नेपाल दक्षिण एसियाली बजारसँग जोडिने एउटा महत्वपूर्ण आधार पनि हो। कम्पनीको उत्पादन सञ्जालमा नेपाललाई उत्पादन केन्द्रका रूपमा समेटिनुले यसको क्षेत्रीय रणनीतिक महत्त्व देखाउँछ।
विज्ञान, प्रविधि र बदलिँदो उपभोक्ता
डाबरको सफलताको अर्को पक्ष यसको अनुसन्धानमा रहेको लगानी हो। आयुर्वेदिक उत्पादनको पुरानो ज्ञानलाई आधुनिक उपभोक्ताको आवश्यकतासँग जोड्न अनुसन्धान आवश्यक हुन्छ।
आज कम्पनीको अनुसन्धान तथा विकास केन्द्रमा वैज्ञानिक र वनस्पतिविज्ञको टोलीले उत्पादन विकास र नयाँ सामग्रीमा काम गरिरहेको छ। कम्पनीका अनुसार यसको अनुसन्धान केन्द्र करिब ८० हजार वर्गफुट क्षेत्रमा फैलिएको छ र सयभन्दा बढी वैज्ञानिक तथा वनस्पतिविज्ञ यससँग जोडिएका छन्।
यो परिवर्तन डाबरका लागि अत्यन्त महत्वपूर्ण छ। परम्परागत ज्ञानलाई केवल परम्परा भनेर बजारमा राख्दा आधुनिक उपभोक्ताले त्यसलाई स्वीकार गर्न आवश्यक नहुन सक्छ। त्यसलाई अनुसन्धान, गुणस्तर परीक्षण, सुरक्षित उत्पादन र आधुनिक उत्पादन प्रक्रियासँग जोड्नुपर्छ।
डाबरले यही बाटो रोजेको छ।
कम्पनीको वर्तमान उत्पादन संरचनामा २५० भन्दा बढी आयुर्वेदिक तथा जडीबुटीमा आधारित उत्पादन छन्। तर त्यसैसँगै कम्पनीले दाँत माझ्ने सामग्री, कपालको तेल, स्याम्पु, पेय पदार्थ, खाद्य सामग्री, घरायसी सामग्री र व्यक्तिगत हेरचाहका उत्पादन पनि बिक्री गर्छ।
बदलिँदो उपभोक्ता व्यवहारसँगै व्यापारको माध्यम पनि बदलिएको छ। पछिल्लो आर्थिक वर्षमा डाबरको अनलाइन व्यापारमा तीव्र वृद्धि भएको कम्पनीले जनाएको छ। चौथो त्रैमासिकमा विद्युतीय व्यापारको वृद्धि ४९ प्रतिशत र द्रुत अनलाइन आपूर्तिको वृद्धि ५४ प्रतिशत रहेको कम्पनीको विवरणमा उल्लेख छ।
यसले डाबरको भविष्यको व्यवसायिक दिशा बुझ्न पनि मद्दत गर्छ। पहिले पसलको सानो र्याकमा राखिएको उत्पादन ग्राहकले खोजेर किन्नुपर्थ्यो। अहिले मोबाइलको पर्दाबाटै उत्पादन घरमा आइपुग्छ। उपभोक्ता बदलिएको छ, त्यसैले वितरणको तरिका पनि बदलिएको छ।
डाबरले यही परिवर्तनलाई व्यवसाय विस्तारको नयाँ माध्यम बनाइरहेको छ।
प्रकृति, उत्पादन र भविष्यको व्यवसाय
डाबरको व्यवसायको आधार नै प्रकृति र जडीबुटीसँग जोडिएको भएकाले प्राकृतिक स्रोतको संरक्षण कम्पनीको भविष्यसँग पनि प्रत्यक्ष सम्बन्धित छ।
औषधीय वनस्पतिको अत्यधिक दोहन भयो भने भोलिको उत्पादनका लागि कच्चा पदार्थको अभाव हुन सक्छ। त्यसैले जडीबुटीको संरक्षण, किसानसँगको सहकार्य र दीगो खेती डाबरको व्यवसायिक रणनीतिकै एउटा हिस्सा बनेको छ।
कम्पनीले भारत र नेपालमा औषधीय वनस्पतिको बिरुवा उत्पादन गर्न हरितगृह सञ्चालन गरेको छ। २०२३/२४ मा कम्पनीले लाखौँ बिरुवा किसानलाई निःशुल्क वितरण गरेको र दुर्लभ तथा संकटमा रहेका वनस्पतिको संरक्षणका लागि कार्यक्रम अघि बढाएको जनाएको छ।
नेपालमा पनि यही कार्यक्रमअन्तर्गत किसान र स्थानीय समुदायसँग जोडिएको संरचना विकास गरिएको छ। यस्तो अभ्यासको व्यापारिक अर्थ पनि छ। कम्पनीले आफ्नो कच्चा पदार्थको दीर्घकालीन स्रोत सुरक्षित गर्छ, किसानले नयाँ आम्दानीको अवसर पाउँछन् र उत्पादनको आधार बलियो हुन्छ।
डाबरले उत्पादन र वातावरणबीचको सम्बन्धलाई पनि आफ्नो भविष्यको व्यवसायिक रणनीतिमा जोडेको छ।
पछिल्लो वार्षिक विवरणअनुसार कम्पनीले ६५ प्रतिशत नवीकरणीय ऊर्जाको प्रयोग, पानीसम्बन्धी सकारात्मक सन्तुलन र उत्पादन प्रणालीमा वातावरणीय सुधारजस्ता लक्ष्य तथा उपलब्धि प्रस्तुत गरेको छ।
यस्तो रणनीति अब केवल वातावरण संरक्षणको विषय रहेन। विश्व बजारमा उपभोक्ता, लगानीकर्ता र नियामक निकायले कम्पनीको वातावरणीय प्रभावलाई पनि मूल्यांकन गर्न थालेका छन्। त्यसैले दिगो उत्पादन प्रणाली भविष्यको प्रतिस्पर्धामा लागत र प्रतिष्ठा दुवैसँग जोडिने विषय बनेको छ।
डेढ शताब्दीपछि पनि उस्तै मूल मन्त्र
डाबरको कथा हेर्दा सबैभन्दा रोचक पक्ष यसको उत्पादन होइन, यसको रूपान्तरण हो।
१८८४ मा डाक्टर एसके बर्मनले आयुर्वेदिक औषधि बनाएर सुरु गरेको व्यवसाय आज हजारौँ करोड भारतीय रुपैयाँको कारोबार गर्ने बहुराष्ट्रिय उपभोक्ता वस्तु कम्पनी बनेको छ।
बीचमा उत्पादन बदलियो, बजार बदलियो, व्यवस्थापन बदलियो, प्रविधि बदलियो र उपभोक्ताको आवश्यकता बदलियो। तर कम्पनीले आफ्नो मूल पहिचान भने पूर्ण रूपमा छोडेन।
यही कारण डाबरको कथा केवल आयुर्वेदको कथा होइन। यो एउटा व्यवसायले आफ्नो विरासतलाई कसरी बजारको नयाँ आवश्यकतासँग जोड्न सक्छ भन्ने कथा हो।
आज डाबरका उत्पादन १२० भन्दा बढी देशमा पुगिरहेका छन्। २१ वटा उत्पादन केन्द्र र नौ देशमा फैलिएको उत्पादन संरचनाले कम्पनीको विश्वव्यापी आकार देखाउँछ।
पछिल्लो आर्थिक वर्षमा सञ्चालन आम्दानी १३ हजार १९२ करोड ६० लाख भारतीय रुपैयाँ पुगेको तथ्यले यसको वर्तमान व्यवसायिक आकार देखाउँछ।
तर, यति ठूलो आकार आफैँमा स्थायित्वको ग्यारेन्टी होइन। उपभोक्ताको रुचि फेरिँदैछ, स्वास्थ्यसम्बन्धी चेतना बदलिँदैछ, डिजिटल व्यापार तीव्र हुँदैछ, प्राकृतिक स्रोतमा दबाब बढ्दैछ र विश्व बजारमा प्रतिस्पर्धा झन् कडा हुँदैछ।
त्यसैले डाबरका लागि अबको चुनौती पुरानो बजार जोगाउनु मात्र होइन, नयाँ पुस्तालाई पनि आफ्नो ब्रान्डसँग जोडिराख्नु हो।
नयाँ पुस्ताले उत्पादन किन्नुअघि त्यसको सामग्री, गुणस्तर, वातावरणीय प्रभाव, मूल्य र ब्रान्डको विश्वसनीयता हेर्न थालेको छ।
सामाजिक सञ्जालले कम्पनी र उपभोक्ताबीचको दूरी घटाएको छ। एउटा उत्पादनको गुणस्तरबारेको प्रतिक्रिया केही मिनेटमै लाखौँ मानिससम्म पुग्न सक्छ। यस्तो अवस्थामा डेढ शताब्दीको विरासत आफैँमा पर्याप्त हुँदैन। त्यसलाई हरेक पुस्तामा पुनः प्रमाणित गर्नुपर्छ।
डाबरको चुनौती यही हो। अवसर पनि यही हो।
प्रकृति, स्वास्थ्य र आयुर्वेदको बजार विश्वभर विस्तार भइरहेका बेला कम्पनीसँग आफ्नो मूल पहिचानलाई नयाँ प्रविधि, अनुसन्धान र विश्वव्यापी वितरणसँग जोड्ने आधार पहिलेभन्दा बलियो छ।
पछिल्लो आर्थिक वर्षमा अन्तर्राष्ट्रिय व्यवसायले निरन्तर वृद्धि गरेको र अनलाइन तथा नयाँ वितरण माध्यममा तीव्र विस्तार देखिएको कम्पनीको तथ्यांकले पनि व्यवसायको दिशा परम्परागत बजारबाट नयाँ उपभोक्ता समूह र माध्यमतर्फ सर्दै गएको देखाउँछ।
डेढ शताब्दीअघि एउटा चिकित्सकले सामान्य मानिसका लागि उपचार पहुँचयोग्य बनाउने उद्देश्यले सुरु गरेको सानो प्रयास आज विश्व बजारमा पुगेको छ। त्यो यात्राको सबैभन्दा ठूलो उपलब्धि केवल आम्दानी वा बजार आकार होइन, पुस्ता परिवर्तनसँगै व्यवसायको चरित्र परिवर्तन गर्न सक्नु हो।
डाबरले औषधालयबाट उद्योग बनायो, उद्योगबाट ब्रान्ड बनायो, ब्रान्डबाट विश्वव्यापी उपभोक्ता सञ्जाल बनायो र अहिले त्यही सञ्जाललाई विज्ञान, प्रविधि, दिगोपन र डिजिटल व्यापारसँग जोड्दैछ।
व्यवसायको भाषामा हेर्दा डाबरको सबैभन्दा ठूलो सम्पत्ति यसको कारखाना, उत्पादन वा वितरण सञ्जाल मात्र होइन। त्यो सम्पत्ति पुस्तौँदेखि निर्माण भएको विश्वास हो। त्यही विश्वासलाई बदलिँदो बजारसँग मिलाउँदै लैजान सक्ने क्षमता नै डाबरको डेढ शताब्दी लामो यात्राको सबैभन्दा महत्वपूर्ण पाठ हो।
सानो औषधालयबाट सुरु भएको त्यो यात्रा अझै रोकिएको छैन। बरु अब यसको अर्को अध्याय विश्व बजार, डिजिटल उपभोक्ता, वैज्ञानिक अनुसन्धान र प्रकृतिसँग जोडिएको नयाँ व्यवसायिक प्रतिस्पर्धामा लेखिँदैछ।
