काठमाडौं। लगातारको वर्षा र हावाहुरीका कारण सडकमा पहिरो, ढुङ्गा खस्ने तथा रुख र विद्युत्का पोल ढल्ने जोखिम बढेपछि सल्यानका सबै सडक रातिको समयमा बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सल्यानले सूचना जारी गर्दै असोज १० गतेदेखि १२ गतेसम्म हरेक दिन बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म जिल्लाका सबै सडक बन्द रहने जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी आनन्द विष्टका अनुसार राप्ती राजमार्ग अन्तर्गतको लुहाम-कपुरकोट-तुलसीपुर सडकखण्ड असोज ११ गते दिउँसो पनि बन्द रहनेछ। जोखिम न्यूनीकरणका लागि यो निर्णय लिइएको हो। प्रशासनले जोखिमपूर्ण अवस्थामा सवारी सञ्चालन गर्दा मानवीय तथा भौतिक क्षति हुन सक्ने भन्दै तोकिएको समयमा सडक प्रयोग नगर्न आग्रह गरेको छ।
यसैबीच, शुक्रबार रातिदेखि अवरुद्ध सल्यानको विद्युत् सेवा शनिबार दिनभर प्रयास गर्दा पनि सुचारु हुन सकेको छैन। नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख नरेश रावलका अनुसार ३३ केभी प्रसारण लाइनमा क्षति पुगेका कारण विद्युत् सेवा अवरुद्ध भएको हो। विशेष गरी लुहाम-अरिङ्गालेफेदी खण्डमा रुख ढलेर प्रसारण लाइनका संरचनामा क्षति पुगेको छ।
शनिबार बिहान चलेको तीव्र हावाहुरीका कारण छत्रेश्वरी गाउँपालिका-२ तेर्छिखर्कमा गणेश पुन मगरको घरमा क्षति पुगेको छ।
घरमाथि सल्लाको रुख ढल्दा भौतिक क्षति भए पनि मानवीय क्षति भने भएको छैन। हावाहुरी र वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा तरकारी बाली, धान र अन्य भौतिक संरचनामा क्षति पुगेको अनुमान गरिएको छ।
