मोबाइल फोनको पछाडि टाँसिएको सानो गोलो उपकरण आज विश्वका धेरै मानिसका लागि अपरिचित वस्तु होइन।
फोन समात्न सहज बनाउने, भिडियो हेर्दा अड्याउने र हातबाट फोन खस्ने जोखिम घटाउने यो सामान्य देखिने सामग्रीको पछाडि भने एउटा असामान्य व्यवसायिक यात्रा छ।
यसको सुरुवात ठूलो प्रविधि कम्पनीको अनुसन्धान केन्द्रबाट भएको थिएन, न त ठूलो लगानी र व्यावसायिक अनुभवबाट नै भएको थियो।
अमेरिकाका दर्शनशास्त्रका प्राध्यापक डेभिड बार्नेटले आफ्नै मोबाइल फोन प्रयोग गर्दा भोगेको एउटा सामान्य झन्झटलाई समाधान गर्ने प्रयासबाट यसको सुरुवात गरेका थिए।
सन् २०१० मा हेडफोनको तार पटकपटक अल्झिएपछि बार्नेटले मोबाइलको पछाडि दुईवटा बटन टाँसेर त्यसमा तार बेर्न थाले।
सुरुमा त्यो केवल व्यक्तिगत प्रयोग थियो। पछि उनले त्यही वस्तुले फोन समात्न पनि सहज बनाएको महसुस गरे। त्यसपछि सुरु भयो आकार, संरचना र प्रयोगको तरिका परिवर्तन गर्दै नमुना बनाउने क्रम।
करिब दुई वर्षको प्रयोगपछि पपसकेट्सको प्रारम्भिक स्वरूप तयार भयो र सन् २०१४ बाट कम्पनीले व्यावसायिक बिक्री सुरु गर्यो।
आज पपसकेट्सले २९ करोडभन्दा बढी मोबाइल ग्रिप बिक्री गरिसकेको कम्पनीले जनाएको छ। यसको बजार ७५ भन्दा बढी देशमा पुगेको छ र मोबाइल ग्रिपबाट सुरु भएको व्यवसाय अहिले मोबाइलका खोल, बटुवा, अड्याउने सामग्री, ब्याट्री तथा चार्जरसम्म विस्तार भएको छ।
यो यात्रा एउटा सानो उत्पादनको सफलताको कथा मात्र होइन।
सीमित पुँजीमा उत्पादन सुरु गर्ने, बजारको प्रतिक्रिया बुझ्दै सुधार गर्ने, ठूलो खुद्रा बजारमा प्रवेश गर्ने, नक्कली उत्पादनसँग लड्ने, अमेजनजस्तो विशाल व्यापारिक मञ्चसँग आफ्नो व्यवसायिक हितका लागि टकराउने र अन्ततः संस्थापकले नेतृत्व अर्को पुस्तालाई हस्तान्तरण गर्ने निर्णयसम्म पुगेको यो यात्रा आधुनिक उपभोक्ता व्यवसाय निर्माणको एउटा उल्लेखनीय उदाहरण बनेको छ।
प्राध्यापकको समस्या, व्यवसायको अवसर
डेभिड बार्नेटले पपसकेट्स सुरु गर्दा उनी व्यावसायिक उद्यमी थिएनन्। उनी दर्शनशास्त्रका प्राध्यापक थिए। व्यापार, उत्पादन व्यवस्थापन र ठूलो खुद्रा बजारको अनुभवभन्दा उनको पहिचान विश्वविद्यालयको अध्यापनसँग जोडिएको थियो।
तर उनको दैनिक जीवनमा एउटा सानो समस्या थियो। हेडफोनको तार खल्तीमा राख्दा बेरिन्थ्यो, निकाल्दा अल्झिन्थ्यो र मोबाइलसँगै बोकेर हिँड्न असहज हुन्थ्यो। बार्नेटले त्यसको समाधान खोज्दै मोबाइलको पछाडि दुईवटा बटन टाँसे। तारलाई ती बटनमा बेर्दा समस्या केही हदसम्म समाधान भयो।
त्यो समाधान हेर्दा सामान्य थियो। तर त्यसमा अर्को उपयोगिता पनि देखियो। मोबाइल समात्दा बटनले औंलालाई अडिने ठाउँ दिन्थ्यो। मोबाइलको आकार ठूलो हुँदै गएको समयमा फोनलाई हातमा स्थिर राख्ने यो सुविधा आफैंमा उपयोगी हुन सक्ने बार्नेटले बुझे।
त्यसपछि उनले आफ्नो पहिलो नमुनालाई अन्तिम उत्पादन मानेनन्। आकार घटाए, संरचना बदले, प्रयोग गरेर हेरे र फेरि सुधार गरे। कम्पनीको प्रारम्भिक विवरणअनुसार पपसकेट्सको स्वरूप तयार पार्न उनले दर्जनौं नमुना बनाए।
यही ठाउँमा बार्नेटको व्यवसायिक सोच देखिन्छ। उनले पहिले बजारको ठूलो आकार अनुमान गरेर उत्पादन बनाएका थिएनन्। आफ्नै दैनिक जीवनको समस्या समाधान गर्ने प्रयास गरे। त्यसपछि त्यो समाधान अरू मानिसका लागि पनि उपयोगी हुन सक्छ कि सक्दैन भन्ने परीक्षण गरे।
व्यवसायमा धेरै सफल उत्पादनको सुरुवात यही बाटोबाट हुन्छ। उपभोक्ताले के किन्न सक्छ भनेर अनुमान गर्नुभन्दा पहिले उपभोक्ताले के समस्या भोगिरहेको छ भनेर बुझ्नु धेरै महत्वपूर्ण हुन्छ।
बार्नेटले त्यही गरे।
सानो पुँजीबाट बजार परीक्षण
विचार तयार भएपछि अर्को चुनौती थियो उत्पादनका लागि आवश्यक रकम जुटाउनु। बार्नेटसँग ठूलो लगानी थिएन। उनले ठूलो संस्थागत लगानीकर्ताको खोजी गरेर व्यवसाय सुरु गर्ने बाटो पनि रोजेनन्।
सन् २०१२ मा उनले किकस्टार्टरमार्फत प्रारम्भिक रकम जुटाउने प्रयास गरे। १२ हजार डलरको लक्ष्य राखिएको अभियानमा ५२० जनाले १८ हजार ५९१ डलर बराबरको प्रतिबद्धता जनाए।
यो रकम ठूलो व्यवसाय सुरु गर्न पर्याप्त थिएन। तर उत्पादनको प्रारम्भिक परीक्षणका लागि महत्वपूर्ण थियो। अझ महत्वपूर्ण कुरा, त्यसले बजारमा अपरिचित मानिस पनि उत्पादनका लागि पैसा खर्च गर्न तयार छन् कि छैनन् भन्ने संकेत दियो।
बार्नेटले त्यसपछि आफ्नै स्रोत र परिचित लगानीकर्ताबाट थप रकम जुटाए। उनले करिब पाँच लाख डलर बराबरको प्रारम्भिक रकमबाट कम्पनी अघि बढाएका थिए र संस्थागत लगानीको भर परेनन्।
पछिल्लो समय टेकक्रन्चले पनि पपसकेट्सको यात्रा पाँच लाख डलरभन्दा कम पुँजीबाट सुरु भएको र कम्पनीले परम्परागत संस्थागत लगानीको बाटो नलिएको उल्लेख गरेको छ।
यसले पपसकेट्सको व्यवसायिक संरचनालाई अरू धेरै प्रविधि कम्पनीभन्दा फरक बनायो। कम्पनीले ठूलो रकम उठाएर तीव्र विस्तार गर्नेभन्दा बिक्रीबाट आउने आम्दानीलाई व्यवसाय विस्तारमा प्रयोग गर्ने बाटो समात्यो।
बार्नेटका लागि पहिलो लक्ष्य ठूलो कम्पनी बनाउनु थिएन। उत्पादन बजारमा चल्छ कि चल्दैन भन्ने प्रमाणित गर्नु थियो।
त्यसको पहिलो प्रमाण उनलाई ग्राहकबाट प्राप्त भयो।
१० डलरको वस्तुले बजार समात्यो
पपसकेट्सको प्रारम्भिक उत्पादनको मूल्य करिब १० डलर थियो। सानो आकारको यो वस्तु फोनको पछाडि टाँसिन्थ्यो र आवश्यक पर्दा बाहिर तान्न सकिन्थ्यो। प्रयोग नभएको बेला फेरि भित्र धसिन्थ्यो।
उत्पादनको उपयोगिता विस्तारै बढ्दै गयो। फोन समात्न सहज हुने मात्र होइन, भिडियो हेर्दा फोन अड्याउन सकिने, तस्वीर खिच्दा पकड बलियो बनाउने र हेडफोनको तार व्यवस्थापन गर्ने काम पनि यसबाट हुन थाल्यो।
यससँगै डिजाइनले अर्को भूमिका खेल्यो। विभिन्न रङ, चित्र र ढाँचामा उत्पादन आउन थालेपछि पपसकेट्स फोनको उपयोगिता बढाउने सामग्रीबाट व्यक्तिगत शैलीसँग जोडिएको वस्तु बन्न थाल्यो।
यही परिवर्तन व्यवसायका लागि निर्णायक बन्यो। मानिसले एउटा उपयोगी वस्तु मात्र किनेनन्। उनीहरूले आफ्नो फोनलाई फरक देखाउने सामग्री पनि किन्न थाले। चम्किलो र फरक डिजाइन भएका पपसकेट्स आफैं कुराकानी सुरु गर्ने माध्यम बन्न थाले।
यसले कम्पनीलाई महँगो प्रचारमा निर्भर हुनबाट पनि जोगायो। एउटा ग्राहकले अर्कोको फोनमा देख्थ्यो, त्यसबारे सोध्थ्यो र त्यसपछि नयाँ ग्राहक बन्ने सम्भावना बढ्थ्यो।
सन् २०१४ मा कम्पनीले करिब ३० हजार पपसकेट्स बिक्री गरेको थियो। त्यसको केही वर्षमै बिक्री करोडौं एकाइमा पुग्यो। सन् २०१७ मा कम्पनीले करिब तीन करोड ५० लाख उत्पादन बिक्री गरेको बार्नेटले बताएका थिए।
यसको प्रभाव आम्दानीमा पनि देखियो। सन् २०१४ देखि २०१७ को बीच कम्पनीको आम्दानी १७ हजार ४२३ प्रतिशतले बढेर २०१७ मा १६ करोड ९० लाख डलर पुगेको इन्कले जनाएको थियो।
ग्यारेजमा सुरु भएको व्यवसाय अब तीव्र गतिमा विस्तार भइरहेको थियो।
असफल उत्पादनले सिकाएको ठूलो पाठ
सफलताको यो यात्रा भने सहज थिएन। पपसकेट्सले बजार समातेको समयमा नै उत्पादनसम्बन्धी गम्भीर समस्या आयो।
सन् २०१४ मा बार्नेटले ठूलो मात्रामा उत्पादन गराएका थिए। बिक्री बढ्दै जाने अपेक्षा थियो। तर उत्पादनको ठूलो खेप नै प्रयोग गर्न नमिल्ने अवस्थामा आयो। त्यसबेला बार्नेट ४० हजार डलरभन्दा बढी ऋणमा रहेको इन्कले उल्लेख गरेको छ।
सानो कम्पनीका लागि यो गम्भीर संकट थियो। बिक्रीका लागि उत्पादन तयार हुनुपर्ने समयमा उत्पादन नै खराब भयो भने आम्दानी रोकिन्छ। त्यसमाथि उत्पादनमा लगानी भइसकेको हुन्छ र नयाँ उत्पादन बनाउन फेरि पैसा चाहिन्छ।
यही समस्या पपसकेट्सका लागि लगभग निर्णायक बन्न सक्थ्यो।
तर बार्नेट पछि हटेनन्। उनले उत्पादन प्रक्रियामा थप नियन्त्रण र गुणस्तर परीक्षण आवश्यक रहेको बुझे। उत्पादनको डिजाइन राम्रो हुनु मात्र पर्याप्त हुँदैन, ठूलो परिमाणमा एउटै गुणस्तर कायम गरेर उत्पादन गर्न सक्ने प्रणाली पनि चाहिन्छ भन्ने पाठ उनले यही घटनाबाट पाए।
२०२६ मा टेकक्रन्चसँगको कुराकानीमा बार्नेटले यही उत्पादनसम्बन्धी संकटलाई कम्पनी निर्माणको महत्वपूर्ण पाठका रूपमा सम्झिएका छन्। घरबाट सुरु भएको व्यवसाय ठूलो उत्पादन प्रणालीमा प्रवेश गर्दा उत्पादनको गुणस्तर र आपूर्ति व्यवस्थापनलाई सुरुदेखि नै गम्भीरतापूर्वक लिनुपर्ने उनको अनुभव छ।
पपसकेट्सको कथा यहाँबाट अर्को चरणमा प्रवेश गर्यो। उत्पादन बनाउने कम्पनीबाट प्रणाली निर्माण गर्ने कम्पनी बन्ने चरण।
ग्यारेजबाट ठूला पसलसम्म
पपसकेट्सको सुरुवाती बिक्री ग्यारेजबाट भएको थियो। बार्नेट आफैंले उत्पादन व्यवस्थापन गर्ने, ग्राहकको अर्डर हेर्ने र सामान पठाउने काम गर्थे। बिक्री बढ्दै गएपछि यो संरचना पर्याप्त रहेन।
सन् २०१५ मा टी मोबाइलसँग भएको पहिलो ठूलो खुद्रा सम्झौता कम्पनीका लागि महत्वपूर्ण मोड बन्यो। त्यसपछि उत्पादन ठूला खुद्रा पसलमा पुग्न थाल्यो। अमेजन, बेस्ट बाइ, टार्गेट, वालमार्टलगायतका बिक्री सञ्जालमा पपसकेट्स उपलब्ध हुन थाल्यो।
यसले कम्पनीलाई दुईवटा फाइदा दियो। पहिलो, ग्राहकसम्म पुग्ने दूरी घट्यो। दोस्रो, उत्पादनको विश्वसनीयता बढ्यो। ग्यारेजमा बिक्री भइरहेको सानो उत्पादन अब ठूला खुद्रा पसलको दराजमा राखिन थालेपछि उपभोक्ताको नजरमा पनि यसको स्वरूप बदलियो।
पपसकेट्सले सामाजिक सञ्जालमा प्रभावशाली व्यक्तिसँग सहकार्य गर्न पनि थाल्यो। सन् २०१६ मा प्रभावशाली व्यक्तित्व जेन्ना मार्बल्ससँग भएको सम्झौतालाई बार्नेटले कम्पनीका महत्वपूर्ण मोडमध्ये एक मानेका थिए।
त्यसपछि उत्पादन केवल फोनको सामग्री रहेन। यो युवा पुस्ताको शैली र लोकप्रिय संस्कृतिसँग जोडिन थाल्यो।
यही समयमा कम्पनीले विदेशमा पनि विस्तार गर्यो। सन् २०१७ सम्म पपसकेट्स ४० देशमा बिक्री भइरहेको र त्यस वर्ष ३ करोड ५० लाखभन्दा बढी एकाइ बिक्री भएको बार्नेटले बताएका थिए।
अमेजनसँगको टकराव
व्यवसाय ठूलो भएपछि पपसकेट्सले अर्को कठिन परीक्षा सामना गर्यो। त्यो परीक्षा उत्पादन वा ग्राहकसँग होइन, ठूलो व्यापारिक मञ्चसँग जोडिएको थियो।
अमेजन पपसकेट्सका लागि ठूलो बिक्री माध्यम बनिसकेको थियो। तर मूल्य निर्धारण र बिक्रीको नियन्त्रणसँग सम्बन्धित विषयमा दुवै पक्षबीच मतभेद बढ्यो।
सन् २०१८ को अन्त्यतिर पपसकेट्सले अमेजनमा आफ्नो उत्पादनको प्रत्यक्ष बिक्री रोक्ने निर्णय गर्यो। कम्पनीको मुख्य चासो आफ्नो उत्पादनको मूल्य विभिन्न खुद्रा बजारमा समान राख्नु र मूल्यमा आफ्नो नियन्त्रण कायम राख्नु थियो।
यो निर्णय सजिलो थिएन। ठूलो बिक्री मञ्च छाड्नु भनेको तत्काल बिक्रीमा असर पर्न सक्ने जोखिम स्वीकार गर्नु हो। तर बार्नेटले छोटो समयको बिक्रीभन्दा दीर्घकालीन व्यवसायिक नियन्त्रणलाई प्राथमिकता दिए।
२०२६ मा टेकक्रन्चले प्रकाशित गरेको विवरणअनुसार अमेजनसँगको टकरावको लागत पपसकेट्सका लागि करिब एकदेखि दुई करोड डलर बराबर परेको थियो। बार्नेटले त्यसलाई आफ्नो व्यवसायिक यात्राको सबैभन्दा महँगो निर्णयमध्ये एकका रूपमा स्वीकार गरेका छन्।
अमेजनसँगको अर्को समस्या नक्कली उत्पादनसँग जोडिएको थियो। बार्नेटले अमेरिकी संसद्को सुनुवाइमा अमेजनको बजारमा नक्कली पपग्रिप बिक्री भएको र त्यसले कम्पनीको बौद्धिक सम्पत्ति तथा बजारलाई असर गरेको बताएका थिए।
यो समस्या पपसकेट्सका लागि सामान्य व्यापारिक विवाद थिएन। उत्पादन लोकप्रिय भएपछि नक्कल गर्ने व्यवसाय पनि बढेका थिए। त्यसैले कम्पनीले आफ्नो उत्पादनको अधिकार र बजार संरक्षणमा ठूलो रकम खर्च गर्नुपर्यो।
यही कारण पपसकेट्सको सफलता उत्पादन बेचेर मात्र आएको होइन। लोकप्रिय उत्पादनलाई नक्कली उत्पादनबाट जोगाउनु पनि ठूलो व्यवसायिक जिम्मेवारी बन्न पुग्यो।
एउटा ग्रिपबाट पूरै मोबाइल संसार
कुनै एउटा उत्पादन लोकप्रिय भएपछि त्यसैमा निर्भर रहनु जोखिमपूर्ण हुन्छ। ग्राहकको आवश्यकता बदलिन सक्छ, प्रतिस्पर्धी उत्पादन आउन सक्छ र बजारमा नयाँ प्रविधि प्रवेश गर्न सक्छ।
बार्नेटले यो जोखिम बुझे।
पपसकेट्सले मोबाइल ग्रिपसँगै फोनका खोल, बटुवा, अड्याउने सामग्री, ब्याट्री र चार्जरसहितका उत्पादन थप्दै गयो। पछि चुम्बकीय प्रविधिमा आधारित मोबाइल सामग्री पनि थपियो।
यसले कम्पनीको व्यवसायलाई एउटा उत्पादनबाट धेरै उत्पादनको समूहमा विस्तार गर्यो। कम्पनीका अनुसार २०२४ सम्म परम्परागत टाँसिने ग्रिपसँगै चुम्बकीय सामग्रीको बिक्री पनि तीव्र रूपमा बढिरहेको थियो।
२०२६ मा कम्पनीले २९ करोडभन्दा बढी ग्रिप बिक्री गरेको जनाएको छ। ७५ भन्दा बढी देशमा यसको बजार पुगेको छ। साथै कम्पनीले चार सयभन्दा बढी गैरनाफामूलक संस्थासँग सहकार्य गरेको र विभिन्न सामाजिक तथा वातावरणीय कार्यक्रममार्फत चार करोड डलरभन्दा बढी सहयोग गरेको जनाएको छ।
यसले पपसकेट्सको व्यवसायिक मोडलमा आएको परिवर्तन देखाउँछ। पहिले कम्पनीले एउटा वस्तु बेच्थ्यो। अहिले ग्राहकको मोबाइल प्रयोगसँग जोडिएका धेरै आवश्यकतालाई एउटै व्यवसायभित्र समेट्ने प्रयास गरिरहेको छ।
यही कारण कम्पनीले आफ्नो पहिचान पनि विस्तार गरेको छ। सन् २०२४ मा नयाँ प्रमुख कार्यकारी नियुक्त गर्दै पपसकेट्सले आफूलाई मोबाइल सामग्री बेच्ने कम्पनीबाट मोबाइल जीवनशैलीसँग जोडिएको विश्वव्यापी ब्रान्डका रूपमा विकास गर्ने रणनीति सार्वजनिक गरेको थियो।
संस्थापकले नेतृत्व किन छाडे
डेभिड बार्नेटको अर्को महत्वपूर्ण निर्णय कम्पनी विस्तारसँग होइन, नेतृत्व हस्तान्तरणसँग जोडिएको छ। व्यवसाय सफल भएपछि धेरै संस्थापक आफ्नो पद छाड्न चाहँदैनन्। तर बार्नेटले भने कम्पनीको अर्को चरणका लागि आफूभन्दा फरक नेतृत्व आवश्यक रहेको स्वीकार गरे।
सन् २०२४ मा ज्यायु लिनलाई प्रमुख कार्यकारी बनाइयो। लिन यसअघि पपसकेट्सको एसिया प्रशान्त क्षेत्रको व्यवसाय हेर्दै आएकी थिइन् र सन् २०२१ देखि २०२३ को बीचमा त्यस क्षेत्रमा कम्पनीको वृद्धि २०० प्रतिशतभन्दा बढी भएको कम्पनीले जनाएको छ।
बार्नेट संस्थापकको भूमिकामा रहे। दैनिक व्यवस्थापनको जिम्मेवारी भने नयाँ नेतृत्वलाई दिइयो।
यो निर्णयले एउटा महत्वपूर्ण व्यवसायिक पाठ दिन्छ। कम्पनी निर्माण गर्ने क्षमता र ठूलो कम्पनी व्यवस्थापन गर्ने क्षमता सधैं एउटै व्यक्तिमा हुन्छ भन्ने छैन।
संस्थापकले आफ्नो भूमिका समयअनुसार बदल्न सक्नुपर्छ। बार्नेटले त्यही गरे।
उनले कम्पनीको सुरुवाती चरणमा उत्पादन बनाउने, ग्राहक खोज्ने, अर्डर पठाउने र व्यवसायको प्रत्येक समस्या आफैं सम्हाले। कम्पनी विश्वव्यापी बनेपछि भने उनले नेतृत्व अर्को व्यक्तिलाई दिए।
नयाँ प्रमुख कार्यकारी लिनले पपसकेट्सलाई मोबाइल सामग्रीको व्यवसायबाट मोबाइल जीवनशैलीको ठूलो ब्रान्ड बनाउने रणनीति अघि सारेकी छन्। फोनका खोल, बटुवा, अड्याउने सामग्री र अन्य सामग्रीलाई एउटै शैलीमा जोडेर ग्राहकलाई थप उत्पादन बेच्ने योजना त्यसको एउटा हिस्सा हो।
नयाँ पुस्तासँग पुनः जोडिने प्रयास
विश्वव्यापी उपभोक्ता ब्रान्डका लागि सबैभन्दा ठूलो चुनौतीमध्ये एउटा हो, पुरानो ग्राहकसँग सम्बन्ध कायम राख्दै नयाँ पुस्तालाई आकर्षित गर्नु। पपसकेट्सले अहिले यही चुनौती सामना गरिरहेको छ।
एक समय युवा पुस्तामाझ अत्यन्त लोकप्रिय भएको मोबाइल ग्रिप अब नयाँ पुस्ताका लागि पुरानो उत्पादनजस्तो नदेखियोस् भन्ने कम्पनीको रणनीति छ। त्यसका लागि नयाँ डिजाइन, नयाँ सामग्री, सामाजिक सञ्जालमा नयाँ शैलीको प्रचार र अन्य कम्पनीसँग सहकार्यलाई प्राथमिकता दिइएको छ।
२०२६ मा कम्पनीले मोबाइल प्रयोगलाई अझ सहज र पहुँचयोग्य बनाउने उद्देश्यसहित नयाँ पहल पनि सुरु गरेको छ। यसअन्तर्गत मोबाइल प्रयोगमा अप्ठ्यारो हुने मानिसका आवश्यकता बुझेर उत्पादन विकास गर्ने योजना अघि सारिएको छ।
कम्पनीले भविष्यमा व्यावसायिक स्वास्थ्य विशेषज्ञलाई नेतृत्व तहमा समेटेर उत्पादन विकासमा पहुँचयोग्य डिजाइनलाई स्थायी रूपमा जोड्ने योजना सार्वजनिक गरेको छ।
यसले बार्नेटको सुरुवाती समस्यासँग पनि अनौठो सम्बन्ध राख्छ।
उनले आफ्नै प्रयोगका लागि फोन समात्ने र हेडफोनको तार व्यवस्थापन गर्ने उपाय खोजेका थिए। अहिले त्यही कम्पनीले मोबाइल प्रयोगलाई विभिन्न क्षमताका मानिसका लागि सहज बनाउने विषयलाई उत्पादन विकासको हिस्सा बनाइरहेको छ।
व्यवसायको विस्तार केवल बिक्रीको संख्यामा हुँदैन। ग्राहकको आवश्यकता बुझ्ने दायरा विस्तार हुनु पनि व्यवसायको विकास हो।
पाँच लाख डलरभन्दा कम पुँजीको पाठ
पपसकेट्सको यात्रा अहिलेको उद्यमशीलताको बहसमा अर्को कारणले पनि महत्वपूर्ण छ।
प्रविधि र नयाँ व्यवसाय सुरु गर्ने क्षेत्रमा ठूलो लगानी उठाउनु सफलताको अनिवार्य सर्तजस्तो देखिन्छ। कम्पनी सुरु गर्नेबित्तिकै ठूलो रकम उठाउने, कर्मचारी बढाउने र बजार विस्तार गर्ने प्रवृत्ति धेरै क्षेत्रमा देखिन्छ।
पपसकेट्सको यात्रा त्यसको विपरीत उदाहरण हो। टेकक्रन्चका अनुसार कम्पनी पाँच लाख डलरभन्दा कम पुँजीबाट निर्माण भयो र संस्थागत लगानी नलिई व्यवसाय अघि बढ्यो।
यसको अर्थ सबै व्यवसायले कम पुँजीमै विश्वव्यापी बन्न सक्छन् भन्ने होइन। उत्पादनको प्रकृति, बजार, वितरण प्रणाली र समयले फरक पार्छ। तर पपसकेट्सले एउटा कुरा प्रमाणित गरेको छ, बजारले उत्पादन स्वीकार गरेको प्रमाण प्राप्त नगरी ठूलो रकम उठाएर तीव्र विस्तार गर्नु मात्र सफलताको बाटो होइन।
पहिले उत्पादन बनाउने, ग्राहकलाई देखाउने, बिक्रीबाट माग प्रमाणित गर्ने र त्यसपछि विस्तार गर्ने बाटो पनि सम्भव छ।
बार्नेटले पछिल्लो समय नयाँ उद्यमीलाई पनि यही प्रकारको सुझाव दिएका छन्। दैनिक जीवनका साना समस्या पहिचान गरेर कम खर्चमा नमुना बनाउनुपर्ने, ग्राहकको प्रतिक्रिया लिनुपर्ने र व्यवसायले वास्तविक आम्दानी सिर्जना गर्न सक्छ भन्ने प्रमाणित नभएसम्म जागिर छाडेर ठूलो जोखिम लिन नहुने उनको धारणा छ।
उनको सुझाव आफ्नै अनुभवमा आधारित छ। उनले पनि सुरुमा ठूलो बजारको सपना देखेका थिएनन्। उनले आफ्नो फोनको समस्या समाधान गर्न खोजेका थिए।
सानो समस्या, ठूलो बजार
डेभिड बार्नेटको व्यवसायिक यात्रा कुनै असाधारण वैज्ञानिक आविष्कारबाट सुरु भएको थिएन। न त उनले नयाँ प्रविधिको खोज गरेका थिए।
उनले एउटा साधारण समस्या देखे। त्यसको सरल समाधान बनाए। समाधानलाई पटकपटक सुधार गरे। ग्राहकले किन्न थालेपछि उत्पादन बढाए। बजार विस्तार भएपछि वितरण प्रणाली बनाए।
उत्पादन लोकप्रिय भएपछि त्यसको नक्कलसँग लडे। ठूलो व्यापारिक मञ्चसँग आफ्नो हितका लागि टकराए। एउटा उत्पादनको सफलतालाई अर्को उत्पादनको आधार बनाए। र कम्पनी ठूलो भएपछि नेतृत्वको जिम्मेवारी अर्को व्यक्तिलाई हस्तान्तरण गरे।
यसरी एउटा प्राध्यापकले आफ्नो दैनिक जीवनमा देखेको सानो असुविधालाई करोडौं डलरको व्यवसायमा बदल्न सफल भए। पपसकेट्सको आधिकारिक विवरणअनुसार कम्पनीले २०२६ सम्म २९ करोडभन्दा बढी ग्रिप बिक्री गरिसकेको छ र ७५ भन्दा बढी देशमा पुगेको छ। यसको उत्पादन समूह मोबाइल ग्रिपभन्दा धेरै अगाडि बढिसकेको छ।
यो उपलब्धि केवल बिक्रीको संख्या होइन। एउटा सानो उत्पादनले आफ्नो छुट्टै बजार बनाउन सकेको उदाहरण पनि हो।
बार्नेटले मोबाइल फोनलाई नयाँ बनाएका थिएनन्। फोन बनाउने उद्योगमा उनीसँग कुनै ठूलो प्रविधि थिएन। उनले मानिसले फोन कसरी समात्छ भन्ने एउटा सानो पक्षलाई मात्र फरक ढंगले हेरे।
त्यही दृष्टिकोणले एउटा नयाँ श्रेणीको उत्पादन जन्मायो।
आज मोबाइल फोनको पछाडि पपसकेट्स देखिनु असामान्य कुरा होइन। यसको अर्थ कम्पनीले ग्राहकलाई नयाँ आवश्यकता सिर्जना गरेर मात्र उत्पादन बेचेको होइन, पहिले नै रहेको व्यवहारलाई थप सहज बनाउँदै त्यसलाई व्यावसायिक उत्पादनमा बदल्न सकेको हो।
यही कारण बार्नेटको कथा उद्यमशीलताको सामान्य प्रेरणात्मक कथा भन्दा फरक देखिन्छ। यसको केन्द्रमा ठूलो सपना छैन।
यसको केन्द्रमा सानो समस्या देख्ने आँखा, त्यसलाई समाधान गर्ने धैर्य र समाधानलाई बजारसम्म पुर्याउने व्यवसायिक अनुशासन छ।
दुईवटा बटनबाट सुरु भएको प्रयोग आज करोडौं उत्पादन बिक्री गर्ने विश्वव्यापी व्यवसाय बनेको छ। व्यवसायमा कहिलेकाहीँ अवसर ठूलो समस्याभित्र लुकेको हुँदैन। अरूले सामान्य मानेर छाडेको सानो समस्यालाई गम्भीरतापूर्वक हेर्दा पनि ठूलो बजारको ढोका खुल्न सक्छ।
डेभिड बार्नेटको पपसकेट्स त्यही सम्भावनाको एउटा सफल उदाहरण हो।
