काठमाडौँ। सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अमित मोरलाई १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
विशेष अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा रहेका व्यवसायी मोरलाई साेमबार सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।
यस मुद्दाका अन्य प्रतिवादीहरूलाई विशेष र सर्वोच्च अदालतबाट पहिले नै धरौटीमा छाड्ने आदेश भइसकेको उल्लेख गर्दै सर्वोच्चले मोरलाई मात्रै थुनामा राखिरहनु न्यायोचित नहुने ठहर गरेको छ ।
यसअघि विशेष अदालतमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने विषयमा न्यायाधीशहरूको राय बाझिएको थियो। तीन सदस्यीय इजलासमध्ये दुई न्यायाधीशले पुर्पक्षका लागि थुनामा पठाउने र एक जनाले एक करोड धरौटीमा रिहा गर्ने राय दिएका थिए । बहुमतको राय कार्यान्वयन हुँदा मोर कारागार चलान भएका थिए ।
मोर हिमालय रि–इन्स्योरेन्स कम्पनीका सञ्चालक हुन्। कम्पनीले धितोपत्र बजारमा सेयर कारोबारका लागि भृकुटी स्टक (ब्रोकर नम्बर ५५) मार्फत लगानी गर्ने निर्णयलाई मोर संलग्न समितिले अनुमोदन गरेको थियो ।
सोही प्रकरणमा मुछिएका कम्पनीका अध्यक्ष शेखर गोल्छा, शुभेच्छा खरेल र राजिव मोर यसअघि नै धरौटीमा रिहा भइसकेका छन् । त्यस्तै, थुनामा पठाइएका अर्का प्रतिवादी रोहित गुप्तालाई पनि सर्वोच्च अदालतले गत भदौ १७ गते धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
