नेपालगञ्ज । नेशनल लाइफ इन्स्योरेन्सले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ ।
नेपालगञ्जस्थित होटल सिद्धार्थमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारी गरी ३०० भन्दा बढीको सहभागिता रहेको थियो ।
कम्पनीकी अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले बदलिँदो परिवेशअनुसार कर्मचारीलाई प्राविधिक रूपमा सक्षम बनाउन आर्टिफिसियल इन्टेलिजेन्स तथा डिजिटल कनेक्टिभिटीसम्बन्धी तालिमलाई प्राथमिकता दिइने बताइन् । कर्मचारीको क्षमता अभिवृद्धिमा कम्पनीले आवश्यक लगानी गर्ने उनको भनाइ थियो ।
उनले कर्मचारीको दक्षता र कार्यक्षमता बढ्दा कम्पनीको व्यवसाय विस्तारमा समेत सकारात्मक योगदान पुग्ने बताइन् ।
कार्यसम्पादनका आधारमा ‘बेस्ट इम्प्लोई अवार्ड २०८३’ का लागि छनोट भएका शिवेश ठाकुर, गीता कुमारी थिङ, रुक्मणी कुमारी शर्मा, अनिल श्रेष्ठ, सुवासमणि पोखरेल, प्रमिला मल्ल र विष्णुजंग शाहीलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले ग्राहकलाई सरल, छिटो र सम्मानजनक सेवा दिनुपर्नेमा जोड दिए । संस्थाका नीति तथा नियमको पालना र कामप्रतिको जवाफदेहितालाई संस्थागत संस्कारका रूपमा विकास गर्नुपर्ने उनले बताए ।
तालिममा नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बीमाको माध्यमबाट विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण हुनसक्ने भएकाले कर्मचारी सचेत हुनुपर्ने बताए । प्रशिक्षक विश्वराज पौडेलले एआईको प्रयोगसम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिएका थिए भने संजोग कोइरालाले कर्मचारीको व्यवहार र आचरणले संस्थाको पहिचानमा पार्ने प्रभावबारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा कर्मचारीको सिर्जनात्मकता, नेतृत्व क्षमता, सहकार्य र कार्यसम्पादन अभिवृद्धिका लागि विभिन्न अतिरिक्त क्रियाकलापसमेत सञ्चालन गरिएको थियो । सातै प्रदेशबाट सहभागी कर्मचारीले दैनिक कार्यसम्पादनसँग सम्बन्धित विषयमा नाटक प्रस्तुत गरेका थिए ।
विभागीय प्रमुखहरूसँग प्यानल डिस्कसन, कर्मचारीबीच परीक्षा तथा अन्तरकर्मचारी फुटसल, टेबल टेनिस र टग अफ वारलगायत खेलकुद प्रतियोगिता पनि आयोजना गरिएको थियो । विजयी टोली र खेलाडीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रमको अन्तिम दिन कर्मचारीलाई रिफ्रेसमेन्टका लागि कर्णाली चिसापानीको भ्रमणसमेत गराइएको कम्पनीले जनाएको छ ।
