काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मौसममा सुधार नआएसम्म धान नकाट्न किसानलाई आग्रह गरेको छ।
देशका विभिन्न भागमा भइरहेको वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढेकाले विभागले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
विभागका मौसमविद् रोजन लामिछानेले प्रतिकूल मौसमका कारण हतारमा धान काट्दा बालीसँगै जनधनको समेत क्षति हुनसक्ने भएकाले मौसम खुलेपछि मात्र धान काट्ने योजना बनाउन किसानलाई सुझाव दिए।
उनका अनुसार पूर्वी भूभागमा मौसम क्रमिक रूपमा सुधार हुँदै गए पनि केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पश्चिमी भूभागमा भने आगामी दिनमा समेत वर्षाको प्रभाव रहने भएकाले जोखिम उच्च रहेको उनले बताए।
‘किसान सर्वसाधारणहरूले धान नकाट्नुहोला। मौसमको अवस्था बुझेर मात्र मौसम खुलेपछि धान काट्ने योजना बनाउनुहोला,’ लामिछानेले भने। उनका अनुसार पश्चिमी क्षेत्रमा पछिल्ला तीन–चार दिनदेखि निरन्तर वर्षा भइरहेकाले थप वर्षाको सम्भावनासमेत रहेकाले विशेष सावधानी अपनाउन आवश्यक छ।
विभागले जमिन चिरा परेको वा सानो पहिरो देखिएको क्षेत्रमा जोखिम उच्च हुने जनाएको छ। त्यस्ता स्थानका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न तथा छिमेकीलाई समेत सचेत गराउन आग्रह गरिएको छ।
त्यस्तै, नदी तथा खोला किनारमा बसोवास गर्ने समुदायलाई जलसतह बढ्न सक्ने भएकाले थप सतर्क रहन विभागले आग्रह गरेको छ। स्थानीय प्रशासन तथा प्रहरीले गर्ने माइकिङ र साइरनलाई बेवास्ता नगर्नसमेत विभागले अनुरोध गरेको छ।
विभागले मौसम तथा विपद्सम्बन्धी पछिल्लो सूचना नियमित रूपमा हेर्न सर्वसाधारणलाई आग्रह गर्दै आवश्यक जानकारी वा जिज्ञासाका लागि टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
