काठमाडौं। अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीले डाइभर्सन सडक बगाएपछि अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास सुरु भएको छ।
सडक डिभिजन भक्तपुरका अनुसार वर्षा रोकिएसँगै क्षतिग्रस्त सडक खण्डको मर्मत कार्य अघि बढाइएको छ।
डिभिजन प्रमुख सुमन योगेशका अनुसार बाढीले राजमार्गको करिब १.६८ किलोमिटर सडकमा क्षति पुर्याएको छ। यसमध्ये चौकीडाँडामा ३०० मिटर, कटुञ्जेमा ३०० मिटर, माम्तीमा १०० मिटर र पिप्लेमा २८५ मिटर डाइभर्सन सडक बगेको छ। यसबाहेक दाउन्ने-कालोपुलमा ५०० मिटर र चार सयबेंसीमा १०० मिटर सडकमा पहिरो गएको छ।
प्रमुख योगेशले भने, “रोसी खोलामा आएको बाढीले क्षति पुर्याएको डाइभर्सन सडक निर्माण गर्नुका साथै पुनर्निर्माण भइरहेको राजमार्गको भित्री ट्र्याकबाट सवारीसाधन सञ्चालन गराउने गरी काम सुरु गरिएको छ।” हाल घुमाउने खण्डमा तीनवटा उपकरण प्रयोग गरी मर्मत भइरहेको र केही घण्टामै सडक सुचारु गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।
डिभिजनका अनुसार पूर्ण रूपमा यातायात सञ्चालन गर्न करिब ४८ घण्टा लाग्ने अनुमान गरिएको छ। जाइकाको ठेक्का रहेको खण्डमा भने आइतबारसम्म समय लाग्न सक्ने बताइएको छ। वर्षाका कारण सडक डिभिजनले सोमबारसम्मका लागि पुनर्निर्माणको काम रोकेको थियो। यसअघि असोज दोस्रो साताको बाढीले बीपी राजमार्गको दाप्चा पुलदेखि नेपालथोकसम्मको २९ किलोमिटर सडकमा क्षति पुर्याएको थियो।
