काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक १७ गते पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीका अनुसार साधारण सभा ललितपुर महानगरपालिका–१, कुपण्डोलस्थित कुपण्डोल ब्याङ्क्वेटमा मंगलबार हुनेछ।
सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान विवरण र नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पनि सभाबाट स्वीकृत गरिनेछ।
कम्पनीले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस गर्नेछ। त्यस्तै, सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा सञ्चालक समितिबाट भएको निर्णय अनुमोदन गर्ने प्रस्ताव रहेको छ।
सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्तावसमेत पारित गर्नेछ।
सञ्चालक समितिले प्रस्ताव गरेअनुसार करसहित १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। कम्पनीले लाभांश वितरणका लागि १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा छुट्याउने प्रस्ताव गरेको छ।
विशेष प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको खर्च अनुमोदन गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, अर्थपूर्ण कारोबार तथा निर्धारित सीमाभन्दा माथिको खर्चसम्बन्धी प्रस्ताव पनि सभाबाट अनुमोदन गराउने कम्पनीको तयारी छ।
धुपौखरी चेपे हाइड्रोपावर लिमिटेडको ऋण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंकमा प्रदान गरिएको संस्थागत जमानत अनुमोदन गर्ने प्रस्ताव पनि साधारण सभामा पेस हुनेछ।
यसैगरी, १२.५०४ मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन सर्वेक्षण अनुमतिपत्र हस्तान्तरण वा बिक्री गर्ने प्रस्तावसमेत सभामा छलफल हुनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २३ गते एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ। असोज २२ गतेसम्म कारोबार भई कायम रहेका सेयरधनीले साधारण सभामा सहभागी भई मतदान गर्न पाउनेछन्।
