काठमाडौं। गैंडाकोट नगरपालिका-२ स्थित नारायणी नदी किनारमा आएको बाढीबाट प्रभावित १४० परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ।
असोज ९, १० र ११ गतेको बाढीका कारण विस्थापित भई अस्थायी आश्रयस्थलमा बस्दै आएका परिवारलाई सो राहत वितरण गरिएको हो।
गैंडाकोट नगरपालिकाको अनुरोध र जागृति बाल तथा युवा सरोकार नेपाल (जेसीवाईसीएन) को समन्वयमा सेभ द चिल्ड्रेनको सहयोगमा करिब १४ लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराइएको हो। प्रभावित परिवारलाई महेन्द्र स्मारक आधारभूत विद्यालयमा स्थापना गरिएको अस्थायी आश्रयस्थलमा राखिएको थियो।
प्रभावित प्रत्येक परिवारका लागि शेल्टर किट, ब्ल्याङ्केट, पी-फोम, साबुन, टुथब्रस, टुथपेस्ट, स्यानिटरी प्याड र झुल समावेश गरी राहत प्याकेज तयार पारिएको थियो। जेसीवाईसीएनका महासचिव दीपक शर्माका अनुसार बाढीपीडितको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्न पहिलो चरणको राहत सामग्री वितरण गरिएको हो।
संस्थाका अध्यक्ष तिलोतम पौडेलले विपद्को समयमा राहत र पुनःस्थापनासँगै बालबालिका, किशोरकिशोरी, सुत्केरी, गर्भवती महिला र ज्येष्ठ नागरिकमाथि हुन सक्ने हिंसा तथा दुर्व्यवहारप्रति सचेत रहनुपर्ने बताए। उनले यस्तो अवस्थामा सहयोगका साथै मनोविमर्श र सचेतनाको कार्यक्रम पनि आवश्यक रहेको उल्लेख गरे। जागृति बाल तथा युवा सरोकार नेपालले विगतमा पनि विभिन्न प्रकोपका बेला विकास साझेदार र निजी क्षेत्रसँग सहकार्य गर्दै राहत तथा पुनर्स्थापनामा काम गर्दै आएको छ।
