काठमाडौं। सल्यानमा निरन्तरको वर्षा र हुरीबतासका कारण ३३ केभी प्रसारण लाइनमा क्षति पुग्दा जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको छ ।
लुहाम-अरिङ्गालेफेदी (खारखोला) खण्डमा रुख ढलेर प्रसारण लाइनका संरचनामा क्षति पुगेपछि विद्युत् आपूर्ति बन्द भएको हो ।
नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख नरेश रावलका अनुसार कपुरकोट क्षेत्रमा केही मर्मत गरिए पनि अन्य विभिन्न स्थानमा समस्या देखिएको छ ।
लगातारको वर्षाले माटो गलेको र तीव्र गतिमा हावाहुरी चलिरहेकाले मर्मत कार्यमा कठिनाइ भइरहेको छ । रावलले संरचना मर्मतका लागि शनिबार दिनभर लाग्न सक्ने जानकारी दिनुभयो ।
क्षतिग्रस्त प्रसारण लाइन मर्मतका लागि प्राविधिक टोली बिहानैदेखि परिचालन गरिएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लाका विभिन्न क्षेत्रमा विद्युत्मा निर्भर सेवा तथा दैनिक कामकाज प्रभावित भएका छन् ।
बिहीबार बेलुकीदेखिको वर्षाले जिल्लाका विभिन्न सडकखण्डमा पहिरो तथा अन्य अवरोधको जोखिम बढेको छ । वर्षा र हावाहुरी कायमै रहेमा सडक, विद्युत् तथा अन्य पूर्वाधारका साथै किसानका बालीनालीमा समेत थप क्षति हुनसक्ने जोखिम रहेको छ ।
