एजेन्सी । जर्मनीको प्रिमियम कार निर्माता बीएमडब्ल्यूले चीनमा कमजोर प्रदर्शनपछि नाफा सुधारका लागि नयाँ रणनीति सार्वजनिक गर्ने तयारी गरेको छ ।
कम्पनीले बुधबार लगानीकर्ताका लागि आयोजना गरेको ‘क्यापिटल मार्केट्स डे’ मा रणनीतिक योजनाको अद्यावधिक विवरण सार्वजनिक गर्ने तयारी गरेको हो । बर्नस्टिनका विश्लेषकहरूले कम्पनी व्यवस्थापनसँगको छलफलपछि रणनीतिका मुख्य बुँदा सार्वजनिक गरेका छन् ।
बीएमडब्ल्यूले पछिल्लो तीन वर्षभन्दा केही बढी अवधिमा नाफासम्बन्धी तेस्रो चेतावनी गत जुनमा जारी गरेको थियो । चीनमा बिक्री घट्नु र अमेरिकी भन्सार महसुलको दबाबका कारण कम्पनीको नाफामा असर परेको हो ।
कमजोर प्रदर्शनपछि कम्पनीले लागत घटाउने योजना अघि सारेको छ । यसबाट जर्मनीमा करिब ८ हजार रोजगारी प्रभावित हुने अनुमान गरिएको छ । फक्सवागन र मर्सिडिज–बेन्जले पनि यस्तै लागत कटौतीका योजना अघि बढाएका छन् ।
बर्नस्टिनका अनुसार बीएमडब्ल्यूले सन् २०२८ सम्ममा आफ्नो अटोमोटिभ व्यवसायको नाफा मार्जिन ३ देखि ५ प्रतिशतमा पुर्याउने लक्ष्य राख्नेछ । सन् २०३० को दशकको सुरुसम्ममा मार्जिन ८ देखि १० प्रतिशतसम्म पुर्याउने लक्ष्य रहेको विश्लेषकहरूको भनाइ छ । पछिल्लो समय कम्पनीको नाफा मार्जिन २.३ प्रतिशतमा झरेको छ ।
बर्नस्टिनका विश्लेषक स्टेफन रिटम्यानका अनुसार बीएमडब्ल्यूले नाफा सुधारका लागि लागत कटौतीसँगै नयाँ उत्पादनमार्फत बिक्री र वृद्धिमा पनि जोड दिनेछ । उनका अनुसार विद्युतीय आईएक्स३ एसयूभीसहितको ‘नोइ क्लास’ मोडल कम्पनीको पुनरुत्थान योजनाको महत्वपूर्ण हिस्सा हुनेछ ।
बीएमडब्ल्यूले एक्स७ भन्दा माथिल्लो श्रेणीको लक्जरी एसयूभी ल्याउने तयारी गरेको पनि विश्लेषकहरूले बताएका छन् । त्यस्तै, सन् २०२७ देखि एम र अल्पिना रेन्ज विस्तार गर्ने योजना रहेको जनाइएको छ ।
कम्पनीले अर्को पुस्ताको ३ सिरिज स्पोर्ट्स सेडानको जर्मनीमा उत्पादनका लागि करिब २ अर्ब युरो लगानी गर्ने छुट्टै घोषणा गरेको छ ।
बर्नस्टिनका अनुसार बीएमडब्ल्यूका युरोपेली र अमेरिकी कारखाना उच्च क्षमतामा सञ्चालन भइरहेका छन् । चीनमा भने उत्पादन समायोजन र उत्पादन क्षमता लचिलो बनाउने आवश्यकता रहेको विश्लेषकहरूको भनाइ छ ।
बीएमडब्ल्यूका प्रवक्ताले कम्पनीको रणनीतिक योजनासम्बन्धी विस्तृत विवरण बुधबार ढिलो सार्वजनिक गरिने बताएका छन् । पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य एक तिहाइभन्दा बढी घटेर ६ वर्षभन्दा लामो अवधिकै न्यून स्तरमा पुगेको छ ।
