मुस्ताङ । बेनी–जोमसोम–कोरला सडकखण्डमा बाढीपहिरो र नदी कटानले सडक अवरुद्ध भएपछि चीनबाट आयात गरिएका सामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरला नाकामै रोकिएका छन्।
लोमान्थाङ गाउँपालिका–४ स्थित न्हेचुङ भन्सार यार्डमा ती कन्टेनर रोकिएका हुन्। शनिबार रातिदेखि परेको भारी वर्षाका कारण बेनी–जोमसोम–कोरला सडकखण्डका ४६ स्थानमा बाढीपहिरो र नदी कटानले क्षति पुर्याएको छ। सडक अवरुद्ध भएपछि कोरला नाकाबाट हुने आयात निर्यात व्यापार प्रभावित भएको छ।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कोरला नाकाबाट नेपाल भित्रिएका सामान बोकेका अधिकांश कन्टेनरको भन्सार जाँचपास पूरा भइसकेको छ। सडक सञ्चालनमा नआउँदा सामान गन्तव्यतर्फ लैजान नसकेर कन्टेनर भन्सार यार्डमै रोकिएका हुन्।
चुडालका अनुसार भन्सार यार्डमा १५० भन्दा बढी कन्टेनर छन्। तीमध्ये करिब ९० प्रतिशतको जाँचपास प्रक्रिया पूरा भइसकेको छ। बाँकी कन्टेनरको जाँचपास पनि दुई दिनभित्र सकिने उनले बताए।
तातोपानी र रसुवागढी नाका बन्द भएपछि चीनसँगको व्यापारका लागि कोरला नाका प्रमुख वैकल्पिक मार्ग बनेको थियो। यही समयमा कोरला सडकसमेत अवरुद्ध भएपछि आयात निर्यात प्रभावित भएको भन्सार कार्यालयले जनाएको छ।
दसैँतिहार लक्षित सामान आयात हुने समयमा सडक अवरुद्ध हुँदा व्यापारसँगै सरकारी राजस्व संकलनमा समेत असर पर्ने देखिएको छ। भन्सार प्रमुख चुडालका अनुसार रसुवागढी–केरुङ नाका बाढीका कारण बन्द भएपछि कोरला नाकाबाट दैनिक ३० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन हुँदै आएको थियो।
कोरला नाकाबाट दसैँ लक्षित तयारी सामान, औद्योगिक कच्चापदार्थ, दैनिक उपभोग्य वस्तु, फलफूल, विद्युतीय सामग्री, लत्ताकपडा तथा विद्युतीय सवारीसाधन नेपाल भित्रिने गरेका छन्।
सडक अवरुद्ध हुँदा विद्युतीय सवारीसाधनको ढुवानीसमेत प्रभावित भएको छ। करिब २०० वटा विद्युतीय सवारीसाधन गन्तव्यतर्फ जान नसकी विभिन्न स्थानमा रोकिएका छन्।
सशस्त्र प्रहरी बल ३३ नम्बर गुल्म जोमसोमका अनुसार तीमध्ये १०० भन्दा बढी विद्युतीय सवारीसाधन पाँच दिनदेखि जोमसोमबाट तल झर्न नसकी जोमसोम बसपार्कमा रोकिएका छन्। सडक तत्काल सञ्चालनमा नआए दसैँतिहार लक्षित व्यापार तथा सवारीसाधनको आपूर्ति थप प्रभावित हुने अवस्था देखिएको छ।
