काठमाडौं: ललितपुर महानगरपालिकाले स्थानीय महिला उद्यमीद्वारा उत्पादित वस्तुहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने उद्देश्यले तीनदिने प्रदर्शनी आयोजना गर्ने भएको छ। असोज १६ देखि १८ गतेसम्म महानगरपालिका परिसरमा सञ्चालन हुने सो मेलामा हस्तकला, पश्मिना, ढाकाका कपडा, तयारी पोशाक र जैविक कृषि उत्पादनहरू राखिनेछन्।
मेलाको मुख्य उद्देश्य स्थानीय उत्पादनलाई ‘लोकलबाट ग्लोबल’ बनाउनु रहेको महानगरपालिकाले जनाएको छ। कार्यक्रममा हस्तकला निर्माण प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्न सकिने व्यवस्था पनि मिलाइएको छ। पत्रकार सम्मेलनमा बोल्दै महानगरकी उपप्रमुख मञ्जली शाक्यले स्थानीय बजारको पहुँच विस्तार भइसकेकाले अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेटवर्किङ र सहकार्यको अवसर सिर्जना गर्न मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।
उपप्रमुख शाक्यका अनुसार मेलामा गुणस्तर, स्वच्छता र स्वास्थ्यलाई विशेष प्राथमिकता दिइनेछ। उपभोक्ताहरू स्वास्थ्यप्रति सचेत हुँदै गएको सन्दर्भमा ब्रान्डिङ र बजार विस्तारको सम्भावना भएका उत्पादनहरूलाई छनोट गरी प्रदर्शन गरिने उनले जानकारी दिइन्। यस मेलाले महिला उद्यमीहरूलाई आफ्ना उत्पादन प्रदर्शन गर्ने अवसरका साथै सम्भावित ग्राहक र व्यवसायीहरूसँग प्रत्यक्ष सम्पर्क र सहकार्यको वातावरण समेत प्रदान गर्ने अपेक्षा गरिएको छ।
