काठमाडौं । नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ प्रमाणीकरण प्राप्त गरेको छ।
व्यवसायलाई ग्राहक सम्बन्ध व्यवस्थापन (CRM), ओम्नीच्यानल सञ्चार, सामाजिक सञ्जाल व्यवस्थापन, ई–कमर्स, टिकटिङ, कल, रिपोर्टिङ तथा अटोमेसनलगायतका सेवा प्रदान गर्दै आएको सोसयरले सूचना सुरक्षाका क्षेत्रमा यो महत्त्वपूर्ण उपलब्धि हासिल गरेको हो।
कम्पनीका अनुसार प्रमाणीकरणले ग्राहक, सेवाग्राही तथा साझेदारका सूचना र डिजिटल सम्पत्तिको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रियस्तरका नीति, प्रक्रिया तथा सुरक्षा नियन्त्रणहरू कार्यान्वयन गरेको प्रमाणित गर्छ।
आईएसओ/आईईसी २७००१:२०२२ सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड हो। यसले संस्थालाई सूचना सुरक्षासम्बन्धी जोखिम पहिचान तथा मूल्याङ्कन गर्न, उपयुक्त सुरक्षा नियन्त्रण लागू गर्न र सुरक्षा व्यवस्थापन प्रणालीलाई निरन्तर सुधार गर्न स्पष्ट संरचना प्रदान गर्छ।
ग्राहकलाई थप सुरक्षा र विश्वसनीयता
सोसयरका अनुसार प्रमाणीकरणपछि ग्राहक तथा सेवाग्राहीलाई संवेदनशील व्यावसायिक तथा ग्राहकसम्बन्धी सूचनाको गोपनीयता कायम राख्न व्यवस्थित सुरक्षा नियन्त्रण, अनधिकृत पहुँच तथा सूचना चुहावटको जोखिम न्यूनीकरण, साइबर आक्रमणबाट हुने सम्भावित क्षति नियन्त्रणलगायतका क्षेत्रमा थप भरोसा प्राप्त हुनेछ।
यसैगरी सूचनाको गोपनीयता, शुद्धता र आवश्यकताअनुसार उपलब्धता कायम राख्ने प्रतिबद्धता, सुरक्षा जोखिम तथा घटनाको पहिचान र व्यवस्थापन, कर्मचारीको भूमिका तथा पहुँच अधिकारको स्पष्ट व्यवस्थापन र सूचना सुरक्षा प्रणालीको नियमित समीक्षा तथा परीक्षणलाई पनि प्रमाणीकरणले थप व्यवस्थित बनाउने कम्पनीले जनाएको छ।
सोसयरका प्रमुख नीरज वैद्यले आईएसओ/आईईसी २७००१:२०२२ प्रमाणीकरण प्रमाणपत्र प्राप्तिमा मात्र सीमित उपलब्धि नभएको बताए।
“यो हाम्रा ग्राहक र साझेदारले हामीमाथि राख्नुभएको विश्वासप्रतिको जिम्मेवारी हो। हामी सूचना सुरक्षालाई प्रविधिको विषय मात्र नभई संस्थागत संस्कृति र दैनिक कार्यप्रणालीको अभिन्न अंगका रूपमा लिन्छौँ,” उनले भने।
उनका अनुसार कम्पनीले प्लेटफर्ममार्फत व्यवस्थापन हुने सूचना तथा व्यावसायिक प्रक्रियाको सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार अनुगमन र सुधारलाई निरन्तरता दिनेछ।
“यस उपलब्धिले ग्राहकलाई अझ सुरक्षित, भरपर्दो र जिम्मेवार सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई थप बलियो बनाएको छ,” वैद्यले भने।
प्रमाणीकरणसँगै सोसयरले ग्राहकको सूचना सुरक्षा, व्यावसायिक निरन्तरता, सुरक्षा जोखिम व्यवस्थापन तथा नियामकीय आवश्यकताप्रतिको आफ्नो प्रतिबद्धतालाई थप संस्थागत गरेको जनाएको छ। कम्पनीले प्रमाणीकरणले सबै प्रकारका साइबर जोखिम पूर्ण रूपमा समाप्त हुने दाबी नगरे पनि सम्भावित जोखिम पहिचान, नियन्त्रण तथा निरन्तर सुधारका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको व्यवस्थित प्रणाली स्थापित भएको जनाएको छ।
पाँच वर्षदेखि सञ्चालनमा सोसयर
सोसयर विगत पाँच वर्षदेखि सञ्चालनमा रहेको एकीकृत कस्टमर इङ्गेजमेन्ट प्लेटफर्म हो। यसले सामाजिक सञ्जाल, ग्राहक सञ्चार, सीआरएम, कल, टिकटिङ, ई–कमर्स, बिक्री, सहायता, मानव संसाधन (एचआर), लेखा, मौज्दात व्यवस्थापन, रिपोर्टिङ, एसएमएस तथा अटोमेसनलगायतका व्यावसायिक कार्यलाई एउटै प्रणालीमा जोड्ने काम गर्दै आएको छ।
सोसयरका प्रमुख सेवामा सोसयर कनेक्ट, सोसयर कमर्स र सोसयर एसएमएस रहेका छन्।
सोसयर कनेक्ट ग्राहक सेवा तथा कस्टमर कम्युनिकेसनका लागि तयार गरिएको एकीकृत ओम्नीच्यानल प्लेटफर्म हो। यसले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, टिकटक, इमेल तथा कलजस्ता विभिन्न माध्यमबाट आउने ग्राहक संवादलाई एउटै प्रणालीबाट व्यवस्थापन गर्न सहयोग गर्छ। यसमा युनिफाइड इनबक्स, सीआरएम, ग्राहक व्यवस्थापन, टिकटिङ, कल सेन्टर, सामाजिक सञ्जाल व्यवस्थापन, रिपोर्टिङ, अटोमेसन तथा एआईमा आधारित सुविधा उपलब्ध छन्।
त्यस्तै, सोसयर कमर्स सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट व्यवसाय सञ्चालन गर्ने संस्थाका लागि तयार गरिएको कमर्स तथा बिजनेस अपरेसन प्लेटफर्म हो। यसले सोसल कमर्स, ई–कमर्स वेबसाइट, अर्डर व्यवस्थापन, इन्भेन्ट्री, पीओएस, भुक्तानी, डेलिभरी, ग्राहक व्यवस्थापन, लेखा तथा रिपोर्टिङलगायतका कार्यलाई एउटै प्रणालीबाट सञ्चालन गर्न सहयोग गर्छ।
सोसयर एसएमएस व्यवसाय तथा संस्थाका लागि तयार गरिएको बल्क एसएमएस तथा बिजनेस मेसेजिङ प्लेटफर्म हो। यसमार्फत सूचना, ओटीपी, ट्रान्जेक्सन मेसेज, प्रमोसनल क्याम्पेन, रिमाइन्डर तथा ग्राहक सूचना ठूलो सङ्ख्यामा छिटो र व्यवस्थित रूपमा पठाउन सकिन्छ। यसमा क्याम्पेन व्यवस्थापन, डेलिभरी रिपोर्टिङ तथा एपीआई इन्टिग्रेसनलगायतका सुविधा छन्।
कम्पनीका अनुसार यी सेवामार्फत संस्थाहरूलाई ग्राहक अनुभव सुधार गर्न, कार्यप्रवाह स्वचालित तथा व्यवस्थित बनाउन, विभिन्न प्रणाली र सामाजिक सञ्जालका माध्यमलाई एकीकृत गर्न तथा तथ्यमा आधारित निर्णय लिन सहयोग पुग्दै आएको छ।
सुरक्षित, सरल र इन्टेलिजेन्ट प्रविधिमार्फत नेपाली व्यवसायको डिजिटल रूपान्तरणलाई गति दिनु सोसयरको प्रमुख उद्देश्य रहेको कम्पनीले जनाएको छ।
