तनहुँ । भूमि प्रशासन कार्यालय तनहुँले आर्थिक वर्ष २०८२/८३ मा ३६ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले रजिष्ट्रेशन दस्तुर, पुँजीगत लाभकर तथा अन्य विभिन्न शीर्षकबाट कुल ३६ करोड ४८ लाख ६३ हजार ८ सय ४१ रुपैयाँ राजस्व संकलन गरेको हो ।
भूमि प्रशासन कार्यालय तनहुँका प्रमुख राजेन्द्रप्रसाद पौडेलका अनुसार गत आर्थिक वर्षमा कार्यालयले सबैभन्दा बढी रजिष्ट्रेशन दस्तुरबाट राजस्व संकलन गरेको छ । रजिष्ट्रेशन दस्तुरबापत मात्रै १७ करोड १५ लाख २८ हजार ८ सय ५४ रुपैयाँ संकलन भएको उनले जानकारी दिए ।
त्यस्तै, पुँजीगत लाभकरबाट १३ करोड ४२ लाख ८४ हजार ४ सय ९९ रुपैयाँ राजस्व उठेको छ । अन्य राजस्व शीर्षकबाट ५९ लाख ५ हजार १ सय ४८ रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।
राजस्व संकलनसँगै कार्यालयले गत आर्थिक वर्षमा जग्गा तथा सम्पत्तिसम्बन्धी ठूलो संख्यामा प्रशासनिक र कानुनी प्रक्रिया पनि सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा कार्यालयबाट ९ हजार ९ सय ३६ वटा लिखत पारित भएका छन् ।
यस अवधिमा ९ सय ८७ वटा नामसारी, ३ सय ८४ वटा संशोधन, १ सय ८७ वटा दाखिला खारेज र ३५ वटा छुट दर्ताको काम सम्पन्न भएको प्रमुख पौडेलले बताए ।
जग्गा तथा सम्पत्तिको कारोबारसँग सम्बन्धित लिखत पारित, नामसारी, दाखिला खारेज र संशोधनलगायतका सेवा प्रवाह गर्दै आएको कार्यालयले सोही प्रक्रियाबाट सरकारको राजस्व संकलनमा समेत योगदान पुर्याउँदै आएको छ ।
जग्गा तथा सम्पत्ति कारोबारबाट हुने लाभमा लाग्ने पुँजीगत लाभकरसमेत कार्यालयमार्फत संकलन हुने भएकाले कुल राजस्वमा यसको हिस्सा उल्लेख्य रहेको छ । गत आर्थिक वर्षमा मात्रै पुँजीगत लाभकरबाट १३ करोडभन्दा बढी राजस्व संकलन भएको कार्यालयको तथ्यांकले देखाएको छ ।
कार्यालयका अनुसार सेवाग्राहीको जग्गा तथा सम्पत्तिसम्बन्धी कामलाई व्यवस्थित र प्रभावकारी बनाउँदै सेवा प्रवाहसँगै राजस्व संकलनको कामलाई निरन्तरता दिइएको छ ।
