काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई सिधा उडान सेवा पुनः सञ्चालन गर्ने भएको छ। एयरलाइन्सले आगामी सेप्टेम्बर २८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलसम्म नियमित उडान सुरु गर्न लागेको हो।
एयरलाइन्सका अनुसार सुरुमा काठमाडौं–सांघाई–काठमाडौं रुटमा सातामा दुईवटा उडान सञ्चालन हुनेछ। काठमाडौं–सांघाईतर्फ सोमबार र शुक्रबार तथा सांघाई–काठमाडौंतर्फ मंगलबार र शनिबार उडान हुने तालिका सार्वजनिक गरिएको छ।
काठमाडौं–सांघाई उडान साँझ ६ः२५ बजे काठमाडौंबाट प्रस्थान गरेर भोलिपल्ट बिहान २ बजे सांघाई पुग्नेछ। सांघाईबाट बिहान ३ बजे उडान भरेको विमान बिहान ७ः१० बजे काठमाडौं आइपुग्ने एयरलाइन्सले जनाएको छ।
उडानको समय सम्बन्धित देशको स्थानीय समयअनुसार निर्धारण गरिएको छ। काठमाडौं–सांघाई सेवा सेप्टेम्बर २८ देखि अक्टोबर २३ सम्म तथा सांघाई–काठमाडौं सेवा सेप्टेम्बर २९ देखि अक्टोबर २४ सम्म सञ्चालन हुनेछ।
हिमालय एयरलाइन्सका अनुसार काठमाडौं–सांघाई रुटमा सेवा पुनः सुरु भएपछि कम्पनी यस क्षेत्रमा नियमित सिधा उडान गर्ने एक मात्र व्यावसायिक वायुसेवा बन्नेछ।
नेपालमा मुख्य पर्यटकीय सिजन सुरु हुने समयमा सिधा उडान पुनः सञ्चालन हुन लागेकाले चीनबाट नेपाल आउने पर्यटकको आवागमन बढाउन तथा पर्यटन र आतिथ्य क्षेत्रलाई सहयोग पुग्ने अपेक्षा एयरलाइन्सले गरेको छ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौं–सांघाई सिधा उडानले नेपाल र चीनबीच व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताए।
यात्रुले एयरलाइन्सका टिकट काउन्टर, आधिकारिक ट्राभल पार्टनर, वेबसाइट तथा मोबाइल एपमार्फत टिकट बुक गर्न सक्नेछन्। यात्रुको माग र उडानमा हुने यात्रु भारको आधारमा आगामी दिनमा उडान संख्या बढाउने विषयमा समीक्षा गरिने एयरलाइन्सले जनाएको छ।
