काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। असोज १३ गते मंगलबार काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पुँजीको १०.५२६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। उक्त लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश छ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षकमा ‘एस.ए.आर. एसोसिएट्स’ चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ।
फाइनान्सका अनुसार सभाबाट पारित नगद लाभांश सोही दिन सेयरधनीको सम्बन्धित बैंक खातामा जम्मा गरिनेछ।
१ अर्ब १८ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको आईसीएफसी फाइनान्सले २१ वटा शाखा कार्यालयमार्फत १ लाखभन्दा बढी ग्राहकलाई आधुनिक प्रविधिमा आधारित बैंकिङ सेवा दिँदै आएको जनाएको छ।
फाइनान्सका अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म २२ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन भएको छ भने १९ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको छ।
