मुस्ताङ: वर्षा र हिमपातका कारण हिमाली जिल्ला मुस्ताङमा सडक, विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएको छ। बाढी र पहिरोका कारण सडक सञ्जालमा क्षति पुग्दा जनजीवन प्रभावित भएको छ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले अवरुद्ध सेवाहरू छिटो सञ्चालन गर्न सम्बन्धित निकायसँग समन्वय गरी काम भइरहेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार म्याग्दीतर्फबाट आउने प्रसारण लाइनमा समस्या देखिएकाले जिल्लाभर विद्युत् सेवा ठप्प भएको हो। उनले सम्बन्धित निकायलाई मर्मतका लागि निर्देशन दिइएको र आजसम्म विद्युत् सेवा सुचारु हुने सम्भावना रहेको बताइन्।
जिल्लामा मोबाइल नेटवर्कमा केही सुधार देखिए पनि इन्टरनेट सेवा भने अझै पूर्ण रूपमा ठप्प छ। सडक अवरोधका सम्बन्धमा जानकारी दिँदै प्रजिअ शर्माले लेते, समर खोला र घमी लगायतका स्थानमा पहिरोले सडकमा क्षति पुर्याएको बताइन्। सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको छ। लेतेभन्दा तल्लो क्षेत्रको पहिरो हटाइसकिएको र बाँकी स्थानमा पनि काम तीव्र पारिएको प्रशासनले जनाएको छ।
यसैबीच उत्तरी कोरला नाका क्षेत्रमा परेको हिउँ पग्लिन थालेको छ। नाकामा रोकिएका सवारीसाधन र कन्टेनरहरू सञ्चालन गर्नेबारे प्रशासनले सडकको अवस्था र जोखिमको मूल्याङ्कन गरिरहेको छ। सडक धेरै भिजेकाले जोखिम हुन सक्ने भन्दै अवस्था सामान्य भएपछि मात्र सवारी आवागमन खुला गरिने प्रजिअ शर्माले जानकारी दिइन्।
