काठमाडौं। तीन दिनदेखि जारी अविरल वर्षाका कारण स्याङ्जास्थित कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको उत्पादन बन्द भएको छ।
नदीमा पानीको बहाव उच्च भएपछि १४४ मेगावाट क्षमताको उक्त आयोजनाबाट हुने विद्युत् उत्पादन शुक्रबार राति ८ः४५ बजेदेखि रोकिएको हो।
आयोजनाका प्रमुख आत्मेस पौडेलका अनुसार नदीमा पानीको बहाव अत्यधिक बढेका कारण सम्भावित जोखिम न्यूनीकरण गर्न उत्पादन बन्द गरिएको हो।
बहाव उच्च भएपछि मिर्मीस्थित बाँधका तीनवटै ढोका खोलिएका छन्। पानीको सतह घटेपछि मात्र आयोजनाबाट पुनः नियमित विद्युत् उत्पादन सुरु गरिने जानकारी आयोजनाले दिएको छ।
असोज महिनामा नदीमा देखिएको यो अस्वाभाविक बहावले आसपासका बस्ती र संरचनामा जोखिम बढाएको छ। वर्षाका कारण स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थल सेतीबेणीका केही घर डुबानमा परेका छन्। निरन्तरको वर्षाले स्थानीय जनजीवनसमेत प्रभावित बनेको छ।
