काठमाडौं। नेपालमा हाल मनसुनी वायु र पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ।
हाल देशभर अधिकांश स्थानमा बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, बागमती र कर्णालीका केही स्थानमा तथा कोशी र मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
सुदूरपश्चिम प्रदेशका थोरै स्थान र गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना छ।
आज राति सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ।
कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका केही स्थानमा र अन्य प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
