पेरिसको एउटा महँगो सडकमा रहेको चम्किलो पसल, झिलिमिली गहना, हातले बनाइएका छालाका झोला, करोडौँ रुपैयाँ मूल्यका घडी, महँगा मदिराका बोतल र विश्वका चर्चित फेसन ब्रान्डको नाम हेर्दा एउटै व्यापारिक समूहको कल्पना गर्न कठिन हुन्छ।
लुई भुइटन, क्रिस्चियन डिओर, फेन्डी, गिभेन्ची, सेलिन, लोएवे, बुल्गारी, टिफानी एन्ड कम्पनी, मोएट एन्ड चान्डन, हेनेसी, सेफोरा र दर्जनौँ ब्रान्ड आफ्नै इतिहास, डिजाइन, ग्राहक र पहिचानसहित बजारमा छन्।
यीमध्ये धेरै ब्रान्डको माथिल्लो तहमा एउटै समूहको स्वामित्व र व्यवस्थापन संरचना जोडिएको छ।
त्यो समूह हो एलभीएमएच, अर्थात् मोएट हेनेसी-लुई भुइटन।
यस समूहको नेतृत्व दशकौँदेखि बर्नार्ड अर्नोले गर्दै आएका छन्। सन् १९४९ मार्च ५ मा फ्रान्सको रुबेमा औद्योगिक परिवारमा जन्मिएका अर्नोले आफ्नो व्यावसायिक यात्रा फेसनबाट होइन, निर्माण व्यवसायबाट सुरु गरेका थिए।
उनले इकोल पोलिटेक्निकमा अध्ययन गरेपछि फेरेट-साभिनेल नामको निर्माण कम्पनीमा इन्जिनियरका रूपमा काम थाले। केही वर्षमै व्यवस्थापन तहमा पुगे र सन् १९७८ मा कम्पनीको नेतृत्व सम्हाले।
त्यसपछि उनको व्यापारिक यात्रा अर्कै दिशामा मोडियो।
सन् १९८४ मा उनले फिनान्सियर अगास र क्रिस्चियन डिओरसँग जोडिएको व्यवसाय पुनर्संरचना गर्ने जिम्मेवारी लिए।
निर्माण क्षेत्रबाट विलासी वस्तुको दुनियाँमा प्रवेश त्यही मोड थियो। उनले डिओरलाई नयाँ संरचनाको केन्द्रमा राखे र पुराना ब्रान्डलाई केवल पुरानो नामका रूपमा होइन, भविष्यमा ठूलो मूल्य सिर्जना गर्न सक्ने सम्पत्तिका रूपमा हेर्न थाले।
त्यही सोच केही वर्षपछि अझ ठूलो प्रयोगमा परिणत भयो।
सन् १९८७ मा मोएट हेनेसी र लुई भुइटनको विलयबाट एलभीएमएच बनेको थियो। त्यतिबेला समूहमा १० वटा मिजोन, १२ हजार कर्मचारी र करिब ३ अर्ब युरोको बिक्री थियो। सन् १९८९ मा अर्नो समूहका प्रमुख सेयरधनी बने र नेतृत्व सम्हाले। त्यसपछि एलभीएमएचको विस्तारले गति लियो।
आज एलभीएमएचसँग ७५ भन्दा बढी मिजोन छन्।
समूह ८० भन्दा बढी देशमा फैलिएको छ र २०२५ को अन्त्यसम्म २ लाख ११ हजारभन्दा बढी कर्मचारी तथा ६ हजार २८३ पसलको खुद्रा सञ्जाल थियो। सोही वर्ष समूहले ८०.८ अर्ब युरो अर्थात् करिब ८० अर्ब युरोभन्दा बढी आम्दानी गरेको थियो। खुद नाफा समूहको हिस्सामा १०.९ अर्ब युरो पुगेको थियो।
निर्माण व्यवसायमा करिअर सुरु गरेको एउटा इन्जिनियरले कसरी यति ठूलो विलासी व्यापार साम्राज्य निर्माण गरे भन्ने कथा यहीँबाट सुरु हुन्छ।
निर्माण व्यवसायबाट ब्रान्डको दुनियाँमा
अर्नोको जन्म व्यापारिक परिवारमा भएको थियो। उनका परिवारको व्यवसाय औद्योगिक क्षेत्रमा थियो। त्यसैले व्यापार उनको लागि अपरिचित क्षेत्र थिएन। तर उनले परिवारको व्यवसायमा बसेर परम्परागत रूपमा अघि बढ्ने बाटो रोजेनन्।
इन्जिनियरिङ अध्ययन गरेपछि निर्माण व्यवसायमा प्रवेश गरे र त्यही क्षेत्रमा व्यवस्थापन अनुभव हासिल गरे।
फेरेट-साभिनेलमा उनको उन्नति तीव्र थियो। कम्पनीको निर्माणसम्बन्धी जिम्मेवारीबाट व्यवस्थापनको उच्च तह हुँदै उनी सन् १९७८ मा अध्यक्ष बने। यो चरणले उनलाई एउटा महत्वपूर्ण कुरा सिकायो, त्यो थियो सम्पत्ति र व्यवसायको मूल्य केवल अहिलेको आम्दानीले निर्धारण गर्दैन।
व्यवसायको संरचना, पूँजीको उपयोग, बजारको सम्भावना र दीर्घकालीन मूल्य सिर्जना गर्ने क्षमता पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
सन् १९८४ मा फिनान्सियर अगासको पुनर्संरचनामा प्रवेश गरेपछि उनले यो सोचलाई फरक क्षेत्रमा प्रयोग गरे। त्यहाँबाट क्रिस्चियन डिओरसँग उनको सम्बन्ध बलियो भयो। डिओरलाई पुनर्जीवित गर्नु उनको प्रारम्भिक ठूलो रणनीतिक परियोजनामध्ये एक बन्यो।
एलभीएमएचको आधिकारिक विवरणअनुसार उनले फिनान्सियर अगासलाई पुनर्संरचना गर्दै डिओरलाई नयाँ संगठनको मुख्य आधार बनाए।
त्यो निर्णय केवल एउटा फेसन ब्रान्डको व्यवस्थापन परिवर्तन थिएन।
यसले अर्नोको भविष्यको व्यापारिक दर्शन देखाएको थियो। उनले ब्रान्डलाई उत्पादन बेच्ने कम्पनीभन्दा फरक रूपमा हेर्न थाले। ब्रान्डको इतिहास, प्रतिष्ठा, डिजाइन, शिल्प, ग्राहकको भावना र दुर्लभताको अनुभूति सबैलाई आर्थिक मूल्यमा रूपान्तरण गर्न सकिन्छ भन्ने उनको रणनीतिक दृष्टिकोण थियो।
विलासी व्यवसायमा यही कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ।
सामान्य उत्पादनको व्यापारमा ठूलो उत्पादन, कम लागत र धेरै बिक्रीले प्रतिस्पर्धात्मक लाभ दिन सक्छ। विलासी उत्पादनमा भने धेरै बिक्री नै सधैँ लक्ष्य हुँदैन। सीमितता, विशिष्टता, इतिहास, डिजाइन र ग्राहकको अनुभवले मूल्य बढाउन सक्छ।
अर्नोले यही फरक बुझेर आफ्नो व्यवसाय विस्तार गरे।
एलभीएमएच जन्मिँदा सुरु भयो ठूलो खेल
सन् १९८७ मा मोएट हेनेसी र लुई भुइटनको विलय भयो। दुई फरक विरासत बोकेका व्यवसाय एउटै समूहमा आए। मोएट हेनेसीको जरा मदिरा र विलासी पेय पदार्थमा थियो भने लुई भुइटन फेसन र छालाका विलासी उत्पादनसँग जोडिएको थियो।
विलयले एउटा नयाँ व्यापारिक संरचना जन्मायो। यसको नाम बन्यो एलभीएमएच।
अर्नो सन् १९८९ मा प्रमुख सेयरधनी बने। त्यसपछि उनको सबैभन्दा ठूलो चुनौती समूहमा रहेका ब्रान्डलाई एउटै शैलीमा चलाउनु थिएन। बरु उनीहरूलाई आफ्नै पहिचानसहित विकास गर्नु थियो।
एलभीएमएचको वर्तमान व्यापारिक दर्शन हेर्दा यही कुरा अझ स्पष्ट हुन्छ।
समूहले आफ्ना मिजोनलाई एउटै ब्रान्डमा मिसाउनेभन्दा प्रत्येकको विशिष्ट पहिचान, इतिहास र विशेषज्ञता कायम राख्दै स्रोत, उत्पादन, वितरण र व्यवस्थापनको क्षमता उपलब्ध गराउने मोडल अपनाएको बताउँछ।
यो रणनीति अर्नोको सबैभन्दा महत्वपूर्ण व्यावसायिक अवधारणामध्ये एक बन्यो।
उदाहरणका लागि लुई भुइटनलाई क्रिस्चियन डिओरजस्तो बनाइएन। बुल्गारीलाई लुई भुइटनजस्तो बनाइएन। टिफानीलाई फेन्डीको शैलीमा चलाइएन।
हरेक ब्रान्डलाई आफ्नै कथा बोल्न दिइयो।
समूहले भने ती ब्रान्डलाई पूँजी, विश्वव्यापी वितरण, व्यवस्थापन क्षमता, प्रविधि, खुद्रा सञ्जाल र अन्तर्राष्ट्रिय विस्तारको आधार दियो।
यसले एलभीएमएचलाई एउटा कम्पनीभन्दा बढी ब्रान्डहरूको समूह बनायो।
अझ महत्वपूर्ण कुरा, एउटै समूहभित्र धेरै बजार र ग्राहक वर्ग समेटिए। कसैले घडी किन्छ, कसैले गहना। कसैले महँगो मदिरा किन्छ, कसैले फेसन। कसैले सुगन्ध र सौन्दर्य सामग्री किन्छ, कसैले यात्रा गर्दा विमानस्थलको खुद्रा पसलबाट उत्पादन खरिद गर्छ।
व्यवसायका फरक क्षेत्रबीच जोखिम पनि बाँडियो।
पुराना ब्रान्ड किन्नु, नयाँ मूल्य सिर्जना गर्नु
अर्नोको व्यापारिक यात्रालाई बुझ्न एउटा शब्द अत्यन्त महत्वपूर्ण छ, त्यो हो अधिग्रहण।
एलभीएमएचको इतिहासमा अधिग्रहण सुरुदेखि नै विस्तारको महत्वपूर्ण माध्यम रह्यो। समूहले पुराना र स्थापित मिजोनलाई आफ्नो संरचनामा ल्याउँदै उनीहरूको पहिचान कायम राखेर विस्तार गर्ने मोडल बनायो।
सन् १९८८ मा गिभेन्ची र परफ्युम्स गिभेन्ची एलभीएमएचमा आए। त्यसपछि लोएवे र सेलिनजस्ता ब्रान्ड थपिए। सन् १९९६ मा लोएवे र सेलिन समूहमा आएका थिए। यो सामान्य कम्पनी किन्ने रणनीति थिएन। अर्नोको दृष्टिकोणमा पुरानो ब्रान्डसँग दुईवटा सम्पत्ति हुन्छन्।
पहिलो, इतिहास। दोस्रो, ग्राहकको मनमा बसेको प्रतिष्ठा।
यदि कम्पनीले त्यो इतिहास जोगाउँदै नयाँ डिजाइन, नयाँ बजार र आधुनिक व्यवस्थापनसँग जोड्न सक्यो भने पुरानो ब्रान्डबाट नयाँ मूल्य सिर्जना गर्न सकिन्छ।
यही कारण एलभीएमएचको विस्तारमा ‘ब्रान्ड पोर्टफोलियो’ अत्यन्त महत्वपूर्ण भयो।
एकै क्षेत्रमा धेरै कम्पनी राखेर प्रतिस्पर्धा गराउनेभन्दा फरक पहिचान भएका ब्रान्डलाई फरक ग्राहक र बजारका लागि विकास गरियो।
सन् २०११ मा बुल्गारी एलभीएमएचको घडी तथा गहना व्यवसायमा आयो। बुल्गारी परिवारको बहुमत सेयर एलभीएमएचमा योगदान गर्ने सम्झौता अघि बढेपछि समूहले सो व्यवसायलाई थप विस्तार गर्ने बाटो खोल्यो।
पछि यही रणनीति टिफानी एन्ड कम्पनीसम्म पुग्यो।
टिफानीको इतिहास, गहनाको प्रतिष्ठा र अमेरिकी बजारमा उसको पहिचान एलभीएमएचको घडी तथा गहना व्यवसायका लागि ठूलो रणनीतिक सम्पत्ति बन्यो।
यसले अर्नोको एउटा विशेषता देखाउँछ। उनी सधैँ नयाँ ब्रान्ड शून्यबाट निर्माण गर्न मात्र केन्द्रित भएनन्। पहिल्यै ग्राहकको मनमा मूल्य बनाइसकेका ब्रान्डलाई पहिचान गरेर त्यसमा पूँजी, व्यवस्थापन र विश्वव्यापी विस्तारको शक्ति थप्ने बाटो रोजे।
व्यवसायको भाषामा यो समय बचाउने रणनीति पनि थियो। शून्यबाट ब्रान्ड बनाउन दशकौँ लाग्न सक्छ। तर सय वर्ष पुरानो नाम, डिजाइन परम्परा र ग्राहकको विश्वास भएको ब्रान्ड खरिद गरेर त्यसलाई नयाँ बजारमा लैजान सकिन्छ।
अर्नोले यही सम्भावनालाई आफ्नो व्यापारिक मोडलको केन्द्रमा राखे।
विलासितालाई उत्पादन होइन अनुभव बनाउने रणनीति
एलभीएमएचको सफलता केवल महँगा सामान बेच्नुमा सीमित छैन। विलासी उत्पादनको मूल्यमा उत्पादन लागतको भूमिका हुन्छ। त्यससँगै ब्रान्डको इतिहास, डिजाइन, शिल्प, पसलको वातावरण, ग्राहक सेवा, विज्ञापन, सेलिब्रिटी संस्कृति, फेसन शो, कला र सामाजिक प्रतिष्ठा पनि जोडिन्छ।
अर्नोले यी सबै पक्षलाई एउटै व्यावसायिक संरचनामा राखे। समूहको आधिकारिक व्यापारिक मोडलमा उत्पादनको कच्चा पदार्थदेखि उत्पादन, वितरण र छनोट गरिएको खुद्रा बिक्रीसम्मको मूल्य शृंखलामा नियन्त्रण र समन्वयलाई महत्वपूर्ण मानिएको छ।
यसको अर्थ एउटा महँगो झोला बेच्ने मात्र होइन। त्यो झोला कुन सामग्रीबाट बन्यो, कहाँ बन्यो, कसले बनायो, डिजाइन कस्तो छ, पसलमा कसरी प्रस्तुत गरियो, ग्राहकले कस्तो अनुभव पाए र उत्पादन किन विशेष मानिनुपर्छ भन्ने पूरा कथा निर्माण गर्नु हो।
त्यसैले एलभीएमएचका धेरै पसल केवल बिक्रीस्थलजस्ता देखिँदैनन्। उनीहरूलाई ब्रान्डको अनुभव दिने ठाउँका रूपमा विकास गरिएको छ। यहीँ अर्नोको व्यापारिक दर्शन र सामान्य खुद्रा व्यवसायबीचको फरक देखिन्छ।
सामान्य खुद्रा व्यवसायमा ग्राहकलाई उत्पादनतर्फ आकर्षित गरेर बिक्री गरिन्छ। विलासी व्यवसायमा ग्राहकले उत्पादन किन्नुअघि नै ब्रान्डप्रतिको चाहना निर्माण गरिन्छ।
उत्पादन हातमा पुगेपछि पनि त्यो चाहना कायम रहन्छ। यसरी ब्रान्ड आफैँ सम्पत्ति बन्छ।
धेरै ब्रान्ड, एउटै व्यवस्थापन शक्ति
एलभीएमएचको अर्को ठूलो शक्ति यसको विकेन्द्रीकृत व्यवस्थापन हो।
समूहको आधिकारिक मिशनअनुसार विकेन्द्रीकृत संगठनले निर्णय क्षमतालाई चुस्त राख्ने, व्यक्तिगत पहललाई प्रोत्साहन गर्ने र प्रत्येक व्यवसायलाई जिम्मेवारीसहित अघि बढाउने उद्देश्य राख्छ।
यसको अर्थ पेरिसस्थित मुख्यालयबाट हरेक डिजाइन र उत्पादनको निर्णय गर्ने होइन। हरेक मिजोनले आफ्नै बजार, डिजाइन, उत्पादन र पहिचानमा काम गर्न सक्छ। समूहले आवश्यक स्रोत, पूँजी, व्यवस्थापन र विश्वव्यापी नेटवर्क उपलब्ध गराउँछ।
यो मोडलले ठूलो समूहमा देखिने एउटा सामान्य समस्या घटाउन खोज्छ।
कम्पनी ठूलो हुँदै जाँदा निर्णय प्रक्रिया पनि ठूलो हुन्छ। सबै कुरा एउटै केन्द्रबाट नियन्त्रण गर्न खोज्दा गति कम हुन सक्छ। एलभीएमएचले ब्रान्डलाई तुलनात्मक रूपमा स्वतन्त्र राखेर समूहको शक्ति पछाडिबाट उपलब्ध गराउने बाटो रोजेको छ।
यसले उद्यमशीलता र संस्थागत पूँजीबीचको संयोजन बनाएको छ। अर्नोको दृष्टिमा यो महत्वपूर्ण थियो। पुरानो ब्रान्डलाई ठूलो कम्पनीको सामान्य उत्पादनमा परिणत गरियो भने उसको विशिष्टता हराउन सक्छ। त्यसैले ब्रान्डको आत्मा जोगाउँदै व्यवसाय विस्तार गर्नुपर्ने थियो।
यही मोडलले आज एलभीएमएचलाई विभिन्न क्षेत्रको ठूलो समूह बनाएको छ।
फेसनभन्दा बाहिर फैलिएको साम्राज्य
एलभीएमएचलाई केवल फेसन कम्पनी भन्नु अपूरो हुन्छ।
२०२५ मा समूहको सबैभन्दा ठूलो आम्दानी फेसन तथा छालाजन्य उत्पादनबाट आयो। यो क्षेत्रमा ३७.७७ अर्ब युरोको आम्दानी भएको थियो। त्यसपछि छनोट गरिएको खुद्रा व्यवसायबाट १८.३५ अर्ब युरो, घडी तथा गहनाबाट १०.४९ अर्ब युरो, सुगन्ध तथा सौन्दर्य सामग्रीबाट ८.१७ अर्ब युरो र मदिरा तथा स्पिरिटबाट ५.३६ अर्ब युरो आम्दानी भएको थियो।
यसले अर्नोको व्यापारिक रणनीतिको अर्को पक्ष देखाउँछ। उनी एउटा उत्पादनमा निर्भर भएनन्।
फेसन र छालाजन्य उत्पादनले ठूलो आम्दानी गरिरहँदा गहना, घडी, सुगन्ध, सौन्दर्य सामग्री, मदिरा र खुद्रा व्यवसायले समूहलाई थप आधार दिएका छन्।
२०२५ मा एलभीएमएचको कुल आम्दानी ८०.८०७ अर्ब युरो पुगेको थियो। सन् २०२४ मा यो ८४.६८३ अर्ब युरो थियो। त्यसैगरी २०२५ मा नियमित सञ्चालनबाट नाफा १७.७५५ अर्ब युरो र समूहको हिस्सामा खुद नाफा १०.८७८ अर्ब युरो थियो।
अर्थात् विलासी वस्तुको बजार सधैँ सहज हुँदैन। २०२५ मा कुल आम्दानी अघिल्लो वर्षको तुलनामा घटेको थियो। फेसन तथा छालाजन्य उत्पादनको आम्दानी पनि घटेको थियो। मदिरा तथा स्पिरिट व्यवसायमा पनि गिरावट आयो। तर घडी तथा गहना र छनोट गरिएको खुद्रा व्यवसायमा वृद्धि देखियो।

एलभीएमएचको पेरिस मुख्यालय । स्रोतः LVMH / 22 Avenue Montaigne
यही विविधीकरण ठूलो समूहको जोखिम व्यवस्थापनसँग जोडिन्छ। एउटा बजारमा कमजोरी आउँदा अर्को क्षेत्रमा तुलनात्मक रूपमा राम्रो प्रदर्शन हुन सक्छ।
२००८ को संकटदेखि महामारीसम्म
विलासी वस्तुको व्यापार अर्थतन्त्रसँग गहिरोसँग जोडिएको हुन्छ। आर्थिक संकटमा मानिसले घर, गाडी, यात्रा वा महँगा फेसन सामग्रीमा गर्ने खर्च घटाउन सक्छन्। त्यसैले विलासी ब्रान्डका लागि आर्थिक चक्र सधैँ चुनौतीपूर्ण हुन्छ।
तर अर्नोको समूहले दशकौँमा यस्तो व्यवसायिक संरचना बनाएको छ, जहाँ भौगोलिक र उत्पादनगत विविधीकरणले जोखिम कम गर्न सहयोग गर्छ।
अमेरिका, युरोप, एसिया र जापानजस्ता बजारमा मागको गति एउटै हुँदैन।
२०२५ को वित्तीय विवरणले पनि यही कुरा देखाउँछ। युरोपमा वर्षको दोस्रो भागमा कमजोरी देखिएको थियो।
अमेरिकामा स्थानीय मागले सहयोग गरेको थियो। जापानमा अघिल्लो वर्षको पर्यटक खर्चसँग तुलना गर्दा कमजोरी आयो। एसियाका अन्य बजारमा वर्षको दोस्रो भागमा सुधार देखिएको एलभीएमएचले जनाएको छ।
यसबाट अर्नोको व्यापारिक मोडलको अर्को पक्ष बुझिन्छ।
विश्वभर एउटै ब्रान्ड बेच्नु मात्र अन्तर्राष्ट्रिय व्यापार होइन। कुन बजारमा कुन ग्राहक छ, कुन समयमा कस्तो माग छ र कुन उत्पादनले कहाँ राम्रो प्रतिक्रिया पाउँछ भन्ने बुझेर पूँजी र उत्पादनलाई व्यवस्थापन गर्नु पनि अन्तर्राष्ट्रिय व्यापार हो।
महामारीपछि बदलिएको विलासी बजार
कोभिड–१९ महामारीले विलासी वस्तुको बजारमा पनि ठूलो असर पार्यो। पसल बन्द भए। अन्तर्राष्ट्रिय यात्रा रोकियो। पर्यटकको खर्च घट्यो। लक्जरी खुद्रा व्यापारले ठूलो झट्का बेहोर्यो।
तर महामारीपछि उपभोक्ताको व्यवहार फेरिँदै जाँदा विलासी वस्तुको बजार पनि नयाँ ढंगले अघि बढ्यो।
अनलाइन बिक्री, डिजिटल ब्रान्ड अनुभव, सामाजिक सञ्जाल, प्रत्यक्ष ग्राहक सम्बन्ध र नयाँ पुस्ताको उपभोक्ता व्यवहार महत्वपूर्ण बने।
एलभीएमएचले पनि डिजिटल र प्रविधिलाई आफ्नो विकासको क्षेत्रमा राख्दै आएको छ। समूहले आफ्नो मिशनमा नयाँ प्रविधिले सिर्जना गर्ने सम्भावनालाई महत्वपूर्ण विकास क्षेत्रका रूपमा उल्लेख गरेको छ।
तर अर्नोको मोडलको एउटा आधार भने परिवर्तन भएन। त्यो हो ब्रान्डको चाहना।
सस्तो मूल्यमा धेरै सामान बेचेर बजार जित्नेभन्दा उत्पादनलाई चाहनायोग्य बनाउने। ग्राहकलाई आवश्यक भएर मात्र होइन, ब्रान्डसँग जोडिन चाहेर सामान किन्न प्रेरित गर्ने।
विलासी व्यवसायको मूल अर्थ यही हो।
परिवार पनि व्यवसायको हिस्सा
एलभीएमएचलाई केवल अर्नोको व्यक्तिगत कम्पनीका रूपमा बुझ्नु पनि पर्याप्त हुँदैन।
यो परिवारको स्वामित्व र दीर्घकालीन व्यवस्थापनसँग जोडिएको समूह हो। अर्नो स्वयं ‘Groupe Arnault’ नामको पारिवारिक होल्डिङ कम्पनीसँग जोडिएका छन्। एलभीएमएचले आफूलाई पारिवारिक समूहका रूपमा प्रस्तुत गर्दै आएको छ।
अर्नोका पाँच सन्तान छन् र उनका सन्तानहरू पनि समूहका विभिन्न व्यवसाय तथा व्यवस्थापन संरचनासँग जोडिएका छन्। यसले एउटा अर्को महत्वपूर्ण प्रश्न जन्माउँछ। दशकौँसम्म निर्माण गरिएको व्यवसाय कसरी अर्को पुस्तामा हस्तान्तरण हुन्छ?
पारिवारिक व्यवसायमा उत्तराधिकार केवल सेयर हस्तान्तरण होइन। व्यवस्थापन क्षमता, ब्रान्डको दर्शन, पूँजीको अनुशासन र दीर्घकालीन सोच पनि हस्तान्तरण गर्नुपर्ने हुन्छ।
अर्नोले आफ्नो समूहलाई पारिवारिक स्वामित्वमा राख्दै संस्थागत आकार दिन खोजेका छन्। यही कारण एलभीएमएचको संरचना एउटै व्यक्तिमा मात्र निर्भर रहने खालको होइन। दर्जनौँ मिजोन, हजारौँ पसल र दुई लाखभन्दा बढी कर्मचारी भएको समूह सञ्चालन गर्न व्यवस्थापनको संस्थागत तह आवश्यक हुन्छ।
२०२५ को अन्त्यसम्म समूहमा २ लाख ११ हजार ५५२ कर्मचारी थिए। तीमध्ये ७२ हजार ७९५ जना फेसन तथा छालाजन्य व्यवसायमा, ५९ हजार ४१६ जना छनोट गरिएको खुद्रा व्यवसायमा, ३२ हजार ५०५ जना सुगन्ध तथा सौन्दर्य सामग्रीमा र २७ हजार ८०९ जना घडी तथा गहनाको क्षेत्रमा कार्यरत थिए।
यसको आकार एउटा व्यक्तिको सफलताको कथाभन्दा धेरै ठूलो भइसकेको छ। तर त्यसको रणनीतिक दिशा अर्नोको दशकौँ लामो नेतृत्वसँग जोडिएको छ।
सम्पत्ति होइन, ब्रान्डको शक्ति
अर्नोको व्यवसायिक यात्राबाट देखिने सबैभन्दा महत्वपूर्ण पाठ पूँजीको उपयोगसँग सम्बन्धित छ। धेरै पैसा हुनु र पैसा कहाँ लगानी गर्ने भन्ने बुझ्नु फरक कुरा हो।
एलभीएमएचले पुराना ब्रान्डमा लगानी गर्दा केवल बिक्री बढाउने लक्ष्य राखेन। ब्रान्डको इतिहास, शिल्प, डिजाइन र पहिचान जोगाएर त्यसलाई विश्वव्यापी बजारमा विस्तार गरियो।
यही कारण एलभीएमएचको व्यवसायमा ‘ब्रान्ड इक्विटी’ ठूलो सम्पत्ति बनेको छ। एउटा पुरानो नामको आर्थिक मूल्य किन हुन्छ?
किनभने ग्राहकले त्यस नामसँग गुणस्तर, इतिहास र सामाजिक प्रतिष्ठा जोडेको हुन्छ। कुनै नयाँ कम्पनीले यही विश्वास निर्माण गर्न दशकौँ खर्च गर्न सक्छ। तर स्थापित ब्रान्डसँग त्यो सम्पत्ति पहिल्यै हुन्छ।
अर्नोले यही सम्पत्तिको मूल्य बुझेर अधिग्रहणलाई व्यवसाय विस्तारको प्रमुख हतियार बनाए।
तर अधिग्रहण गरेर मात्र सफलता आउँदैन। गलत व्यवस्थापन भयो भने पुरानो ब्रान्डको मूल्य घट्न सक्छ। अत्यधिक उत्पादनले दुर्लभता घटाउन सक्छ। कमजोर डिजाइनले प्रतिष्ठा बिगार्न सक्छ। धेरै छुट दिँदा ब्रान्डको प्रिमियम छवि कमजोर हुन सक्छ।
त्यसैले विलासी व्यवसायमा वृद्धि र नियन्त्रणबीच सन्तुलन आवश्यक हुन्छ। एलभीएमएचको मोडलले यही सन्तुलन कायम राख्ने प्रयास गर्छ।
कला, संस्कृति र व्यवसाय
अर्नोको व्यापारिक यात्राको अर्को पक्ष कला र संस्कृतिसँग जोडिएको छ। एलभीएमएचले कला, संस्कृति र सिर्जनात्मक क्षेत्रमा लामो समयदेखि लगानी गर्दै आएको छ। सन् २००६ मा अर्नोको पहलमा लुई भुइटन फाउन्डेसनको काम अघि बढ्यो र सन् २०१४ मा सार्वजनिक रूपमा खोलियो।
यो केवल सामाजिक उत्तरदायित्वको कार्यक्रमका रूपमा हेर्न मिल्दैन।
विलासी ब्रान्डको मूल आधार नै कला, डिजाइन, शिल्प र सांस्कृतिक इतिहाससँग जोडिएको हुन्छ। त्यसैले कला र व्यवसायबीचको सम्बन्ध अर्नोको व्यापारिक संरचनामा स्वाभाविक रूपमा देखिन्छ।
ब्रान्डले जति धेरै सांस्कृतिक अर्थ बोक्छ, ग्राहकका लागि त्यसको भावनात्मक मूल्य पनि त्यति नै बलियो हुन सक्छ। यसले उत्पादनको मूल्य निर्धारणमा पनि प्रभाव पार्छ।
एउटा सामान्य झोला र लुई भुइटनको झोलाबीचको मूल्य फरक केवल छाला वा सिलाइको लागतले व्याख्या गर्न सकिँदैन।
त्यहाँ ब्रान्डको इतिहास, डिजाइन, शिल्प, वितरण, पसलको अनुभव र सामाजिक अर्थ जोडिएको हुन्छ। अर्नोले यही अदृश्य मूल्यलाई व्यवस्थित व्यवसायमा परिणत गरेका छन्।
आजको एलभीएमएच र नयाँ चुनौती
८० अर्ब युरोभन्दा बढी वार्षिक आम्दानी गर्ने समूह बनेपछि पनि एलभीएमएचका लागि चुनौती समाप्त भएको छैन।
२०२५ को वित्तीय प्रदर्शनले विलासी बजारमा दबाब रहेको देखाएको छ। कुल आम्दानी २०२४ को ८४.७ अर्ब युरोबाट २०२५ मा ८०.८ अर्ब युरोमा झर्यो। नियमित सञ्चालनको नाफा पनि १९.६ अर्ब युरोबाट १७.८ अर्ब युरोमा घट्यो।
फेसन तथा छालाजन्य व्यवसाय, जुन एलभीएमएचको सबैभन्दा ठूलो आम्दानी स्रोत हो, २०२५ मा ३७.७७ अर्ब युरोमा सीमित भयो। अघिल्लो वर्ष यो ४१.०६ अर्ब युरो थियो।
यसले एउटा महत्वपूर्ण कुरा देखाउँछ।
ठूलो ब्रान्ड हुनु भनेको बजारमा सधैँ वृद्धि भइरहनु होइन। आर्थिक वातावरण, मुद्राको उतारचढाव, पर्यटक खर्च, उपभोक्ताको व्यवहार, चीन तथा एसियाली बजारको अवस्था, भूराजनीतिक तनाव र नयाँ पुस्ताको बदलिँदो रुचिले विलासी उद्योगलाई प्रभावित गर्छ।
एलभीएमएचले २०२६ का लागि ब्रान्ड विकास, नवप्रवर्तन, लगानी, लागत व्यवस्थापन र उत्पादन तथा वितरणको गुणस्तरमा केन्द्रित रहने जनाएको छ।
यसको अर्थ अर्नोको मोडल अहिले पनि एउटै आधारमा टिकेको छ। ब्रान्डको चाहना कायम राख्ने। बर्नार्ड अर्नोको व्यापारिक पाठ
अर्नोको कथा केवल एक अर्बपतिको सफलताको कथा होइन। यो एउटा उद्योग परिवर्तनको कथा हो।
उनले निर्माण व्यवसायबाट करिअर सुरु गरे। निर्माण कम्पनीको नेतृत्व गरे। त्यसपछि संकटमा परेको व्यापारिक संरचना पुनर्संरचना गर्ने जिम्मेवारी लिए। क्रिस्चियन डिओरलाई आफ्नो रणनीतिक संरचनाको केन्द्रमा राखे। एलभीएमएचको नेतृत्व सम्हालेपछि दर्जनौँ ऐतिहासिक ब्रान्डलाई एउटै समूहमा ल्याए।
तर ती ब्रान्डलाई एउटै उत्पादनजस्तो बनाएनन्। हरेकलाई आफ्नै पहिचानसहित अघि बढाए। यही रणनीतिले एलभीएमएचलाई सामान्य बहुराष्ट्रिय कम्पनीभन्दा फरक बनायो।
यसबाट व्यवसायका लागि केही महत्वपूर्ण पाठ निकाल्न सकिन्छ। पहिलो, पुरानो सम्पत्तिलाई बेकार नमान्ने।
पुरानो ब्रान्ड, पुरानो उत्पादन, पुरानो सीप वा पुरानो वितरण सञ्जालमा पनि नयाँ मूल्य सिर्जना गर्न सकिन्छ।
दोस्रो, सबै व्यवसाय एउटै तरिकाले चलाउनुपर्छ भन्ने छैन। विभिन्न ब्रान्डका आफ्नै ग्राहक, इतिहास र बजार हुन्छन्। व्यवस्थापनले ती फरकपनलाई नष्ट गर्नेभन्दा त्यसलाई व्यवसायिक शक्ति बनाउन सक्छ।
तेस्रो, वृद्धि मात्र लक्ष्य होइन।
एलभीएमएचको इतिहासमा अधिग्रहण धेरै छन्। तर अधिग्रहणपछि ब्रान्डको पहिचान जोगाउने काम पनि त्यत्तिकै महत्वपूर्ण छ।
चौथो, ग्राहकले उत्पादन मात्र किन्दैन। उसले अनुभव, प्रतिष्ठा, इतिहास र पहिचान पनि किन्छ।
पाँचौँ, अन्तर्राष्ट्रिय विस्तार भनेको एउटै उत्पादन सबै देशमा बेच्नु मात्र होइन। स्थानीय बजार, ग्राहकको संस्कृति र माग बुझेर विश्वव्यापी संरचना निर्माण गर्नु हो।
छैटौँ, पारिवारिक व्यवसायलाई संस्थागत बनाउन सकिन्छ।
परिवारको स्वामित्व कायम राख्दै विश्वभरका लाखौँ ग्राहक र दुई लाखभन्दा बढी कर्मचारी भएको संस्थागत संरचना विकास गर्न सकिन्छ।
निर्माण व्यवसायबाट विश्वव्यापी विलासी साम्राज्यसम्म
बर्नार्ड अर्नोले आफ्नो करिअर सुरु गर्दा उनको भविष्य विश्वकै ठूलो विलासी व्यापार समूहको नेतृत्वमा पुग्छ भन्ने निश्चित थिएन।
उनले निर्माण व्यवसायमा इन्जिनियरका रूपमा काम गरे। व्यवस्थापन सिके। कम्पनीको नेतृत्व गरे। त्यसपछि व्यापार पुनर्संरचनाको दुनियाँमा प्रवेश गरे।
सन् १९८४ मा क्रिस्चियन डिओर उनको रणनीतिक यात्राको महत्वपूर्ण हिस्सा बन्यो।
सन् १९८७ मा एलभीएमएच बन्यो।
सन् १९८९ मा अर्नो यसको प्रमुख सेयरधनी र अध्यक्ष बने।
त्यसपछि तीन दशकभन्दा लामो अवधिमा समूहले गिभेन्ची, लोएवे, सेलिन, बुल्गारीलगायतका ब्रान्डहरू थप्दै आफ्नो पोर्टफोलियो विस्तार गर्यो। समूह आज मदिरादेखि फेसन, गहनादेखि सौन्दर्य सामग्री र खुद्रा व्यापारसम्म फैलिएको छ।
२०२५ मा ८०.८ अर्ब युरोभन्दा बढी आम्दानी, १०.९ अर्ब युरो समूहको हिस्सामा खुद नाफा, ७५ भन्दा बढी मिजोन, ६ हजारभन्दा बढी पसल र दुई लाख ११ हजारभन्दा बढी कर्मचारी भएको समूह त्यसैको परिणाम हो। तर अर्नोको वास्तविक व्यवसायिक उपलब्धि यति अंकमा मात्र सीमित छैन।
उनले एउटा यस्तो मोडल विकास गरे जसमा पुरानो ब्रान्डलाई मेटाएर नयाँ कम्पनी बनाइँदैन। बरु पुरानो पहिचानलाई जोगाएर नयाँ पूँजी, नयाँ बजार, नयाँ व्यवस्थापन र नयाँ ग्राहकसँग जोडिन्छ।
त्यसैले लुई भुइटन आज पनि लुई भुइटन नै छ। डिओर डिओर नै छ। बुल्गारी बुल्गारी नै छ। टिफानी टिफानी नै छ।
तर यी ब्रान्डहरू अलग–अलग कम्पनीको रूपमा मात्र होइन, एउटा विशाल संस्थागत संरचनाभित्र काम गर्छन्।
यही नै बर्नार्ड अर्नोको व्यापारिक प्रयोगको सबैभन्दा ठूलो परिणाम हो। उनले एउटा नयाँ विलासी ब्रान्ड बनाएका होइनन्। उनले संसारका स्थापित विलासी ब्रान्डहरूको शक्ति एउटै व्यापारिक संरचनामा जोडेर एउटा नयाँ किसिमको साम्राज्य निर्माण गरे।
निर्माण व्यवसायमा इन्जिनियरका रूपमा सुरु भएको यात्रा अन्ततः संसारकै सबैभन्दा शक्तिशाली विलासी व्यवसाय समूहको नेतृत्वसम्म पुग्यो। र यो यात्राको केन्द्रमा एउटा सरल तर गहिरो व्यापारिक विचार थियो।
ब्रान्डको इतिहास जोगाएर त्यसको भविष्य निर्माण गर्न सकिन्छ। एलभीएमएचको आजको आकार हेर्दा यही विचारको आर्थिक शक्ति देखिन्छ।
